logo
२०८० चैत्र १६ शुक्रवार



किसानलाई अनुदानमा पशु

मुख्य समाचार |


किसानलाई अनुदानमा पशु


नगेन्द्र सापकोटा

काठमाडौँ, असार ३० गते । बाग्मती प्रदेशले काठमाडौँको कागेश्वरी, मनोहरा र गोकर्णेश्वर नगरपालिकाका केही वडामा आधारभूत तहका किसानको आयआर्जन बढाउने उद्देश्यले पशु वितरण अनुदान कार्यक्रम अगाडि बढाएको छ ।
बाग्मती प्रदेश सरकारको ७० र स्थानीय किसानको ३० प्रतिशत लागत साझेदारीमा पशु अनुदान कार्यक्रम अगाडि बढाइएको हो । नेपाल सरकारको ‘एक घर एक रोजगार’ अभियानमा कार्यक्रम सार्थक हुने बाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयालले जानकारी दिनुभयो । कागेश्वरी मनोहरा नगरपालिका–३, भद्रबासका सरस्वती नेपाल गोठमा पाडी बाँध्न पाउने भएपछि खुसी हुनुहुन्छ । अहिले गोठमा बाँधिएको पाडी अबको दुई वर्षमा माउ बन्ने भएपछि उहाँ खुसी हुनुभएको हो । उहाँमा व्यावसायिक भैँसीपालन गरी आफ्नो दैनिकीमा परिवर्तन ल्याउने आशा पलाएको छ । उहाँको खुसी बाग्मती प्रदेश अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ललितपुरले पूरा गरिदिएको हो ।
उहाँले भन्नुभयो, “घरपरिवार चलाउन र महिलालाई रोजगार बनाउन यो कार्यक्रम सहयोगी साबित भएको छ । ” विपन्न वर्गको आयआर्जन बढाउन सरकारको ‘एक घर एक रोजगार’ अभियानसमेत पशु वितरण अनुदान कार्यक्रमले सार्थक हुने उहाँले बताउनुभयो ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीका स्थानीय श्याम लामा केन्द्रमार्फत बाख्रा अनुदान पाउँदा खुसी हुनुहुन्छ । एउटा दुइटा बाख्रा पाल्दा ठूलै गर्जो नटरे पनि घरखर्च पूरा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
बाग्मती प्रदेश सरकारको सहयोगमा आफूलगायत यस क्षेत्रका धेरै किसानले बाख्रा अनुदान पाएकोमा स्थानीय विपन्न किसान खुसी छन् । गोकर्णेश्वर–२ का अनुदान प्राप्त नगर्ने किसान मधु लामा यस क्षेत्रमा भैँसी लोप हुन लागिसकेकाले मन्त्री फुयालको पहलमा भैँसी पुनस्र्थापित हुन लागेको बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र ललितपुरले काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको वडा १ देखि ४ सम्म र कागेश्वरी मनोहरा नगरपालिका वडा १ देखि ३ मा पाडा, पाडी, बाख्रा, बोका र ‘काउम्याट’ (गाईगोठमा ओछ्याउने सामग्री) अनुदान दिएको हो ।
लागत साझेदारीमा अनुदान
बाग्मती प्रदेश सरकार र स्थानीय किसानको लागत साझेदारीमा पशु वितरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु विकास अधिकृत डा. नारायणबहादुुर श्रेष्ठले बाग्मती प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय किसानको ३० प्रतिशत लागत साझेदारीमा पशु अनुदान प्रदान गरिएको बत(ाउनुभयो । केन्द्रले गोकर्णेश्वर नगरपालिका–१ मा बोयर बोका दुईवटा, पाडी १५ वटा, वडा २ मा बाख्रा ७०, पाडी २० र वडा ३ मा ८४ वटा काउम्याट वितरण गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ मा बाख्रा ४३, वडा २ मा काउम्याट ८० र वडा ३ मा २२ पाडापाडी अनुदान प्रदान गरिएको छ ।
वडामा स्थानीय किसान समूह निर्माण गरी प्रतिसमूह पाँच लाख रुपियाँका दरले दुईवटै नगरपालिकाका १० वटा समूहलाई ५० लाख रुपियाँ अनुदान प्रदान गरिएको केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा. श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म आधारभूत तहका वास्तविक गरिबले अनुदान पाउन सकेका थिएनन् । बाग्मती प्रदेश सरकारले आधारभूत तहका किसानलाई उत्पादनमा जोड्न र पशु प्रवद्र्धन गर्न यो कार्यक्रम ल्याएको हो ।
चालू आर्थिक वर्षमा बाग्मती प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमा पनि गरिब किसान उत्थानका लागि अनुदान कार्यक्रम गर्ने उल्लेख भएअनुसार बाग्मती प्रदेश सरकारले पशु प्रवद्र्धन अनुदान कार्यक्रम सञ्चालन गरेको हो । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको सहरी क्षेत्रका वडाबाहेक ग्रामीण क्षेत्रका वडामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिमार्फत पहिचान र छनोट गरी अनुदान प्रदान गरिएको हो ।
स्थानीय मागका आधारमा कतै बाख्रा, कतै बोका, कतै पाडापाडी वितरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?