logo
२०७६ चैत्र १६ आईतवार

पाँच-सात व्यापारीको नियन्त्रणमा छ पोल्ट्री व्यवसाय

अर्थ |
पढ्नै पर्ने |


2020-02-14-8683
सांकेतिक तस्विर


केशवराज पौडेल

काठमाडौं, फागुन २ गते । कुखुराको मासु उपभोक्ताले बिरलै उधारो खान्छन् । मासु उत्पादन गर्ने किसानले सहजै कुखुरा बेचेको पैसा पाउँदैनन् । चल्ला, दाना र औषधिमा व्यापारिको सुरुमै लगानी हुने हुँदा यस बीचमा बिचौलियाले पैसा होल्ड गर्दा उधारोको दलदलबाट नेपाली किसान निस्कनै सकेका छैनन् ।

केही मुठ्ठीभरका व्यापारिको हातमा सिंगो पोल्ट्री क्षेत्र भएकाले राज्यले हस्तक्षेपकारी भूमिका खेल्नु आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य हरिशरण दाहाल बताउनुहुन्छ । ‘कुखुरामा नसोचेको सिण्डिकेट छ, नेपालभरमा पाँच-सता जना व्यापारिको नियन्त्रणमा सिंगो क्षेत्र पीडित बनेको छ’ दाहालले बताउनुभयो । उहाँका अनुसार केही व्यापारिसँग दाना, चल्ला,औषधि र कोल्डस्टोर समेत आफ्नै भएकाले चल्लाको मूल्यदेखि मासुको मूल्यसम्म आफैले निर्धारण गर्ने गरेका छन् ।

सरकारले समेत प्रभावकारी रुपमा अनुगमन गर्न नससकेको उहाँको तर्क छ । उहाँले सरकारी अनुगमन गर्ने निकायले कर्मचारीको अभाव देखाएर नियमित अनुगमन समेत गर्न सकेको छैन । दाहाल भन्नुहुन्छ सरकारी संयन्त्र बलियो बनाएर मासु, दानाको र चल्लाको साप्ताहिक रुपमा बजार भाउ सार्वजनिक गरेपछि मात्रै पोल्ट्री क्षेत्रको सिण्डिकेटको अन्त्य हुन्छ ।

चल्ला किनेको बेलादेखि कुखुरा बेच्ने समयसम्म सिण्डिकेटको दलदलबाट किसानमाथि उम्कन सकेका छैनन् । किसानसँग लगानी गर्ने पैसा छैन, सरकारले लगानी गरिदिदैन, व्यापारिको लगानी सुरुबाटै भएकाले कुखुरा व्यवसायभित्र डरलाग्दो सिण्डिकेट मौलाउँदै गएको छ । जसको कारण कुखुरा उत्पादन गर्ने किसान कमजोर, बिचौलिया र व्यापारि मोटाउँदै गएका छन् । बजारमा बिचौलियाको दबदबा बढेसँगै किसान र व्यापारिबीच सेतूको काम पोल्ट्री व्यवसायी मञ्चले गरे पनि त्यो प्रभावकारी बन्न भने सकिरहेको छैन ।

कुखुरापालनमा न्यून आय भएका, वैदेशिक रोजगारीबाट फर्किएका युवाकै संम्लग्नता धेरै छ । सानो लगानीमा धेरै मुनाफा हुने भन्दै आकर्षित भएका युवा बिचौलियाको मारमा परेसँगै मुस्किलले एक बर्ष कुखुरा पालन व्यवसाय गरेर पेशाबाटै पलायन हुने अवस्थामा पुग्न थालेका छन् ।

कुखुराको मासु र अण्डा उत्पादनमा नेपालको चितवन, काभ्रेपलाञ्चोक लगायतका जिल्ला आत्मनिर्भर छन् । तर उधारो कारोबारको दलदलमा कुखुरापालक किसान परेकाले उनीहरु आफूले खोजेको ठाउँमा उत्पादन गरेको कुखुरा र अण्डा बेच्न समेत पाउँदैनन् । त्यसले उत्पादकले राम्रो मूल्य पाउनै सकेका छैनन् ।

दिनभर श्रममा घोटिएर काम गर्छन शरीरमा चाहिने प्रोटिन ६० रुपियाँ प्रतिकिलो पाउने ब्रोइलर कुखुराको टाउको र खुट्टा खाएर धान्छन् तर यो पेशाबाट खासै नाफा नभए पछि उनीहरू पछिल्लो समय निराश बनेका छन् । श्रमिक वर्गले प्रयोग गर्ने प्रोटिन करीको रुपमा परिचित ब्रोइलर कुखुराको मासुले आकाश छोएसँगै त्यसले श्रमजीवी वर्गले पाउने प्रोटिन पाउन सकेका छैनन् ।
केही दिन पहिले ६० रुपियाँमा किलोमा पाउने टाउको र खुट्टाको मूल्य दुईसय रुपियाँ पुगेको थियो । त्यस्तै कुखुराको तयारी मासुको मूल्य चार सय पुगेको थियो यसले गरीब र श्रमिक उपभोक्ताले मन पराएको कुखुराको मासु मंहगो पर्न थालेको छ ।

उत्पादकले राम्रो मूल्य नपाउने र उपभोक्ताले चर्काे मूल्य तिर्नुपर्ने अवस्थामा समेत सरकारी संयन्त्रबाट बलियो अनुगमन हुन नसक्दा किसान पलायन हुने अवस्थामा पुगेका छन् भने बिचौलिया झनै उत्साहित बन्न पुगेका छन् ।

आम उपभोक्ताले औधी रुचाएको ब्रोइलर कुखुराको मासुको भाउ बढाउन ह्याचरी संचालकले केही हप्ता पहिले लाखाैँको संख्यामा चल्ला जमिनमा पुरेपछि त्यसको असर बजारमा देखिएको छ । तयारी मासुको बजार मूल्य चार सय रुपियाँ पुगेसँगै उपभोक्ताले ब्रोइलरको मासु खानै छाडेका छन् । त्यसको असर देखाउँदै किसानले जिउँदो कुखुराको मूल्य २४० प्रतिकिलो मात्रै पाउन थालेका छन् ।

केहीदिनसम्म किसानले एक किलो जिउँदो कुखुराको २८० रुपियाँ पाउने गरेका थिए । तर किसानले २४० रुपियाँ प्रतिकिलो पाउने भएपनि समयमै पाउन सकेका छैनन् । कुखुराको मासुमा कार्टेलिङ गरिरहेका व्यवसायीले चल्ला र दानाबाट किसान ठगिदै आएका छन् । चल्लाको समेत कार्टेलिङ भएसँगै सातामै चल्लाको मूल्य ३५ रुपियाँसम्म बृद्धि भएको छ । कुखुरापालक किसानका अनुसार नेपाल ह्याचरी उद्योग संघले माघ १० गते चल्लाको मूल्य ४० रुपियाँ निर्धारण गरेको थियो । निरन्तर बढेको चल्लाको मूल्य क्रमशः बढाएर एक सातामा ७० रुपियाँ पु-याइएको छ । किसानले भने ७५ रुपियाँ तिर्दै आएका छन् । ठूला व्यवसायी, दाना उद्योगी र ह्याचरी उद्योगीले प्रचलित कानुनविपरीत कालोबजारी भैरहेको छ ।

जानकारहरुका अनुसार ३० देखि ३५ रुपियाँमा चल्ला तयार हुन्छ । ह्याचिङ गरेर बाहिर निकाल्दा ३५ रुपियाँभन्दा धेरै पर्दैन । ३० रुपियाँ पर्ने चल्लाको ७५ रुपियाँसम्म तिर्न बाँध्य छन् ।
ह्याचरी उद्योगीहरु भने चल्लाको लागत मूल्यनै ५५ रुपियाँभन्दा धेरै पर्ने बताउँछन् । ह्याचरी उद्योगीहरूले चल्ला अभाव दाबी गरे पनि जानाजान ‘चिक्स होलिडे’ गरेका थिए ।
उनीहरू मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्री वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरूले नेपालका विभिन्न पोल्ट्री फार्मले कुखुराका चल्ला नष्ट गरे ।

ह्याचरी उद्योगले उपभोक्ता संरक्षण ऐनविपरीत बन्द र चल्ला नष्ट गरे पनि सरकार मौन बसेको थियो । त्यसको असर अहिले देखिएको हो । कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँभन्दा बढी मूल्य हुँदैन ।’ बजार मूल्य अस्वाभाविक रहेको बताए पनि बढी मूल्य लिने व्यवसायीलाई कारबाही हुन सकेको छैन । तर १५ दिनसम्म चार सय रुपियाँमा तयारी मासु बिक्री भैरहेको थियो । बजारमा अहिले अधिकांश पसलमा तयारी मासुको मूल्य चार सय रुपियाँ नै छ । तर व्यवसायीले भने ३५० मा तयारी मासु पाउने दावी गर्छन् ।

कुखुरापालन व्यवसायमा लामो समयदेखि संम्लग्न ह्याचरी, दाना उद्योगमा समेत आबद्ध रहनु भएका रविन्द्र पुरी कुखुराको दानाको लागत मूल्य धेरै भएकाले महङ्गो परेको बताउनुहुन्छ । दानामा आवश्यक रहेको भटमास अमेरिकाबाट नेपाल ल्याउनु पर्ने भएकाले महङ्गो परेको बताउनुहुन्छ । बजारमा भनेजस्तो महङ्गो केही छैन हामीले मकै र दानाको मूल्य घटाएपछि प्रतिकिलो दुई रुपियाँले दानाको भाउ घटाएको दावी गर्नुहु्न्छ । उहाँले कुखुरापालनमा आवश्यक रहेको कच्चा पदार्थमा भन्सार शूल्क नलाग्ने भए पनि केही समयदेखि भन्सारमा शुल्क लागेपछि कच्चा पदार्थ महङ्गो पर्न गएको बताउनुहुन्छ ।

मेक्सिको, ब्राजिल र अमेरिकाबाट मकै र र भटमासको पिना ल्याएर दाना बनाउने बाध्यता रहेको व्यवसायीहरु बताउँछन् । पुरीले विगत १४ महिनादेखि यो व्यवसाय निक्कै घाटामा परेको बताउनुभयो । उहाँले सरकारले दाना, मासुको मूल्य निर्धारण गर्ने टोली बनाएर काम गर्न सुझाव दिनुभयो । उहाँले उधारोमा काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै चल्ला पुर्नु बाध्यता रहेको समेत बताउनुभयो । कार्टेलिङ गर्न र यो व्यवसायलाई धरासयी बनाउन चल्ला नपुरेको उहाँले स्पष्ट पार्नुभयो ।

पोल्ट्री व्यवसायी मञ्चका सचिव दयाराम महतले व्यवसायी र किसानहरुबीच सौहार्द वातावरण बनाउन आफूहरुले भूमिका खेलेको बताउनुभयो । उहाँले कच्चा पर्दाथको भाउ घटेपछि दाना उद्योगीले प्रतिकिलो दानामा चार रुपियाँघ घटाउन आवश्यक रहे पनि नघटाएकोमा आपत्ति समेत जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?