logo
२०८० चैत्र १६ शुक्रवार



सुनसान बन्दै ठमेल

अर्थ |


सुनसान बन्दै ठमेल


देवबहादुर कुँवर

काठमाडौँ, फागुन  १३ गते । ‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानीको ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गर्नुभयो ।
चीनको वुहान सहरमा उद्गम भएको कोरोना भाइरसको प्रभावले नेपालको सबैभन्दा व्यस्त र मुटु मानिएको पर्यटन बजार ठमेल शून्यजस्तै लाग्न थाल्यो । उहाँले भन्नुभयो, चीनका पर्यटकमा निर्भर ठमेल ज्याठा गल्लीका अधिकांश होटल बन्द हुने अवस्थामा छन् । बुकिङ रद्द भएपछि थप चिन्ता बढेको छ ।
ठमेल चोकस्थित फायर–डे क्याफे एन्ड रेस्टुराँका सञ्चालक दावा तामाङको समस्या पनि होटल व्यवसायी खनालको भन्दा कम छैन । मैले त ठमेल जानै छोडे तामाङले भन्नुभयो, विदेशी पाहुनामा निर्भर होटल–रेस्टुराँ कोरोनाको त्रासका कारण सुक्न थाले । यो पर्यटक भित्रने सिजन हो, गोरो अनुहार भित्रिएको खै त ? प्रश्न गर्नुभयो र थप्नुभयो, कोरनाको सन्त्रास विश्वभर फैलिएका कारण त्यसको प्रभाव नेपालमा पनि प¥यो । चीन र नेपाल छिमेकी मुलुक भएकाले कतिपय पश्चिमा मुलुकबाट यता भ्रमणमा निस्कन डराउने गरेको पाइएको छ । विशेष गरी चीनको लगानी र पर्यटकको बाक्लो आगमन हुने ज्याठा क्षेत्र यतिबेला शून्य बनेको हो । नयाँ वर्ष मनाउन जनवरीको अन्त्यतिर गएका चीनका पर्यटन व्यवसायी कोरोनाको सन्त्रासले नेपाल फर्किएका छैनन् । चीनका नागरिकको लगानीबाट सञ्चालित अधिकांश होटल, रेस्टुराँ, कार्गो, रुद्राक्ष पसल नेपाली कामदारको भरमा सञ्चालन हुँदै आएका छन् । हस्तकलाका सामग्री निर्यात ठप्प हुँदा व्यापार व्यवसाय शिथिल देखिएको छ । होटल, रेस्टुराँ र पसल चकमन्न छन् ।


के गरी व्यवसाय सञ्चालन गर्ने हामी चिन्तामा छौँ, टानका पूर्वकोषाध्यक्ष पर्यटन व्यवसायी लीला दाहाल भन्नुहुन्छ, २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीभन्दा पनि अहिले अवस्था जटिल बन्दै गएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाका अनुसार ठमेलमा पाँच हजारभन्दा बढी व्यवसाय छन् । तीमध्ये पर्यटक लक्षित होटल र रेस्टुराँ तीन हजार पाँच सय छन् । कोरोनाको सन्त्रासका कारण यी सम्पूर्ण व्यवसाय प्रभावित बनेका छन् ।
नेपालमा कोरोना नभए पनि चीनमा देखापरेका कारण चीनका पर्यटकको आगमन ठप्प भएसंँगै अन्य देशका पर्यटकको आगमनसमेत घटेको छ । उहाँले भन्नुभयो, ७५ प्रतिशत होटल बुकिङ रद्द भएको छ ।
कोरोना सङ्क्रमण भित्रिन नदिन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत सीमामा क्वारेन्टाइन चेकपोस्ट राखेको छ ।


नेपाल प्रवेश गर्नेलाई विशेषज्ञबाट स्वास्थ्य परीक्षण हुनुका साथै सङ्क्रमण भित्रन नदिन उच्चस्तरको स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल पर्यटन विकास बोर्डले चीनमा फैलिएको कोरोना सङ्क्रमणका कारण विश्वकै पर्यटन व्यवसाय सुस्त बनेको जनाएको छ ।
दैनिक दुई हजारदेखि तीन हजारको सङख्यामा विदेशी पर्यटक भित्रने नेपालमा दैनिक आठ सयदेखि हजारसम्म झरेको बोर्डले जनाएको छ । पर्यटकको सिजन सुरु हुने बेला यस्तो विपद् आइलाग्दा धैर्य गर्नुबाहेक अन्य विकल्प नभएको सम्बद्ध अधिकारी बताउँछन् । नेपाल हँुदै धार्मिक तीर्थस्थल मानसरोवर र तिब्बत भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि ठप्प नै छ तर पनि पर्यटन विकास बोर्डले विकसित मुलुकका नागरिकलाई नेपाल भ्रमणका लागि अनुरोध गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?