logo
२०८१ बैशाख ७ शुक्रवार



   कोभिड–१९ को असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड   

अर्थ |


   कोभिड–१९ को असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड   


काठमाडौँ, जेठ २४  गते । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले कोभिड–१९ बाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गर्नुभएको छ । सांसदले दिगो अर्थतन्त्र विकासतर्फ बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
सर्वसाधारणमा सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न आवश्यक योजनासहित थप सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको सांसदको भनाइ थियो । पछिल्ला दिनमा कोभिड–१९ को सङ्क्रमण दैनिक दुईदेखि तीन सयको हाराहारीमा देखिन थालेको छ ।    
बैठकमा नेपाली काँग्रेसका मीनबहादुर विश्वकर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उद्योग खुलाउनेतर्फ बजेट व्यवस्था गर्न नसकिएको उहाँको आरोप थियो । उहाँले जातीय भेदभाव तथा छूवाछूत अन्त्य गर्नेगरी उचित बजेटको व्यवस्था हुन नसकेको पनि बताउनुभयो । विद्युतीय सवारी साधनको कर बढाएर सरकारले व्यवसायिलाई हतोत्साहित पारेको उहाँले जिकिर गर्नुभयो ।    
सोही दलका पार्वता डिसी चौधरीले कोभिड–१९ नियन्त्रणका लागि सञ्चालन भएका क्वारेन्टिन व्यवस्थित गर्न सरकारसँग माग गर्नुभयो । कोरोना नियन्त्रणका लागि बजेट न्यून भएको उहाँको भनाइ थियो । कांग्रेसकै पद्मनारायण चौधरीले कृषि क्षेत्र आर्थिक विकासको आधार भए पनि बजेटको प्राथमिकतामा नपरेको भनी चिन्ता प्रकट गर्नुभयो । उहाँले पिसिआर परीक्षणको दायरा बढाउँदै आइसोलेशन र क्वारेन्टिन व्यवस्थापनमा तत्काल ठोस कदम चाल्न आग्रह गर्नुभयो ।    
कांग्रेसकै राजेन्द्रकुमार केसीले वन तथा वातावरण मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै वन नेपालको समृद्धिको स्रोत भए पनि यसबाट प्रचुर फाइदा लिन नसकिएको बताउनुभयो ।    
सोही दलकी सीतादेवी यादवले मुलुकको आवश्यकता भनेको कोभिड–१९ बाट मुक्त गर्दै रोजगारी सिर्जना गर्नु हो भन्नुभयो । उहाँले प्रदेश नं २ मा बजेटले विभेद गरेको जिकिर गर्नुभयो । द्वन्द्वपीडितका लागि बजेट नआएको भनी उहाँले दुःख प्रकट गर्नुभयो ।    
कांग्रेसकै देवेन्द्रराज कंँडेलले कोभिड–१९ रोक्नका लागि पिसिआर परीक्षण बढाउन माग गर्नुभयो । उहाँले कोभिड–१९ रोकथाममा सरकारले चालेको कदम अपुग भएको बताउनुभयो ।    
सांसद पद्मनारायण चौधरीले विनियोजन विधेयक २०७७ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय शीर्षकको खर्च कटौती प्रस्ताव राख्दै सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको आर्थिक विकासमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । आजको बैठकमा सांसदले अर्थ, श्रम, रोजगार तथा समाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गर्नुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?