logo
२०८१ बैशाख ७ शुक्रवार



पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान

अन्तर्राष्ट्रिय |


पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान


पोल्याण्ड, असार १४ गते ।
विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सिर्जित महामारीबीच पनि पोल्याण्डमा आइतबार मतदान भएको छ । नयाँ राष्ट्रपति चयनका लागि पोल्याण्डबासीले मतदान गरेका हुन् । यो निर्वाचन गत मे मै हुनुपर्ने भए पनि कोरोनाभाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो ।
निर्वाचनका लागि वर्तमान राष्ट्रपति अन्ड्राज डुडासँगै अरु दश जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । अठचालीस वर्षीय डुडालाई सत्तारुढ रुढीवादी पार्टी कानुन र न्याय पार्टीको समर्थन रहेको छ । उहाँ दोस्रो पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति बन्न प्रतिस्पर्धामा उत्रिनुभएको हो ।
पोल्याण्डको राजनीतिमा सो पार्टीले कुन हैसियत पाउनेछ भन्नेबारे पनि डुडाको नतिजाले तय गर्नेछ । पछिल्ला विभिन्न सर्वेक्षणहरुले मतदानको पहिलो चरणबाट नै कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्ने देखाएको छ । त्यसैले दोस्रो चरणको मतदान गर्नुपर्ने सम्भावना देखिएको छ ।
कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा यही जुलाई १२ तारिखका दिन अर्को चरणको मतदान गराउनेगरी मिति तय भएको छ । आइतबार भएको पहिलो चरणको मतदानको नतिजा बुधबार सार्वजनिक हुनसक्ने अधिकारीहरूले जनाएका छन् ।
युरोपेली सङ्घको सदस्यसमेत रहेको यो देशमा अन्य युरोपेली देशहरूले जस्तो कोरोनाभाइरसको महामारी भोग्नुपरेको छैन । त्यसैले धेरै मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ । मतदानका लागि कोरोनाबाट बच्न अपनाइने आधारभूत सुरक्षा सतर्कता भने अपनाउन मतदातालाई सचेत गरिएको छ ।
तीन करोड असी लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म ३४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ४०० जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप