logo
२०८० चैत्र १५ बिहीवार

 सुर्तीजन्य पदार्थमा कर बढाउन  विज्ञको सुझाव 



कर वृद्धिले चार अर्ब रुपियाँ राजस्व सङ्कलन हुने

पढ्नै पर्ने |


कर वृद्धिले चार अर्ब रुपियाँ राजस्व सङ्कलन हुने


शान्ति लामा

काठमाडौँ, जेठ १३ गते । आगामी बजेटमा सुर्तीजन्य पदार्थमा करको दायरा बढाउन सुझाव दिइएको छ । नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थसम्बन्धी कर प्रणाली पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

प्रतिष्ठानले हाल सुर्तीजन्य करलाई बढाउने र नेपाल सरकारले विद्यमान कर प्रणालीको सट्टा आगामी बजेटमा ५५ प्रतिशतदेखि ७५ प्रतिशतसम्मको वैज्ञानिक कर प्रणाली लागू गर्न सुझाव दिएको हो । प्रतिष्ठानले केही महिनाअघि गरेको एक अध्ययनबाट आएको निचोडको आधारमा सिफारिस गरिएको प्रतिष्ठानको सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अर्थविज्ञ रुजेल श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यसले राजस्व पनि सङ्कलन हुने र सुर्तीजन्य पदार्थ सेवनलाई पनि निरुत्साहित गरी जित जितको अवस्था हासिल गर्न सकिन्छ ।’

कोभिड –१९ को महामारीका कारण सार्वजनिक वित्तमा परेको ठूलो प्रभाव परेको अवस्थामा प्रस्तावित कर वृद्धिले लगभग चार अर्ब रुपियाँ राजस्व सङ्कलन हुने र चुरोट खपतमा कमी आउने प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानले स्वास्थ्य मन्त्राललयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको संयोजनमा सन् २०१९ को अन्तदेखि सन् २०२० को सुरुमा एक अनुसन्धान सर्वेक्षण गरेको थियो ।

त्यस अनुसन्धानमासमेत सुर्तीजन्य पदार्थमा कर अभिवृद्धि गरी यसको प्रयोगलाई कम गर्न सकिने सुझाव दिइएको अर्थविज्ञ श्रेष्ठले बताउनुभयो । विश्वका अन्य विभिन्न मुलुकका अनुभवका आधारमा पनि सुर्तीजन्य पदार्थ प्रयोग निरुत्साहनका लागि करको दायरा वृद्धि नै सबैभन्दा प्रभावकारी तरिका रहेको अनुसन्धानको निष्कर्ष रहेको प्रतिष्ठानले जनाएको छ ।

‘आगामी बजेटमा सुर्तीजन्य पदार्थमा लगाइने करमा वृद्धि गरी यसको प्रयोग घटाउन प्रस्ताव गरिएको हो । रेमिट्यान्स र पर्यटन उद्योगमा निर्भर नेपालको अर्थतन्त्र हाल कोभिड—१९ को कारण थप संकटमा परिरहेका अवस्थामा आन्तरिक कर वृद्धि गर्नु अपरिहार्य छ । यस्तो अवस्थामा सुर्तीजन्य पदार्थमा कर वृद्धिले ठूलो टेवा पुर्याउने कुरा प्रस्ट छ ।’ सर्वेक्षण अनुसन्धानमा समेत संलग्न अर्थविज्ञ श्रेष्ठले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकको २०७३/७४ को आँकडा अनुसार सुर्तीजन्य पदार्थको सेवनले लाग्ने रोगहरूका कारण नेपालले कुल गार्हस्थ उत्पादनको ०.८६ प्रतिशत गुमाइरहेको छ । यस तथ्याङ्कका आधारमा सुर्तीजन्य पदार्थमा कर वृद्धि राजस्व सङ्कलनमा ठूलो टेवा पुग्नुका साथै ठूलो धनजनको क्षति कम गर्ने एउटा सुनौलो अवसर पनि रहेको प्रतिष्ठानको ठहर रहेको उहाँको भनाइ छ ।

नेपालले मूल्य अभिवृद्धि करबाहेक सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा १५.५ प्रतिशत लगाएको कर दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम रहेको विज्ञ श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकारको सूर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणसम्बन्धी नीतिहरूमध्ये सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशतसम्म स्वास्थ्य चेतावनीमूलक जानकारी राखिएको कारण अन्तर्राष्ट्रिय मान्यता पाएको छ । तर करसम्बन्धी नीतिहरूमा भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम रहेको छ । चुरोटमा लाग्ने कर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको कम्तीमा ७० प्रतिशत हुनुपर्नेमा नेपालमा २७ प्रतिशत मात्र छ ।

