logo
२०८० चैत्र १६ शुक्रवार



बाढी र डुबानमा परेकाहरूको सशस्त्रकाे टोलीद्वारा उद्धार

फिचर |


बाढी र डुबानमा परेकाहरूको सशस्त्रकाे टोलीद्वारा उद्धार


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २८ गते । अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुबानमा परेकाहरूको एपीएफ टोलीले उद्वार गरेको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका-१ स्थित लाल बकैया खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्न गई डुबानमा परेका करिब तीन सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा चाैकी, औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद के.सी.को कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय बासिन्दाले सो ठाउँका पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा सारेको हो ।

यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर २ र ३ मा बाढी तथा पहिरोबाट विस्थापित ६३ घर परिवारका २१५ जनालाई असार २६ गते सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गुल्म सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी निरीक्षक राजु श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय बासिन्दाले उनीहरूको उद्वार गरी तातोपानी भन्सार कार्यालयमा ल्याई राखेको हो । 

यसैगरी, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २३ बाम्दीस्थित हरपन खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाहरूको खोजीकार्यको लागि असार २६ गते विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति सहितको एपीएफ टोली खोजी कार्यमा जुटेको छ ।  सोही ठाउँ बस्ने २६ वर्षीय लेखनाथ बस्नेत र २१ वर्षीय प्रयुस गुरुङ उक्त खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक पुर्णाखर गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनीहरूको खोजी कार्यमा जुटेको हो ।

यसैगरी, बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका-४ बस्ने २५ वर्षीय जितबहादुर थारु र २५ वर्षीया प्रेमकुमारी थारुलाई सोही ठाउँस्थित बबई खोलाबाट दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सानोश्रीबाट सशस्त्र प्रहरी नायब निरीक्षक मानबहादुर चौधरीको कमाण्डको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दा उनीहरूको खोजी कार्यमा जुटेका छन् ।

यसैगरी, झापा जिल्लाको झापा गाउँपालिका-५ स्थित पुरानो शणामती टोल बस्ने ३५ वर्षीय राजेश गणेश स्थानीय बिरिङ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस, पन्थपाडाबाट सशस्त्र प्रहरी निरीक्षक अजिलशेर लिम्बुको कमाण्डको एपीएफ टोली तथा स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेका छन् ।

यसैगरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित सर्दु खोलामा हातखुट्टा धुने क्रममा एक जना व्यक्तिलाई उक्त खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट धरानबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनश्याम गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनको खोजी कार्यमा जुटेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?