logo
२०८१ बैशाख १३ बिहीवार



पेट्रोलियम र खाद्यान्न बोकेका ८५ ट्याङ्कर र ट्रक भित्रिए

अर्थ |


पेट्रोलियम र खाद्यान्न बोकेका ८५ ट्याङ्कर र ट्रक भित्रिए


नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, चैत १३ गते । सिमाना बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारत र नेपाल दुवै ठाउँमा लकडाउन गरिए पनि मालवाहक गाडी नियमित आइरहेको बताउनुभयो ।
उहाँले मङ्गलबार मात्र एकैदिन डिजेलका २३ वटा ट्याङ्कर, पेट्रोलका २० वटा ट्याङ्कर, एलपी ग्यासका सातवटा बुलेट, मट्टीतेलको एक ट्याङ्कर, तरकारी र फलफूल बोकेका २० वटा कन्टेनर तथा खाद्यान्न बोकेका ३० ट्रक भन्सार गराएर भित्रिएको बताउनुभयो ।
प्रमुख निरौलाका अनुसार तीन दिन यता सिमानालाई पूर्ण रूपमा बन्द गरेर सवारीसाधन र मानिसहरूको ओहोरदोहोरमा प्रतिबन्ध लगाइए पनि पेट्रोलियम पदार्थ र खाद्यान्नको आयातमा कुनै कमी आएको छैन । यसअघि आइतबार र सोमबार मात्र यो नाकाबाट ८८१ मेट्रिक टन चामल, २४५ मेट्रिक टन मकै र ८१४ मेट्रिक टन सिमी भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार सोही अवधिमा डिजेल ९५२ किलोलिटर, पेट्रोल पाँच सय किलोलिटर र एलपी ग्यास २२२ मेट्रिक टन आयात भएको थियो ।
लकडाउनको अवस्थामा पनि अत्यावश्यक सामग्रीको सूचीमा रहेका पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास र खाद्यान्नहरू दैनिक जसो ठूलो परिमाणमा आयात भइरहेकोले यस क्षेत्रमा समस्या पर्ने सम्भावना नरहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
उता, भारतबाट सामान लिएर आउने गाडी चालकहरूको सिमानामा कडा स्वास्थ्य परीक्षण गरेर मात्र छिर्न दिइएको जमुनाह प्रहरीले जनाएको छ । यदि व्यवस्था हुने हो भने भारतबाट आउने मालवाहक गाडीलाई पनि निर्मलीकरण गरेर मात्र छिर्न दिनु पर्ने प्रहरी कार्यालयले जनाएको छ ।

५७० बुलेट ग्यास भित्रिए

दीपकप्रसाद गौतम

वीरगञ्ज , चैत १३ गते । प्रमुख नाका वीरगञ्ज भएर चैत महिनाको १ गते देखि ११ गते सम्ममा पाँच सय ७० बुलेट ग्यास नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहका अनुसार चैत महिनाको १ गतेदेखि ११ गते सम्ममा ५७० एलपी ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर नेपाल भित्रिएका हुन् ।
चैत १ गते ३० बुलेट, २ गते ९८ बुलेट , ३ गते ५८ बुलेट, ४ गते ६६ बुलेट, ५ गते ५२ बुलेट, ६ गते ५२ बुलेट, ७ गते ५० बुलेट, ८ गते ३५ बुलेट, ९ गते ४२ बुलेट, १० गते ५२ बुलेट र ११ गते ३५ बुलेट खाना पकाउने एल पी ग्यास आयात भएको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
दैनिक ४२ देखि ४६ वटा ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर आउने गरेकोमा पछिल्लो ११ दिनमा पनि त्यही अनुपातमा ग्यास बोकेका बुलेट आएको सूचना अधिकारी साहले बताउनुभयो ।
विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि भोलिका दिनमा खाना पकाउने ग्यास अभाव होला कि भनेर उपभोक्ताले आ–आफ्नो घरमा ग्यास मौज्दात राख्न थालेपछि एलपी ग्यासको माग बढेको थियो । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्नु नै माग बढ्नुका कारण रहेको नेपाल आयल निगमले बताउँदै आएको छ ।
नेपालका ३३ प्रतिशत परिवारले खाना पकाउने ग्यासको प्रयोग गर्दै आएका र कुल एक करोड १२ लाख प्रतिसिलिन्डर प्रयोगमा रहेको नेपाल आयल निगमले जनाएको छ । ३५ हजार मेट्रिक टनले २४ लाखवटा सिलिन्डर मात्र भरिन्छ भने हाल मासिक ३८ देखि करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास आयात गरिँदै आएको छ ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?