logo
२०८१ बैशाख १३ बिहीवार



असारभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन

अर्थ |


असारभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १५ गते । चालू आर्थिक वर्षको अन्त्यभित्रमा विद्युत् उत्पादन लक्ष्य राखेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न पेनस्टक पाइप जडान नै चुनौतीपूर्ण बन्दै गएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गर्नुभएको छ ।
उहाँले आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्त रूपमा निर्माण सम्पन्न हुने कार्यतालिकाबारे छलफल गर्नुभएको छ । छलफलका क्रममा ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
छलफलका क्रममा घिसिङले अगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाई त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
पहिलो युनिटबाट विद्युत् सुरु भएपछि बाँकी पाँच युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जामन्त्रीलगायतको गम्भीर चासो छ । उहाँले त्यसैले जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने छ । समय तालिकामा रहेर काम गर्नुहोला भन्नुभयो । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा आधाभन्दा धेरै पेनस्टक पाइप जडान भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुल ६७३ मिटरमध्ये ३५५ मिटर पेनस्टक पाइप जडान गरिसकिएको र ३१८ मिटर बाँकी रहेको जनाइएको छ ।
पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमशः १४७ र १७१ मिटर पाइप जडान गर्न बाँकी छ । पेनस्टक पाइप जडान चुनौतीपूर्ण र लामो समय लाग्ने भएकाले आगामी असार मसान्तभित्र पूर्ण सञ्चालनमा ल्याउने कार्यतालिका प्रभावित हुने देखिएको छ । प्राधिकरण सो अवधिभित्र एउटा युनिट मात्र सञ्चालनमा ल्याएर ७६ मेगावाट भए पनि उत्पादन सुरु गर्ने लक्ष्यमा लागेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक कार्यसूचीअनुसार चैतभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने र असारसम्ममा पूर्ण सञ्चालनमा ल्याउने लक्ष थियो ।
माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुईवटा पाइप जडान अवधि क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडको अनुमान छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान सुरु हुने र त्यसका लागि करिब डेढ महिना लाग्ने बताइएको छ ।
पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो मेकानिकल (लट ३)को ठेकदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । भारतीय कम्पनीका कारण नै पेनस्टक जडान ढिला सुरु भएको थियो ।
आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठका अनुसार सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?