logo
२०८१ बैशाख १३ बिहीवार



नौवटा जलविद्युत् आयोजनाको निर्माण रोकियो

अर्थ |


नौवटा जलविद्युत् आयोजनाको निर्माण रोकियो


बेलिना थापा

लमजुङ, जेठ १० गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण लकडाउन सुरु भएपछि लमजुङमा निर्माणाधीन विभिन्न नौवटा जलविद्युत् आयोजनाका निर्माण कार्य पूर्ण रूपले प्रभावित भएको छ ।
नौवटा जलविद्युत् आयोजनाको कुल क्षमता २०२ मेगावाट छ । आयोजनाको निर्माण कार्य करिब दुई महिनादेखि ठप्प भएको छ । निर्माण सामग्री ढुवानी हुन नसक्दा र पर्याप्त कामदार अभावले आयोजनाको निर्माण कार्यमा अवरोध पुगेको प्रवद्र्धकहरूले बताएका छन् । लकडाउनको दोस्रो सातापछि सरकारले ठूला विकास निर्माण कार्य अघि बढाउन आग्रह गरे पनि स्थानीयस्तरमै स्रोत साधन जुटाउन असमर्थ भएकाले आयोजनाका निर्माण कार्य अघि बढ्न नसकेको हो ।
आयोजना निर्माणका लागि चाहिने सिमेन्ट, बालुवा, छडलगायत बाहिरी जिल्लाबाट ल्याउनुपरेको र आयोजनामा जडान हुने उपकरण भारत, चीनलगायत देशबाट ल्याउनुपर्दा समस्या परेको प्रवद्र्धकहरूको भनाइ छ ।
दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् खायोजना ‘ख’का प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीका अनुसार हेडवक्र्सको काम सुरु गरिए पनि निर्माण सामग्री अभावले काम रोकिएको छ । आयोजनाको काम ६५ प्रतिशत मात्र सकिएको छ । लकडाउनले आयोजनाको निर्माण कार्य एक वर्षपछि धकेलिने अवस्था रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हेडवक्र्सको मुख्य काम भनेको बर्खा अगाडि नै गरिसक्नुपर्छ । असारदेखि खोलानालामा पानी बढेर काम गर्न सकिँदैन । काम गर्ने बेलामा लकडाउन भयो । लकडाउन खुले पनि अब तत्काल काम गर्न सकिने अवस्था छैन । मङ्सिर, पुसतिर मात्रै हुन्छ । ” दोर्दीखोलामै निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सकिएको छ ।
लकडाउनका बीच बाँधको सिभिल संरचनाको काम सकेको आयोजनाले पावरहाउस, प्रसारण लाइनको काम अघि बढाउन सकेन । गत चैत ३० गते निर्माण सकेर विद्युत् उत्पादन गर्ने योजना रहे पनि निर्माण सामग्री अभावले आयोजना पूरा हुन नसकेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताउनुभयो । उहाँका अनुसार तत्काल सामान ढुवानी गर्नसकेमा असारसम्म निर्माण सकिने उहाँले बताउनुभयो ।
दोर्दीखोलामै निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको काम पनि लकडाउनका कारण रोकिएको छ । आयोजनाका प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालका अनुसार असार मसान्तसम्म निर्माण कार्य सकाउने योजना रहे पनि लकडाउनले प्रभावित बनाएको छ । लकडाउनले निर्माण सामग्री रोकियो । कामदार घर गए, उहाँले भन्नुभयो, “अहिले कामदार पनि छैनन् । निर्माण सामग्री पनि छैन । ”
मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादीखोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य चार महिनादेखि प्रभावित छ । करिब ९० प्रतिशत निर्माण सकिएको आयोजनाको निर्माण कार्य जनवरी पहिलो सातादेखि प्रभावित भएको छ ।
आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाका अनुसार आयोजनामा कार्यरत चिनियाँ जनवरी पहिलो साता चीन गएको र कोरोना सङ्क्रमण फैलिएपछि उनीहरू आउन नसक्दा निर्माण कार्य रोकिएको थियो । पछि उनीहरू आए पनि कोरोना सङ्क्रमणको त्रास फैलिएकाले काम अघि बढ्न सकेन । अहिले निर्माण सामग्री अभावले काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो । पावरहाउसमा टर्वाइन जोड्ने काम भने भइरहेको उहाँले बत(ाउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?