logo
२०८१ बैशाख ८ शनिवार



योगदानमा आधारित सामाजिक सुरक्षा योजना , होटलका कर्मचारीलाई उपदान समस्या

मुख्य समाचार |


योगदानमा आधारित सामाजिक सुरक्षा योजना , होटलका कर्मचारीलाई उपदान समस्या


सीता शर्मा

काठमाडौँ, फागुन ९ गते । होटलमा काम गर्ने कर्मचारी तथा श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन उत्साहित छैनन् । कोषमा आबद्ध हुँदा आफूहरूले पाउने उपदानको रकम नै गुम्ने डर उनीहरूमा छ । उपदान आउने निश्चित भएपछि मात्रै होटलमा काम गर्ने कर्मचारी तथा श्रमिक कोषमा सूचीकृत हुने बताउँदै आएका छन् । संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले धेरै होटलमा काम गर्ने कर्मचारी श्रमिक उपदान गुम्ने डरले सूचीकृत हुन नचाहेको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ होटलमा समस्या छैन तर पुराना होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकको यस्तो समस्या छ ।
अध्यक्ष श्रेष्ठले उपदान दिने व्यवस्था भएका होटलका सञ्चालकले श्रमिकको जम्मा भएको उपदानबापतको रकम एकैपटक दिन नसके पनि एक÷डेढ वर्षभित्र दिइसक्ने गरी किस्ताको व्यवस्था गर्न आग्रह गरेको तर उनीहरूबाट कुनै प्रक्रिया नआएको बताउनुभयो ।
यता होटल सञ्चालक तथा व्यवस्थापकले भने कर्मचारी तथा श्रमिकले पुरानो व्यवस्थाअनुसार प्राप्त गर्ने उपदानबापतको रकम दिने व्यवस्था गरिने हुँदा श्रमिकलाई श्रम ऐनको नयाँ व्यवस्थाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन आह्वान गरेका छन् । होटल सङ्घ नेपाल (हान)ले एक साता पहिले सबै होटलका काम गर्ने कर्मचारी एवं श्रमिकलाई एक महिनाभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन परिपत्रसमेत गरिसकेको छ । हानका सदस्य होटलका आधिकारिक प्रतिनिधिहरूको गत आइतबारको बैठकले होटलमा कार्यरत सबै श्रमिक तथा कर्मचारीलाई ३० दिनभित्र योजनामा सूचीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको थियो र त्यही निर्णयअनुसार सबै होटललाई परिपत्र गरेको छ ।
हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कर्मचारी तथा श्रमिकले पुरानो व्यवस्थाअनुसार प्राप्त गर्ने उपदानको रकम एकैपटक दिँदा होटल सञ्चालनलाई ठूलो आर्थिक भार पर्ने र त्यो थेग्न पनि नसक्ने हुँदा बिस्तारै दिने व्यवस्था गरिने बताउनुभयो ।
सामाजिक सुरक्षा कोषका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अहिलेसम्म ३३५ वटा साना ठूला होटल कोषमा सूचीकृत भएका छन् । यस्तै ती होटलमा काम गर्ने योगदानकर्ता (कर्मचारी र श्रमिक) गरेर छ हजार ८७४ जना सूचीकृत भएका छन् ।
हानका वरिष्ठ उपाध्यक्ष शाहले सञ्चालनमा रहेका सबै सदस्य होटलमा कार्यरत श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा ल्याउन अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार हान मातहत विभिन्न १५ च्याप्टरअन्तर्गतका दुई हजार होटलमा प्रत्यक्ष र अप्रत्यक्ष गरी लगभग १० लाख श्रमिक कर्मचारी छन् । देशभर रहेका अधिकांश होटल हानका सदस्य भएका कारण योगदानमा सूचीकरण हुने श्रमिक तथा कर्मचारी धेरै हुने उहाँको भनाइ छ ।
हाल नयाँ निर्माणाधीन ठूला होटललाई समेत सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने तयारीमा रहेको कोषले जनाएको छ ।
होटलमा कार्यरत श्रमिक कर्मचारीलाई योजनामा सूचीकरण गराउन सामाजिक सुरक्षा कोषले माघ २० गते हानलाई पत्राचार गरेर सूचीकरण गर्न गराउन अनुरोध गरेको थियो ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषमा सूचीकृत अन्नपूर्ण र पोखराका केही होटल गरी ३३५ वटा ठूला तथा साना होटल यसअघि नै योजनामा सूचीकरण भइसकेको बताउनुभयो । हाल कोषमा डेढ लाखको हाराहारीमा सूचीकरण भएका श्रमिकको ६० करोड रुपियाँ जम्मा भइसकेको छ । हाल योगदानमा सूचीकरण भएका आठ जना मृतक श्रमिकका परिवारले शैक्षिक वृत्ति, अन्तिम संस्कार खर्च, पेन्सन र कोषमा जम्मा भएको रकम फिर्ता पाउने क्रममा रहेको कोषले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?