logo
२०८१ बैशाख ७ शुक्रवार



अमेरिकामा दुई करोड सङ्क्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान   

अन्तर्राष्ट्रिय |


अमेरिकामा दुई करोड सङ्क्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान   


वासिङ्टन, असार १३ गते।    
अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ । देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरूले अनुमान गरेका हुन् ।    
स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमित भइसकेको हुनसक्ने अनुमान गरेका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्रले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी हुनसक्ने पनि जनाएको छ ।    
सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेपछि टेक्सस राज्यले पूर्णरूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो तथ्य सार्वजनिक भएको हो । अमेरिकामा अहिलेसम्म संसारकै सबैभन्दा धेरै २४ लाख जना सङ्क्रमित भएको तथ्यांक रहेको छ । त्यसैगरी हालसम्म एक लाख २२ हजार ३७० जनाको अमेरिकामा कोरोनाका कारण मृत्यु भएको छ ।   

देशका दक्षिणी र पश्चिमी केही राज्यहरूमा पछिल्लो समय अत्यधिक धेरै मानिस सङ्क्रमित भएको विवरण सर्वाजनिक भएका छन् । यस बारेमा अध्ययन अनुसन्धान गरिरहेका वाशिङ्गटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले आगामी अक्टोबर महिनासम्ममा एक लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।   

उनीहरूले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा त्यो सख्या १ लाख ४६ हजारमा सिमित हुन सक्ने अनुमान पनि गरेका छन् । रोग नियन्त्रण केन्द्रका निर्देशक डा रोबर्ट रेडफिल्डले अहिले जति सङ्क्रमितको तथ्याङ्क सार्वजनिक भएको छ, ती हरेकबाट अन्य दश जनाको दरले सङ्क्रमित भएको हुनसक्ने देखिएको बताउनुभयो ।    
अहिलेसम्म लक्षण देखिएका र चासो देखाएकाहरूलाई मात्रै कोरोना परिक्षण गर्ने गरिएकाले सङ्क्रमितको सङ्ख्या अहिले सार्वजनिक भएको भन्दा दश गुण हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।    
यसरी हेर्दा अमेरिकाका पाँचदेखि आठ प्रतिशतसम्म मानिसलाई कोरोनाभाइरसले असर गरिसकेको हुनसक्ने देखिएको छ ।    
सङ्क्रमणको क्रम तिब्र गतिमै रहेकाले सामाजिक दूरी कायम राख्ने, मास्क, पञ्जा र सेनिटाइजर लगाउने, हात धुनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताका कार्यहरू गर्न स्वास्थ्य अधिकारीहरूले आह्वान गरेका छन् ।   

पछिल्लो समयमा हेलचक्रयाईं पनि बढ्दै गएकाले मानवीय क्षति अझ धेरै हुनसक्ने भन्दै उनीहरूले चिन्ता पनि व्यक्त गरेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप