logo
२०८० चैत्र १६ शुक्रवार



भारतीयको रोजाइ बन्दै लुम्बिनी रणअम्बिका आँखा अस्पताल

फिचर |


भारतीयको रोजाइ बन्दै लुम्बिनी रणअम्बिका आँखा अस्पताल


लक्ष्मण पौडेल
भैरहवा, असार २६ गते । दैनिक ठूलो सङ्ख्यामा भारतीयहरू आँखाकाे उपचारका लागि भैरहवा आउने गरेका छन् । भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रणअम्बिका शाह आँखा अस्पताल स्वदेशी तथा तेस्रो मुलुकका बिरामीको समेत रोजाइमा पर्ने गरेको छ ।

विभिन्न खाले रोगका उपचारको गन्तव्य भारतका विभिन्न सहर बनिरहेका बेला आँखाको उपचारका लागि भने भारतीयको रोजाइ सिद्धार्थनगर नगरपालिकामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र रणअम्बिका शाह आँखा अस्पताल हुने गरेको छ ।

वार्षिक साढे दुई लाखभन्दा बढी आँखाका बिरामीको उपचार गर्ने अस्पतालले त्यसको ७५ प्रतिशत भारतीयलाई सेवा पुर्याउने गरेको छ । अहिले ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपालीले उपचार लिइरहेका छन् । खुला सीमा, अस्पतालले दिने गुणस्तरीय स्वास्थ्य सेवाका कारण भारतीय नागरिकको रोजाइमा यो अस्पताल पर्ने गरेको अस्पतालका अध्यक्ष सागरप्रताप राणाले बताउनुभयो ।

२०४० सालमा अस्पताल स्थापना भएपनि त्यसभन्दा अघिदेखि नै क्याम्पको रुपमा आँखाको उपचार सुरु गरिएको थियो । अस्पताल अन्तर्गत पाँचवटा माध्यमिक अस्पताल, तीनवटा जिल्ला आँखा अस्पताल केन्द्र र नौवटा प्राथमिक आँखा उपचार केन्द्र सञ्चालित छन् । अहिले आँखा सम्बन्धी सबै प्रकारको शल्यक्रिया यही अस्पतालबाटै हुने अध्यक्ष राणाले बताउनुभयो ।

अस्पतालले सन २०१८/१९ मा दुईलाख ४४ हजार ३५६ जनालाई सेवा दिएको छ । ३३ हजार ३५५ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालले सेवामा निरन्तर सुधार, विस्तार, आधुनिकीकरण र प्रविधिकरण गर्दै लगेको छ ।

आँखासम्बन्धी सबै रोगको परीक्षण र औषधि उपचार बालबालिकाहरूको आँखा उपचारका लागि विशेष विभाग, बन्द आँसुनलीको शल्यक्रिया तथा उपचार मधुमेहका कारणले दृष्टिपर्दामा हुने खराबीको आधुनिक प्रविधिद्वारा उपचार, एभास्टिन इन्जेक्सनद्वारा दृष्टिपर्दाको उपचार, जलविन्दुको शल्यक्रिया, न्युन दृष्टि परामर्श सेवा, याक लेजरद्वारा उपचार, मोतियाविन्दुको बिना टाँका तथा फेको प्रविधबाट शल्यक्रिया, डेढो आँखाको शल्यक्रिया जस्ता प्रमुख शल्यक्रियाहरू र आँखामा मासु पलाएको, आँखाको नानी मर्मतसहित सबै किसिमका जटिल तथा सामान्य शल्यक्रियाहरू अस्पतालले गर्दैआएको छ ।

प्रमुख मेडिकल निर्देशक सहप्राध्यापक डा. ज्ञानेन्द्र लामिछानेले वर्षभरिमा ३० जना जना आँखारोगीहरूको यही अस्पतालबाट शल्यक्रिया हुने गरेको बताउनुभयो । अस्पतालको सेवा र गुणस्तरलाई अझै वृद्धि गर्दै लगिने उहाँले बताउनुभयो । आँखाको उपचार भारतमा भन्दा नेपालमा सस्तो हुने गरेकाले पनि भारतीय बिरामी बढी आउने गरेको लामिछानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?