logo
२०८१ बैशाख ८ शनिवार



एडीबीले दियो ३० अर्ब बजेट सहायता

अर्थ |


एडीबीले दियो ३० अर्ब बजेट सहायता


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २० गते । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र अर्थतन्त्रमा पर्ने असर न्यूनीकरणका लागि नेपाललाई बजेट सहायता उपलब्ध गराएको छ । सहुलियतपूर्ण ऋणमा प्रदान गरिने २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपियाँ)को सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा भएको सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुङ्गाना र नेपालका लागि एसियाली विकास बैङ्क (एडीबी)का निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । सम्झौता अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले यो तत्काल खर्च गर्न सकिने बजेट सहायता भएको बताउँदै एउटै संस्थाले छोटो अवधिमा यति ठूलो रकम सहयोग गरेको पहिलोपटक भएको बताउनुभयो । विनियोजन विधेयकका सम्बन्धमा प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले विश्व बैङ्क, युरोपेली लगानी बैङ्कलगायतबाट थप सहयोगको प्रतिबद्धता आएको पनि बताउनुभयो ।
सम्झौता समारोहमा बोल्दै अर्थसचिव ढुङ्गानाले एडीबीले उपलब्ध गराउने ऋणको रकम सरकारले कोरोना रोकथाम र जनस्वास्थ्यको क्षेत्रमा खर्च गर्ने बताउनुभयो । उहाँले उक्त रकम सरकारलाई सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका योजनाका लागि पनि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि एडीबीका निर्देशक मुख्तोर खामुदख्नोभले महामारीको रोकथाममा नेपाल सरकारले अघि सारेका योजनामा सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । सहुलियतपूर्ण ऋण रकमलाई कोरोना परीक्षणका प्रयोगशाला, क्वारेन्टाइन व्यवस्थापन र उपचार सेवाको स्तरवृद्धिका लागि पनि खर्च गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । गरिब र जोखिममा परेका वर्गमा पर्ने महामारीको असर न्यून गर्ने आर्थिक र सामाजिक गतिविधिमा सहयोग रकम खर्च गरिने विज्ञप्तिमा उल्लेख छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?