logo
२०८० चैत्र १६ शुक्रवार



सङ्कटमा निजी क्षेत्रको स्वस्फूर्त सहयोग पहिला बाँचौँ, अनि व्यवसाय

अर्थ |


सङ्कटमा निजी क्षेत्रको स्वस्फूर्त सहयोग पहिला बाँचौँ, अनि व्यवसाय


सुर्खेत समाचारदाता

सुर्खेत, चैत १८ गते । कोरोना संक्रमण बढ्न नदिनका लागि लगाइएको बन्दाबन्दी (लक डाउन)को अवधिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएर स्वस्फुर्त सहयोग गर्न थालेका छन् ।
यहाँको निजी क्षेत्र उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, होटल व्यवसायीले आ—आफ्नो व्यापार व्यवसाय पूर्णरूपमा रोकेर लक डाउनलाई साथ दिएका छन् भने सामाजिक उत्तरदायित्वस्वरुप आफ्नो क्षमता अनुसारको सहयोगसमेत गरेका छन् । विशेषगरी काम गरी खाने निम्न वर्गका समुदायलाई लक डाउनले असर पारेका कारण उनीहरूलाई खाद्यान्न, सरसफाइका सामग्री सहयोग गरेका छन् । यस्तै आ—आफ्नो वडामा सरकारी निकायसंग सहकार्य गरी क्लोरिन छर्कने काममा पनि साथ दिएका छन् ।
सुर्खेत उद्योग बाणिज्य संघले लक डाउनमा निम्न बर्गको अवस्था हेरेर सोमवार वीरेन्द्रनगर ४ र ६ मा खाद्यान्न सहयोग गरेको छ । संघका महासचिव लक्ष्मण कँडेलले व्यवसायी मिलेर करिव पाँच क्विन्टल चामल, तीन क्विन्टल दाल, साबुन वितरण गरिएको बताउनुभयो । उहाँले महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण नबढोस् भनेर सरकारले लगाएको लक डाउनलाई निजी क्षेत्रले पनि पूर्ण समर्थन गर्दै आफ्नो व्यवसाय थाती राखेको जानकारी दिनुभयो ।
प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा दैनिक करिव २० करोडको कारोबार हुने गरेको तर लक डाउनले अवस्था रम्ररी पालना भएको छ । बाँच्नु नै पहिलो विकल्प भएको उहाँको भनाइ छ । बाँचेपछि पेशा व्यवसाय गर्न सकिने भएकोले सरकारले गरेको लक डाउनको पूर्ण पालना गर्न उहाँले अपिलपनि गर्नुभएको छ ।
यसैगरी यातायात व्यवसायीले पनि सामाजिक उत्तरदायित्वलाई सम्झेर लक डाउनको अवधिमा सहयोग कार्य जारी राखेका छन् । अलपत्र यात्रुलाई प्रदेश सरकारको आग्रहमा गन्तव्यमा पु¥याउनदेखि खाद्य सामग्री लैजान यातायातका साधन उपलव्ध गराएका छन् ।
सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा नेपालगन्ज र सुर्खेतमा अलपत्र यात्रुलाई गन्तव्यमा पु¥याइएको र सुकुम्बासी बस्तीमा खाद्यान्न, साबुन, मास्क, सेनेटाइजर वितरण गरिएको बताउनुभयो ।
संकटको बेला व्यापार व्यवसायभन्दा पहिला बाँच्न आवश्यक रहेको भन्दै उहाँले पहिला बाँचौ र पछि व्यवसाय गरौंला भन्ने सोचले यातायात व्यवसायीहरूले पनि क्षमता अनुसारको सहयोग गरेको अध्यक्ष सापकोटाको भनाइ छ ।
यस्तै होटल व्यवसायीले पनि क्वारेन्टाइनका लागि आवश्यक परेमा होटल उपलब्ध गराउने प्रतिबद्धता प्रदेश सरकारसमक्ष गरेका छन् । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले व्यवसायभन्दा पहिला संकटको समाधान खोज्नुपर्ने हुँदा सुर्खेतका सवै होटल पूर्णरूपमा वन्द रहेको जानकारी दिनुभयो । लक डाउनको पूर्ण पालना गरी कोरोनाको संक्रमणबाट बचाउन होटल व्यवसायीले पनि सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?