logo
२०८१ बैशाख ८ शनिवार



बजार खुल्यो तर व्यापार भएन, व्यवसायीलाई ऋण तिर्ने चिन्ता

अर्थ |


बजार खुल्यो तर व्यापार भएन, व्यवसायीलाई ऋण तिर्ने चिन्ता


शालिग्राम नेपाल
चितवन, असार २४ गते । बजार खुलेपनि व्यापार नहुँदा चितवनका व्यवसायीहरू बैङ्कको ऋण कसरी तिर्ने भन्नेमा चिन्तित छन् । असार लागेपछि लकडाउन केही खुकुलो भएपनि सार्वजनिक सवारी साधन नचल्दा र रोगको डर कायमै भएपछि बजारमा चहलपहल कम भएको छ । चैत्र ११ गतेदेखि कोरोना सङ्क्रमणको डरले भएको लकडाउन अहिलेसम्म जारी छ । असारको ३ गतेबाट केही खुकुलो भएपनि खरिद बिक्री राम्रोसँग हुन नसकेको व्यापारीहरूले बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले भन्नुभयो, 'रोगको डरले अझैपनि सर्वसाधारण हिँड्नसकेका छैनन् ।' जिल्लाका मुख्य स्थानका बजारहरू खुलेपनि व्यापार नभएको उहाँँले बताउनुभयो । 'सार्वजनिक सवारी साधन नखुलेसम्म व्यापार हुँदैन । व्यापार नभएपछि बैङ्कको ऋण कसरी तिर्ने समस्या बढेर गएको छ,' उहाँँले भन्नुभयो ।

चितवनमा मात्र नभई राजधानी काठमाडाैँसहित केही जिल्लामा व्यापार ठप्प भएको उहाँले बताउनुभयो । अवस्था सहज नहुँदासम्म व्यापार नहुने भएकाले व्यवसायीलाई बैङ्कबाट लिएको ऋण तिर्न समस्या हुने उहाँको भनाइ छ ।

नारायणगढका कपडा होलसेल पसल सञ्चालक गणेश सापकोटाले भन्नुभयो, 'विवाहको सिजन भएपनि व्यापार हुन सकेको छैन ।' केही विवाहको लागि खरिद गर्न आएका ग्राहकले दुलाहा दुलहीलाई भन्दा अन्यलाई कपडा नकिनेको बताउनुभयो । 'रोगको डरले ग्राहक डराएका छन् । खरिद गर्न आएकाले पनि काम चलाउ मात्र गर्दछन् । पछि खर्च गर्ने भन्दै गएका छन्,' सापकोटाले भन्नुभयो, 'बैङ्कबाट लिएको ऋण कसरी बुझाउने भन्ने चिन्ता लागेको छ ।' 

गर्मीमा राम्रो व्यापार हुने पसलहरूमा पनि ग्राहकको उपस्थिति छैन । वैशाखदेखि भदौसम्म राम्रो व्यापार हुने पङ्खा, एसी, फ्रिज नबिकेको व्यापारीको भनाइ छ । शहीद चोक नारायणगढका इलेक्ट्रेनिक्स पसलका सञ्चालक राजु पौडेलले भन्नुभयो, 'एक दिनमा एकसय भन्दा धेरै पङ्खा बिक्री हुने पसलमा अहिले एउटा कटाउन मुस्किल छ । दैनिक दुइ हजारको व्यापारले कति नाफा गर्ने ?' उहाँले भन्नुभयो ।  बैङ्कको ऋण घरभाडाले गर्दा समस्या भएकोले चिन्ता लागेकाे उहाँकाे भनाइ छ ।  

चितवन, नवलपरासी, तनहुँ, गोरखा, मकवानपुरको मुख्य व्यापारिक नारायणगढ बजार हो । शिक्षालय, सार्वजनिक कार्यक्रम, यातायात बन्द भएपछि आर्थिक गतिविधि नहुँदा यहाँ सबै क्षेत्रमा असर परेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?