logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो

अन्तर्राष्ट्रिय |


अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो


वासिङ्टन डिसी, असार २४ गते ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको एउटा अङ्ग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गर्नुभएको थियो । उहाँले विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओको आलोचना गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको आरोप पनि लगाउनुभएको थियो । उहाँको आरोप र असन्तुष्टिप्रति अन्य धेरै देशले असहमति जनाएका थिए भने डब्लुएचओबाट अलग हुने घोषणाप्रति चिन्ता व्यक्त गरेका थिए ।
डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदैआएको सहयोग रोक्नेबारे अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरूले पुष्टि गरेका छन् । बाहिरिनेसम्बन्धी पत्र अमेरिकी अधिकारीहरूले सोमबार नै लागु हुनेगरी राष्ट्रसङ्घका महासचिवलाई पठाएको पनि समाचारमा जनाइएको छ ।
अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसबारे जानकारी दिनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?