logo
२०७७ असार २९ सोमवार

हाम्रो जीवनचक्रका सोह्र संस्कारमा धान महत्त्वपूर्णः प्रधानमन्त्री

अर्थ |


2020-06-29-17475


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र सांस्कृतिक महत्व रहँदैआएको बताउनुभएकाे  छ । अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतका रुपमा रहेको धानको खाद्य सुरक्षाको दृष्टिले रणनीतिक महत्व रहेको उहाँले बताउनुभएको छ । सत्राैँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्रीले
हाम्रो जीवनचक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरूको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको र जीवनपद्धतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको स्पष्ट पार्नुभयाे ।

सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, 'खाद्य सम्प्रभूताको प्रत्याभूति गर्ने महान दायित्त्व र सङ्कल्पको कार्यान्वयनका लागि नेपालमा कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नाराअनुरुप आधारभूत खाद्यवस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन सकियोस् भन्नेमा हामीले विशेष प्रयास गरिरहेका छौँ ।'

पूर्णपाठ

१७ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सन्देश
१५ असार २०७७
आज असार १५ गते, राष्ट्रिय धान दिवस । आजको दिनलाई हामीले रोपाइँ महोत्सवका रूपमा पनि मनाउने गरेका छौंँ, किनभने धान हाम्रो मुख्य उत्पादन र मुख्य कृषि बाली हो । त्यसैकारण आज हामी ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोषका साथ धान दिवस मनाइरहेका छौँ । यस अवसरमा सर्वप्रथम म सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ भन्ने विश्वाससमेत व्यक्त गर्न चाहन्छु ।

नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । सोही अनुरुप हाम्रो संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ जारी भइसकेको छ । उक्त ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानूनी अधिकारका रुपमा स्थापित गरेको छ । त्यसैगरी भोकमरीको अन्त्य गर्ने लगायत दिगो विकासका लक्ष्यहरू हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि सुस्पष्ट रहेको छ ।

परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र साँस्कृतिक महत्व रहँदैआएको पाइन्छ । अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतका रुपमा रहेको धानको खाद्य सुरक्षाको दृष्टिले रणनीतिक महत्व रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान रहिआएको छ । त्यसैगरी हाम्रो जीवन चक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरूको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको छ । यसरी हाम्रो जीवनपद्धतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको स्पष्ट छ ।

पछिल्ला केही वर्षहरूमा जनसङ्ख्या वृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुवै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको वृद्धिले समेत धान चामलको मागमा तीव्र वृद्धि हुँदैआएको छ । तर माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनुपरेको छ । यसले मुलुकको परनिर्भरतासमेत बढाएको छ । यसै तथ्यलाई दृष्टिगत गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवम् ज्ञान उपलब्ध गराउने, सार्वजनिक वितरण प्रणालीमा सुधार गर्ने, न्यूनतम समर्थन मूल्यको घोषणा र कार्यान्वयन गर्नेजस्ता विषयमा वर्तमान सरकारले जोड दिँदैआएको छ । तथापि देशमा दीगो खाद्य सुरक्षा र आत्मनिर्भरता कायम गर्न तीनवटै तहका सरकारहरूको समन्वयात्मक र एकीकृत प्रयास हुनुपर्ने आवश्यकता रहन्छ । संविधानले कृषि तथा खाद्य सुरक्षासम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्न म प्रदेश सरकारहरू र स्थानीय तहहरूलाई आह्वान गर्न चाहन्छु ।

हामीले सदुपयोगको सिद्धान्तअनुसार जमिन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुनु जरुरी छ । यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले धिक उत्पादन भने दिनैपर्छ ।

पर्यटन र अरु त्यस्तै व्यवसायहरूमा गम्भीर असर परेको यस विषम परिस्थितिमा कृषि र कृषिसम्बद्ध क्षेत्रले रोजगारीका अनेकन् अवसरहरू सिर्जना गर्नुपर्ने खाँचो रहेको छ । र, देशभित्र तथा विदेशमा रोजगारी गुमाएको जनशक्तिलाई रोजगारीका त्यस्ता अवसरहरू र जीविकाको सुनिश्चित आधार उपलब्ध गराउनुपर्ने आवश्यकता छ । कृषिमा आधारित साना, घरेलु र मझौला उद्योगहरूमार्फत उपभोग्य कृषि वस्तुको उत्पादनमा जोड दिँदै आत्मनिर्भर बन्न ध्यान दिनुपर्दछ । साथै, व्यावसायिक प्रयोजनको कृषि उत्पादनमा जोड गरेर आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारमा समेत हाम्रो आन्तरिक खपत र निर्यातजन्य उत्पादनलाई यथेष्ट मात्रामा पुर्याएर व्यापारिक कारोबारसमेत बढाउनुपर्दछ । यस निम्ति बढी उत्पादन दिने, गुणस्तरीय एवम् छिटो फल्ने र पाक्ने बीउ र उत्पादन कार्यमा मेसिन तथा अन्य आधुनिक विधि र प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने हुन्छ ।

खाद्य सम्प्रभूताको प्रत्याभूति गर्ने महान दायित्त्व र सङ्कल्पको कार्यान्वयनका लागि नेपालमा कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन सकियोस् भन्नेमा हामीले विशेष प्रयास गरिरहेका छौँ । यसै हेतुले नेपाल सरकारले प्रमुख खाद्यान्न बालीहरूको उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत् खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने नीति लिएको तथ्य पनि सर्वविदितै छ ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण अहिले पूरै विश्व आक्रान्त छ । यस समस्याले विश्वका अधिकांश देशहरूको अर्थतन्त्र र जनताको जीविकामा ठूलो असर पुर्याएको छ । हाम्रोजस्ता सानो अर्थतन्त्र भएको मुलुकमा यसको प्रभाव झनै ठूलो पर्ने देखिएको छ ।
अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने स्पष्ट छ । कृषि क्षेत्रको विकास र वृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो । त्यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेसिनीकरण आवश्यक छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम एउटा महत्वपूर्ण र कृषिको आधुनिकीकरण सम्बन्धी बहुआयामिक कार्यक्रम हो । यस कार्यक्रमलाई सफल पार्दै हामीले नेपालमा कृषि क्षेत्रमा एउटा क्रान्ति ल्याउनुछ । त्यस दिशामा अझ संवेदनशीलताका साथ सोचविचार गरी अघि बढ्न म सबैमा आग्रह गर्दछु । र, यस वर्षको धान दिवस उत्साहका साथ मनाउन सम्पूर्ण नेपाली किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा आह्वान गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस दिनले कृषि उत्पादन बढाउने राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुरुप अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।
धन्यवाद ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?