logo
२०८१ बैशाख १२ बुधवार



पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति

अर्थ |
अन्तर्राष्ट्रिय |


पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति


मस्को, चैत्त २८ गते । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका राजा सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उहाँहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल भएको रसियाली राष्ट्रपतिको प्रेस सेवाले शुक्रबार जनाएको छ ।
प्रेस सेवाको वक्तव्यमा भनिएको छ, “रूसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति र साउदी राजासँग टेलिफोनमा कुराकानी गर्नु भयो ।” छलफलका क्रममा ओपेक समेतको सहभागितामा मन्त्रीस्तरीय बैठक आयोजना गर्न सहमति पनि भएको छ । उहाँहरुबीच तेलको मूल्यमा आएको उतारचढाव र यसबाट विश्व अर्थतन्त्रमा सिर्जित नकारात्मक असरलाई कम गर्न तथा विश्वको तेल व्यापारलाई स्थिरता प्रदान गर्न सबै पक्षबीच समान धारणा रहेको पनि प्रेस सेवाले जनाएको छ ।
कोरोनाभाइरसको संक्रमण फैलिएसँगै विश्व बजारमा तेलको माग घट्नुका साथै तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । अमेरिकाले मुख्य तेल उत्पादक राष्ट्रहरु रुस र साउदी अरेबियाबीच जारी अस्वस्थ प्रतिस्पर्धाका कारण तेलको मूल्यमा अस्थिरता आएको बताउँदै दुबै देशमाथि उत्पादनमा कटौती गर्न दबाब दिँदै आएको छ ।
यसैबीच, तेल उत्पादक राष्ट्रहरुको समूह ९ओपेक० र रसियाबीच आगामी मे र जुन महिनाका लागि प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्न बिहीबार सहमति भएको ओपेकले जनाएको छ ।
अमेरिकी टेलिभिजन सिएनएनका अनुसार जुलाईदेखि डिसेम्बरको अवधिमा ८० लाख ब्यारेल प्रतिदिन तथा सन् २०२१ को जनवरीदेखि स्न २०२२ को अप्रिलसम्म प्रतिदिन ६० लाख ब्यारेल तेल उत्पादनमा कटौती गरिने छ । इरान, लिबिया र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धहरुका कारण पहिल्यै तेल उत्पादनमा असर परेको भन्दै यी मुलुकको तेल उत्पादनमा कटौती हुने छैन । साउदी अरेबियाको अग्रसरतामा भएको ओपेकको बिहीबारको बैठकमा सदस्य मुलुकहरुबीच टेलिकन्फेरेन्स मार्फत बैठक भएको साउदी अरेबियाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?