logo
२०८० चैत्र १६ शुक्रवार



बाग्लुङमा विदेशबाट आएका ४५ ‘होम क्वारेण्टाइनमा’

खुला |


बाग्लुङमा विदेशबाट आएका ४५ ‘होम क्वारेण्टाइनमा’
फाइल तस्विर


बलेवा, चैत १४ गते । बाग्लुङ जिल्लाका विभिन्न स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ४५ जनालाई ‘होम क्वारेण्टाइन’मा पठाईएको छ । कोरोना भाइरस प्रभावित देशबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद् व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने व्यवस्था मिलाइएको हो ।


विशेष गरेर भारत र खाडी मुलुक तथा मलेसियाबाट फर्किएकाहरुलाई सुरक्षित रहन र अन्य कसैको सम्पर्कभन्दा टाढा रहन आग्रह गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । होम क्वारेनटाइनमा पठाइएकामध्ये निसीखोला गाउँपालिकामा चार, काठेखोला गाउँपालिकामा ३०, ताराखोला गाउँपालिकामा ११, बडिगाड गाउँपालिकामा एक र ढोरपाटन नगरपालिकामा तीन जना छन् । उनीहरुमध्ये बडिगाड गाउँपालिकाका एक जना भने वैदेशिक रोजगारीमा गएको नभई उच्च ज्वरो आएका कारण औषधोपचारसहित होम क्वारेन्टाइनमा राखिएको हो ।


कोरोनाको सङ्क्रमण भित्रिन नदिन जिल्लाका तीन स्थानमा स्थापना गरिएका हेल्थ डेस्कबाट ३११ जनाको ज्वरो परीक्षण गरिएको थियो । बुर्तिबाङ हेल्थ डेस्कमा परीक्षण गरिएका १८ मध्ये दुई जनामा ज्वरो देखा परे पनि अन्य कसैमा समस्या देखा नपरेको गुरौले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला भित्रिने मुख्य नाका मालढुङ्गा हेल्थ डेस्कमा २८९ र बडिगाड गाउँपालिकाको खरबाङ बजारमा स्थापना भएको हेल्थ डेसकमा चार जनाले जाँच गराएका थिए । ज्वरो देखा परेका दुवैलाई आवश्यक परामर्श र औषधि सिफारिस गरिएको चिाकित्सकले जनाएका छन् ।


यसैबीच जिल्लामा रहेका सरोकार भएकाहरुको बैठकले प्रमुख जिल्ला अधिकारी संयोजक रहेको १३ सदस्यीय कमाण्ड पोष्ट गठन गरेको छ । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशनमा प्रजिअ गौलोचन सैंजुको संयोजकत्वमा कमाण्ड पोष्ट गठन गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालयबाट जिल्ला सवारी पासलाई समेत व्यवस्थित गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले बताउनुभयो । कोरोनाका बारेमा सत्यतथ्य पुष्टि भएको खबर मात्र सम्प्रेषण गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध गर्ने र गलत समाचार सम्पे्रषण गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने बैठकले निर्णय गरेको पन्तले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?