logo
२०८० चैत्र १६ शुक्रवार



चालीस भारतीय जनकपुरमा अलपत्र

प्रदेश |


चालीस भारतीय जनकपुरमा अलपत्र


धनुषा, चैत १६ गते । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाको जोखिमको बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र प्लेटलगायत सामग्रीको व्यापार गर्दै आएका भारत महाराष्ट्र भोपाल जिल्ला बताउने ती व्यक्ति १२ बिघा रङ्गभूमि मैदानमा अलपत्र अवस्थामा प्लाष्टिकको पालभित्र बसेका हुन् ।

अस्थायी पालमा बस्दै आएका ३५ वर्षीय कृपाल भोसलेका तीन बच्चा र पत्नी रहेको छ । व्यापार गर्ने क्रममा परिवारसहित आएका भोसलेको बस्ने, सुत्ने र खानेलगायतका सरसफाइका बारेमा खासै ज्ञान छैन । जीवन जिउनु छ, जसरी पनि बाँचिरहेका छौँ, पाँच दिन अगाडि मोटरसाइकलले छोरी राजश्री भोसलेको खुट्टामा घाउ लागेर रु पाँच हजार उपचारमा खर्च गरिसकेको बताउनुहुन्छ । मोटरसाइकल चालक फरार भएपछि अहिले छोरीको उपचार गर्ने, खाना खानेसमेत पैसा छैन, भारत जाने कुनै उपाय नरहेकाले गर्दा जसोतसो आफूहरु जीवनयापन गर्दै आएको भोसलेले बताउनुभयो ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सतर्कता अपनाउँदै नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि दैनिक गुजारा गर्दै जीवनयापन गर्दै आएका यी व्यक्तिको अवस्था नाजुक भएको छ । दैनिक मजदूरी र व्यापार गरेर जीवनयापन गर्दै आएका यी ४० व्यक्ति अहिले विचल्लीमा परेका छन् । अस्थायी पालभित्र चर्को घाममा बस्नुपर्ने बाध्यता छ, वर्षा परेको खण्डमा आफूहरुलाई बस्न अझै समस्या हुने भएकाले आफूहरुलाई सहयोग गर्न ५५ वर्षीय कैलाश भोसलेले आग्रह गर्नुभएको छ ।

खुला स्थानमा सामान्य पातलो प्लाष्टिक झुण्ड्याएर बालबच्चासहित बसोबास गर्दै आएकाले यी ४० व्यक्ति जुनसुकै बेलामा कुनै प्रकारको रोग र भाइरसको शिकार हुनसक्ने जोखिमपूर्ण अवस्थामा छ । सरसफाइदेखि लिएर शौचालय र खानेपानीकोसमेत कुनै व्यवस्था नरहेपछि दुई महिनादेखि अस्थायी पालमा बस्दै आएको रामकुमारी भोसलेले बताउनुभयो । अस्थायी पालमा १० जना बालबालिका पाँच वर्षमुनिका रहेका छन् । बालबालिकाको सरसफाइ र लुगाकपडासमेत अभाव रहेको छ ।

यता ४० व्यक्ति निकै जोखिमपूर्णरुपमा खुला स्थानमा रहे पनि अहिलेसम्म कुनै पनि सङ्घसंस्था वा व्यक्तिले आफूहरुको अवस्थाबारे कुनै चासो नलिएको बताउनुहुँदै राजकुमारले भन्नुभयो, “हामी भारत पनि जाने अवस्थामा छैनौँ । निकै चिन्ता लागि रहेको छ ।” हामीलाई भारत जाने वातावरण मिलाइदिए जान चाहेको राजकुमारले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?