logo
२०८१ बैशाख ६ बिहीवार



एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड नपाउने

नाबालकले पनि लिनसक्ने

राष्ट्रिय |


एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड नपाउने


विश्वास रेग्मी

काठमाडौँ, असार २३ गते । एक व्यक्तिले अबदेखि आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न पाउने छैैनन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो । प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो । प्राधिकरणको उक्त निर्देशन सेवा प्रदायक कम्पनीलाई जानकारी गराइसकिएको निर्देशक विजय रोयले जानकारी दिनुभयो ।
एकै व्यक्तिले जति पनि सिमकार्ड लिन पाउने विद्यमान व्यवस्थाका कारण भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी, जसलाई अवैध कल मानिन्छ) जस्ता गतिविधि नरोकिएको र यसले गर्दा सेवा प्रदायकले नै ठूलो रकम गुमाउनुपरेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै बैङ्क तथा वित्तीय संस्थामा फोन नम्बरको दुरुपयोग हुन सक्ने र एक व्यक्तिको सिमकार्ड अरूले प्रयोग गर्दा आउन सक्ने समस्यालाई ख्याल गरेर यस्तो निर्णय भएको रोयले जानकारी दिनुभयो । नेपाल प्रहरीले पनि सिमकार्ड वितरणलाई व्यवस्थित गर्न प्राधिकरणलाई अनुरोध गरिरहेको थियो, उहाँले भन्नुभयो, “सबै हिसाबले सिमकार्ड दुरुपयोग रोक्न यस्तो व्यवस्था गरिएको हो । ”
अहिले एक व्यक्तिले कुनै एक दूरसञ्चार सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड लिएको भएमा त्यसबारे जानकारी गराउनुपर्ने जिम्मेवारी पनि सेवा प्रदायकको नै रहने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउनुपर्ने र सम्भव भएसम्म दुईवटामा मात्र सीमित गराउन अनुरोध गर्नुपर्ने निर्देशन सेवा प्रदायकलाई दिएको हो । प्राधिकरणको निर्णयअनुसार नेपाल टेलिकमले सीडीएमए सेवासमेत उपलब्ध गराइरहेकाले एक व्यक्तिको नाममा तीनवटा सम्म सिमकार्ड जारी गर्नसक्ने सुविधा दिएको छ । एनसेल र स्मार्टले भने दुईवटा सिमकार्ड मात्र जारी गर्नसक्ने छन् । प्राधिकरणको उक्त बोर्ड बैठकले अबदेखि नाबालकका नाममा पनि सिमकार्ड लिन पाउने बाटो खुला गरेको छ । अहिले नागरिकता भएका व्यक्तिले मात्र सिमकार्ड लिनसक्ने प्रावधान रहेकामा अभिभावकको नाता प्रमाणका आधारमा नाबालकले पनि सिमकार्ड लिन पाउने व्यवस्था गरेको हो ।
प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म जीएसएमतर्फ तीन करोड ६१ लख ७२ हजार र सीडीएमएतर्फ १६ लाख ८२ हजार गरी तीन करोड ७८ लाख ५४ हजार सिमकार्ड जारी भएका छन् । नेपालको जनसङ्ख्या हालै मात्र तीन करोड पुगेको अवस्थामा सिमकार्ड भने जनसङ्ख्याभन्दा थप ७८ लाख बढी जारी भएको देखिन्छ । एकै व्यक्तिले जति पनि सिमकार्ड लिनसक्ने व्यवस्थाका कारण जनसङ्ख्याभन्दा बढी सिमकार्ड जारी भएको देखिएको हो । सिमकार्डकै आधारमा दूरसञ्चार पहुँच गणना गर्ने व्यवस्थाका कारण जनसङ्ख्याभन्दा बढीमा दूरसञ्चारको पहुँच देखिन्छ ।
यद्यपि वितरित सिमकार्डमध्ये करिब ७० प्रतिशत मात्र सिम सक्रिय रहेको विभिन्न अध्ययनले देखाएका छन् । कुल सिमकार्डमध्ये जीएसएमतर्फ नेपाल टेलिकमले एक करोड ७७ लाख ५० हजार, एनसेलले एक करोड ६२ लाख ९१ हजार र स्मार्ट टेलिकमले २१ लाख ३० हजार सिमकार्ड बिक्री गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?