logo
२०८० चैत्र १६ शुक्रवार



डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा अबिनादर निर्वाचित

अन्तर्राष्ट्रिय |


डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा अबिनादर निर्वाचित
तस्विर-एपी


सान्तो डोमिङ्गो, असार २२ गते। क्यारेबियाली मुलुक डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा विपक्षी नेता लुइस अबिनादर विजयी हुनुभएको छ । क्यारेबियाली मुलुकमा विगत १६ वर्षदेखि लगातार शासन गरेको डोमिनिकन लिबरेसन पार्टी (पीएलडी) यसपटक पराजित भएको छ । पीएलडीका तर्फबाट लगातार दोस्रोपटक गोन्जालो कास्टिल्लो राष्ट्रपतिका उम्मेदवार हुनुहुन्थ्यो । राष्ट्रपतिका लागि यसपटक छ जनाको उम्मेदवारी परेको थियो ।
राजधानी सान्तो डोमिङ्गोस्थित पार्टी कार्यालयबाहिर भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै ५२ वर्षीय अबिनादरले भन्नुभयो, “हामीले चुनाव जितेका छौँ, तर हामीलाई चुनावमा विजयी गराउने जनतालाई हामीले कहिल्यै भुल्नुहुँदैन ।”
उहाँका मुख्य प्रतिद्वन्द्वी कास्टिल्लोले चुनावमा आफू पराजित भएको स्वीकार गर्नुभएको छ । केन्द्रीय चुनाव आयोगका अनुसार करिब ६० प्रतिशत मतगणना भइसक्दा अबिनादरले करिब ५३ प्रतिशत मत प्राप्त गर्नुभएको छ । कास्टिल्लोले भने ३७ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ ।
यस पटकको चुनावमा केही स्थानमा सत्तारुढ पार्टी र विपक्षी कार्यकर्ताबीच सामान्य झडप भएका छन् । राजधानीस्थित एक मतदान स्थलबाहिर दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
कोरोनाभाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहे पनि चुनाव सम्पन्न भएको छ । वर्तमान राष्ट्रपति डानिलो मेडिनाले लकडाउनका कारण पूर्वनिर्धारित मितिभन्दा झण्डै एक महिनापछि मात्र चुनाव गराउनुभएको हो । डोमिङ्गोको संविधानबमोजिम डानिलो भने तेस्रो कार्यकालका लागि चुनावमा सहभागी हुन पाउनुभएको थिएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?