logo
२०८१ बैशाख ७ शुक्रवार



आगामी असारदेखि सञ्चालनमा आउँदै सबैभन्दा ठूलो सबस्टेसन, लकडाउनमा पनि काम धमाधम

अर्थ |
फिचर |


आगामी असारदेखि सञ्चालनमा आउँदै सबैभन्दा ठूलो सबस्टेसन, लकडाउनमा पनि काम धमाधम
फाइल तस्विर


गोपालचन्द्र सुवेदी
काठमाडौं, जेठ ८ गते । करिव दुई महिनादेखि जारी बन्दाबन्दीको अवस्थाबीच धनुषामा निर्माणाधीन मूलककै ठूलो विद्युत् सबस्टेसन ढल्केबार सबस्टेसन निर्माणको काम भने धमाधम चलिरहेका छन् । विभिन्न विकास आयोजना निमार्ण अवरुद्ध भइरहेको समयमा ढल्केबार सबस्टेसन ठड्याउन स्वदेशी तथा विदेशी ८० जना प्राविधिक तथा श्रमिक अहोरात्र खटिइरहेका छन् ।
कोरोना कहरकाबीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेको हो । ४००÷२०० केभी क्षमताको यो सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको र असारभित्र सञ्चालनमा ल्याउने तयारी नेपाल विद्युत् प्राधिकरणको छ । “यही असारभित्र निर्माणसम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेका छ,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो ।
नेपालभर पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि निर्माण गएिको ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।
‘गत पुस र माघमा तराइमा चलेको शीतलहरका कारण उपकरण जडानको लक्ष्य केहि प्रभावित भएको थियो । त्यसपछि कोरोना र बन्दाबन्दीका कारण पनि आयोजना निर्माण प्रभावित भएको थियो । “अहिले सबै सुरक्षात्मक उपाय अपनाएर काम गरिरहेका छौं,” घिसिङले भन्नुभयो ।
चीनबाट विमानमार्फत भारतको कलकत्ता ल्याइएका सबस्टेसनका उपकरणहरु दुवै मुलुकमा कार्यान्वयन गरिएको बन्दाबन्दीका कारण आयोजनास्थल ल्याउन समस्या परेको थियो । तर सबै सरोकारवाला निकायसँग समन्वय गरी एक साता अघि ती उपकरणहरु आयोजनास्थलमा ल्याइसकिएकाले परिक्षण गर्दै जडान गर्नेकाम सुरु भएको हो । कलकत्ता विमास्थलमा ल्याइएका उपकरणहरु अलपत्र परेपछि लकडाउनमा पनि आवश्यक सुरक्षात्मक उपाय अपनाएर नेपाल ल्याउन ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षीसँग आग्रह गर्नुभएको थियो । त्यसपछि ९ वटा ट्रकमार्फत उपकरणहरु आयोजनास्थलमा ल्याइएको हो ।
चीनमा उत्पादित उपकरणहरु भएकाले संचालन परीक्षणका लागि चिनियाँ इन्जिनियरहरु लकडाउन सुरुहुनुभन्दा पहिले नै आइसकेका थिए ।
नौ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने गरी ढल्केबार सबस्टेसनमा ३१५ एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान हुनेछन् । सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न पनि यो सबस्टेसन अत्यावस्यक छ । २२० केभी गोंगर(दोलखा)—खिम्ती—ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन यो सबस्टेसन आवश्यक हुनेछ ।
सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत असारभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ ।
सबस्टेसन निर्माण भारतीय भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेका छन् । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा सबस्टेसन बन्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?