logo
२०८० चैत्र १५ बिहीवार



ब्राजिलमा मास्क अनिवार्य नगरिने

अन्तर्राष्ट्रिय |


ब्राजिलमा मास्क अनिवार्य नगरिने
तस्विर-अलजजिरा


ब्रासिलिया, असार २१ गते ।

ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको कार्यान्वयनमा कडाइ नगरिने भएको छ। राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गर्नुभएको हो ।
यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाउनुभएको अल जजिराले जनाएको छ । चर्च, पसललगायत ठाउँमा जाँदा वा रहँदा मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, “व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जाँदा वा रहँदा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था हटाइएको छ ।”
उहाँले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था संविधानविपरीत भएकोसमेत उल्लेख गर्नुभएको छ । राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यसअघि हरेक सार्वजनिक क्षेत्रमा सम्बन्धित अधिकारीहरूले मास्क उपलब्ध गराउनुपर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरूको सम्बन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनुपर्ने व्यवस्था स्वतः हटेको छ ।
ब्राजिलमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १५ लाखभन्दा बढी पुगेको अधिकारीहरूले जनाएका छन् । तीमध्ये ३८ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी ब्राजिलमा एकै दिनमा झण्डै एक हजार जनाको कोरोनाभाइरसका कारण मृत्यु हुने गरेको छ ।
पछिल्लो २४ घण्टामा सङ्क्रमितहरूको सङ्ख्या ३७ हजार ९२३ रहेको र मृत्यु भएकाहरूको सङ्ख्या एक हजार ९१ रहेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?