logo
२०८१ बैशाख ८ शनिवार



अति आवश्यकीय उपभोग्य वस्तुको आपूर्ति र विक्री वितरण नरोक्ने

अर्थ |


अति आवश्यकीय उपभोग्य वस्तुको आपूर्ति र विक्री वितरण नरोक्ने


सीता शर्मा

काठमाडौँ, चैत १२ गते । सरकारले मङ्गलबार बिहानैदेखि लागू गरेको ‘लकडाउन’मा खाद्यान्न, औषधि तथा इन्धनलगायतका अति आवश्यकीय वस्तुको आपूर्ति र विक्री वितरण नरोक्ने भने पनि भ्रमका कारण थोरै पसल मात्र खुले । मङ्गलबार समस्या भए पनि बुधबारदेखि यस्तो समस्या नरहने सम्बद्ध निकायले जानकारी दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अति आवश्यकीय उपभोग्य वस्तु, इन्धन र औषधि नरोक्ने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेकाले अब नरोकिने जानकारी गराएको छ । सरकारले विश्वमै महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउनका लागि अति आवश्यकीय वस्तुको आपूर्ति नरोकिएको र खरिद बिक्रीको पनि उचित व्यवस्था गरिएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्किन आग्रहसमेत गरेको छ ।
सरकारले आम उपभोक्तालाई आवश्यकता र माग ध्यानमा राखेर ठाउँ–ठाउँमा सहुलियत मूल्य पसल पनि सञ्चालन गरिरहेको छ । सरकार मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनले संयुक्त रूपमा उपत्यकाका विभिन्न पाँच ठाउँमा सुपथ मूल्य पसल गरेका छन् । ती पसल निर्वाध रूपमा सञ्चालन हुने जनाइएको छ । ती पसल पहुँच नहुने उपभोक्तालाई लक्षित गरी तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न ठाउँमा खाद्यान्न वितरणको प्रबन्ध मिलाएको आपूर्ति मन्त्रालयले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सुपथ मूल्य पसल निरन्तर चल्ने र नरोकिने स्पष्ट पार्नुभयो । उहाँले
‘लकडाउन’ सुरु भएको पहिलो दिन गृह मन्त्रालयअन्तर्गत ठाउँठाउँमा खटिएका सुरक्षाकर्मीबाट खाद्यान्न पसल बन्द गराउने काम भए पनि बुधबारदेखि त्यस्तो गतिविधि नदोहोरिने बताउनुभयो ।
खाद्यान्न, औषधि र इन्धनजस्ता अति आवश्यकीय वस्तु भएकाले यसको आपूर्ति र बिक्री वितरण नरोक्न भनिसकेकाले ती पसल दिनभरि नखुले पनि दैनिक बिहान वा बेलुका एक÷दुई घण्टा खोल्ने व्यवस्था हुने उहाँको भनाइ छ । महाप्रबन्धक सुवेदीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धकसमेत रहनुभएकाले खाद्य कम्पनीसँग पर्याप्त चामल मौज्दात रहेकाले खान पाइँदैन कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।
यस्तै साल्ट टे«डिङ कर्पोरेसनका प्रवक्ता ब्रजेश झाले उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर आफ्ना सबै बिक्री केन्द्र खुला राखेको जानकारी दिनुभयो । चिनी, नुन, एसटीसी ग्यास, चामल, दाललगायतका सामान बिक्री गर्दै आएको कर्पाेरेसनले अहिलेका सङ्कटलाई ध्यानमा राखेर केन्द्रीय कार्यालय कालीमाटीसहित उपत्यकामा विभिन्न पाँच ठाउँमा सुपथ पसल र आफ्ना तीनवटा मोबाइल भ्यानमार्फत सामान बिक्रीको प्रबन्ध मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।
झाले भन्नुभयो, हामीसँग नुन १० महिना, चिनी छ महिना र ग्यास र अन्य सामान छ, यी सामान बिक्रीका लागि हाम्रा कर्मचारी ‘स्ट्यानबाइ’ हुनुहुन्छ तर उपभोक्तालाई बिक्री केन्द्रसम्म आउने वातावरण मिलाउनु प¥यो, मङ्गलबार उपभोक्ताको आवागमन शून्य नै भयो, यो अवस्थाले हामीले पसल खोल्नुको औचित्य रहँदैन ।

तरकारी आपूर्तिमा समस्या छैन
कालीमाटी तरकारी तथा फलफूल बजार बिहानैदेखि अन्य दिन जस्तो चहलपहल भएन । विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले मङ्गलबारदेखि बजारमा किनमेल गर्न आउनेको सङ्ख्या पनि घटेको छ । कालीमाटीको तरकारी बजार देशकै ठूलो थोक तरकारीको कारोबार हुने बजार हो । बजारमा बिहान ६ बजेसम्म तरकारी किन्ने बेच्नेको भीडभाड भए पनि दिउँसो सुनसान भएको समितिले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा मङ्गलबार २७७ मेट्रिक टन तरकारी भित्रिएको छ । सो समितिका उपनिर्देशक विनय श्रेष्ठले सोमबार रातिसम्म झण्डै नौ सय मेट्रिक टन तरकारी भित्रिएको र मङ्गलबार बिहान पनि केही परिमाणमा तरकारी आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कालीमाटी बजारमा तरकारी आउने क्रम रोकिएको छैन तर मानिस घरबाट बाहिर निस्किन नपाएपछि तरकारीको कारोबार जति हुनुपथ्र्यो त्यति हुन सकेन ।
सरकारले सोमबारदेखि नै सार्वजनिक यातायातका साधन जिल्लाका नाका कट्न नपाउने गरी निर्देशन जारी गरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठन
(डब्ल्यूएचओ)ले नेपालमा सङ्क्रमण नदेखिए पनि उच्च जोखिममा रहेको भन्दै भारतसँगका सीमा नाकाबन्द गर्न सुझाएको छ । भारतले भने आइतबारदेखि जनता कफ्र्यु लगाएको छ । अब तरकारी भित्रिने सम्भावना झनै कम छ, उहाँले भन्नुभयो, महँगी बढ्ने खतरा छ तर त्यसो गर्ने व्यापारीको पक्षमा हामी उभिदैँनौ ।
बजारका थोक तरकारी व्यवसायी विनोद खत्रीले हामी तरकारी बिक्रीका लागि पसल खोले पनि किन्ने ग्राहक नआएको गुनासो गर्नुभयो । विभिन्न ठाउँबाट कालीमाटीमा आएको तरकारी उपत्यकाका अन्य बजार बल्खु, बालाजु, कोटेश्वर, भक्तपुर बानेश्वरलगायतका बजारमा जाने गर्छ । यहाँ भित्रिएको तरकारीले उपत्यका बजारको माग झण्डै ७५ प्रतिशत धान्दै आएको छ भने अन्य माग स्थानीय उत्पादन र अन्य साना बजारले धान्ने गरेका छन् ।
बजारमा तरकारी तथा फलफूल पर्याप्त नहुँदा मूल्य बढ्न सक्ने भएकाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाइरहेको जनाएको छ । विभागका महादिर्नेशक नेत्रप्रसाद सुवेदीले व्यापारीले सङ्कटका बेलामा कालोबजारी गर्ने, कृत्रिम अभाव गर्न सक्ने भएकाले विषयमा विभागका कर्मचारी उच्च सतर्कतामा रहेको पनि जानकारी दिनुभयो । यदि कुनै व्यापारीले यस्तो गरेको पाइयो भने कानुन अनुसार हदैसम्मको कारबाही गरिने उहाँको भनाइ छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?