logo
२०८० चैत्र १६ शुक्रवार



युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना युरोपेली संसदमा प्रस्तुत गरिँदै

अर्थ |
अन्तर्राष्ट्रिय |


युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना युरोपेली संसदमा प्रस्तुत गरिँदै


ब्रसेल्स, जेठ १४ गते । कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ ।

महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य विश्वका धेरै देशले अभूतपूर्व आपतकालीन उपायहरू घोषणा गरिरहेका छन् । यही शैलीलाई पछ्याउँदै युरोपेली युनियनले पनि विशाल राहत प्याकेज घोषणा गर्न लागेको हो । कोरोनाभाइरसबाट विश्वभर तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने ५७ लाखभन्दा बढी मानिस सङ्क्रमित छन् ।

दक्षिण (ल्याटिन) अमेरिकामा भाइरसको विनाश जारी रहेकै अवस्थामा युरोपमा भने सङ्क्रमणमा केही न्यूनता आएसँगै बिस्तारै व्यवसाय खोल्न थालिएको छ । तर युरोपमै सर्वाधिक क्षति व्यहोरेका इटाली र स्पेनलाई आफ्नो अर्थव्यवस्था पुनर्जीवित तुल्याउन निकै हम्मे पर्ने देखिएको छ ।

युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लिनले बुधबार १० खर्ब युरोको आर्थिक प्रस्ताव युरोपेली संसदमा प्रस्तुत गर्नुहुनेछ । कोरोना महामारीबाट सर्वाधिक असर परेका मुलुकका लागि यस प्रस्तावमा ऋण र अनुदान दुवै उपलब्ध गराउने योजना समेटिएको छ ।

युरोपेली संसदमा यस प्रस्तावमाथि निकै चर्को बहस हुनेछ किनकि इटाली र स्पेनजस्ता पहिल्यै ऋणभार बढी भएका र महामारीको क्षति पनि बढी सहनुपरेका मुलुकले ऋणभन्दा अनुदानकै लागि पहिलो प्रयास गर्नेछन् ।

युरोपेली महादेशले कोभिड–१९ बाट एक लाख ७२ हजारभन्दा बढी मानिस गुमाइसकेको अवस्थामा आएको नयाँ आर्थिक प्रस्तावले मानवीय क्षति र आर्थिक विनाशलाई सम्बोधन गर्नुपर्ने कठिन अवस्था छ । स्पेनमा कोरोनाबाट निधन भएकाहरूको सम्झनामा बुधबारदेखि १० दिने शोक मनाइँदैछ । यहाँ २७,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्पेनका सबै सरकारी, सार्वजनिक भवनमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

महामारीको चपेटामा परेका इटाली, जर्मनी, फ्रान्स र बेलायत समेतका धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । मानिसहरूलाई पसल जान, समुद्र किनारमा डुल्न, पार्कहरूमा दौडिन अनुमति दिइएको छ । यसैबीच, रूसले कोरोना सङ्क्रमणको चरम सीमा पार गरिसकेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?