प्रतिष्ठानले गरेको सर्वेक्षणको नतिजा अनुसार बढ्दो सुर्तीजन्य कर लोकप्रिय रहेको छ । सर्वेक्षणमा सहभागी ७५ प्रतिशतले सुर्तीजन्य पदार्थहरूमा कर बढाउन समर्थन जनाएको प्रतिष्ठानले जनाएको छ । आधाभन्दा बढी सुर्तीजन्य पदार्थ उपभोक्ताले सुर्तीजन्य पदार्थमा कर वृद्धि गरे आफूले सेवन कम गर्ने वा सूर्तीजन्य पदार्थको मूल्य दुई गुणा गरेमा छोड्न सक्ने बताएका छन् ।

सुर्तीजन्य पदार्थ प्रयोगको अवस्था

टोबाको एट्लसका अनुसार नेपालमा सूर्तिजन्य पदार्थले निम्त्याउने रोगका कारण प्रत्येक वर्ष २७ हजार भन्दा बढी नेपालीको ज्यान जाने गरेको छ । प्रतिष्ठानले दुई हजार आठ सय घरधुरीमा गरेको सर्वेक्षण अनुसार ९० प्रतिशत उत्तरदाताले सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानीकारक छ भन्ने बताएको र यसले फोक्सोको क्यान्सर निम्त्याउँछ भन्ने कुरामा ९५ प्रतिशतभन्दा बढी मानिस जानकार छन् ।

सुर्तीजन्य पदार्थका एक चौथाइभन्दा बढी प्रयोगकर्ताहरूमा स्वास्थ्य समस्या रहेको र धेरैजसोलाई खोकी र छाती दुखाइको रोग रहेको सर्वेक्षणले बताउँछ ।

सर्वेक्षणमा सहभागी ५१ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन् । बहुसङ्ख्यक उत्तरदाताका अनुसार स्थानीय क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग बढिरहेको बताएका छन् । श्रमिक तथा अशिक्षित पुरुषहरूमा सुर्तीजन्य पदार्थको प्रयोग उच्च रहेको छ । निरक्षर पुरुषहरूले स्नातक गरेका पुरुषको तुलनामा तीन गुणा बढी सूर्तीजन्य पदार्थको प्रयोग गरेको पाइएको अर्थविज्ञ श्रेष्ठले बताउनुभयो ।

महिलाले भने पुरुषको तुलनामा कम सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको अध्ययनको निष्कर्ष छ ।

युवा तथा किशोर समूहमा बढ्दो लत

सर्वेक्षणका अनुसार अधिकांश उत्तरदाताले युवा वर्गमा सुर्तीजन्य पदार्थको प्रयोग बढिरहेको बताएका छन् । उनीहरूका अनुसार युवाले किशोर अवस्थादेखि नै सुर्तीजन्य पदार्थको प्रयोग गर्न शुरू गरेका हुन्छन्, जसले सुर्तीजन्य पदार्थ प्रयोगकर्ताको नयाँ पिँढी तयार गरिरहेको छ । सर्वेक्षणका अनुसार युवाहरूले सुर्तीजन्य पदार्थ प्रयोगलाई सकेसम्म लुकाउने गरेको पाइएको छ ।

सर्वेक्षणका उत्तरदाता किशोर किशोरीहरू भन्छन्, आफूहरूले सुर्तीजन्य पदार्थ प्रयोगको लत छोड्न प्रयास गरे पनि केही महिना पछि पुनः प्रयोग गर्न शुरु गरिन्छ । केही समूहले अझै सुर्तीजन्य पदार्थको प्रयोगलाई सकारात्मक रुपमा लिएको पाइएको अध्ययनले बताएको छ । अध्ययन अनुसार सुर्तीजन्य पदार्थको प्रयोगमा साथी तथा परिवारको प्रभाव उल्लेख्य छ । पच्चीस वर्षमुनिका शत प्रतिशत युवाले साथीहरूबाट सुर्तीजन्य पदार्थ प्रयोग सुरु गर्न आफू प्रेरित भएको बताएका छन् । केहीले भने आमाबाबुबाट प्रभावित भएको समेत बताएका छन् ।

गरिब परिवार सुर्तीजन्य पदार्थको प्रयोगको सम्भावना बढी रहेको पाइएको छ । सबैभन्दा गरिबहरूले पनि आम्दानीको ७.५ प्रतिशत सुर्तीजन्य पदार्थमा खर्च गरेको पाइएको अर्थविज्ञ श्रेष्ठले बताउनुभयो ।
सर्वेक्षण भन्छ, नाबालिगलाई सुर्तीजन्य पदार्थ बेच्न नपाउने प्रावधान निकै बेवास्ता गरिएको छ र युवाको भनाइअनुसार उनीहरू कुनै समस्याबिना स्वतन्त्र रुपमा सुर्तीजन्य पदार्थ किन्न सक्छन् ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले ‘सुर्तीजन्य पदार्थ प्रयोगको सामाजिक तथा आर्थिक पक्षको राष्ट्रिय सर्वेक्षण’ र ‘सुर्तीजन्य पदार्थमा करसम्बन्धी नीतिको’ विस्तृत अध्ययन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?