logo
२०८० चैत्र १६ शुक्रवार



१८ वटा पेट्रोल पम्प हटाइने

मुख्य समाचार |


१८ वटा पेट्रोल पम्प हटाइने


भउचप्रसाद यादव

काठमाडौँ, माघ २० गते । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिनुभयो । उहाँले पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइनेछ भन्नुभयो ।
नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाडौँ उपत्यकाको बढी मात्रामा सवारीसाधन आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताउनुभयो ।
उहाँले निगमलाई प्राप्त पत्र अनुसार सम्बन्धित पेट्रोल पम्पलाई समेत निगमका तर्फबाट पत्राचार भएको जानकारीसमेत दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काठमाडौँका १२ र ललितपुरका छ वटा पेट्रोल पम्प हटाउन निगमलाई निर्देशन दिइएको छ ।
उहाँले पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको छ । सो अवधिभित्र सम्बन्धित पेट्रोल पम्पले कहाँ कुन ठाउँमा सार्ने हो सोको आयल निगमको अनुसूचीमा भर्नुपर्छ, त्यसपछि निगमले सो ठाउँबारे जाँचबुझ गरी थप प्रक्रिया अगाडि
बढाउनेछ भन्नुभयो । निगमबाट पेट्रोल पम्पलाई माघ ८ गते पत्राचार भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले बढ्दो जनसङ्ख्या र सवारी साधनले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । अहिलेको अवस्थामा सडक छेउका पेट्रोल पम्प व्यवस्थापन गर्न ट्राफिक महाशाखालाई पत्र प्राप्त भएको जानकारी दिनुभयो ।
उहाँले उपत्यकाको सडक व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालयबाट भएको निर्णयलाई हामी कार्यान्वयन गर्छौँ, सडक ओगटेर कुनै पनि पेसा व्यवसाय गर्न पाइँदैन, कुनै पनि कारणले सडक अवरोध भयो भने सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले त्यसलाई हटाउँछ भन्नुभयो ।

छैनन् ‘नमुना पेट्रोल पम्प’
नेपाल आयल निगमले गरेको वर्गीकरण अनुसार काठमाडौँ उपत्यकामा एउटा पनि ‘नमुना पेट्रोल पम्प’ को स्थापना हुन सकेको छैन । ‘नेपाल आयल निगम बिक्रेता नियमावली, २०७५’ कार्यान्वयनमा आए पनि काठमाडौँ
उपत्यकामा अहिलेसम्म ‘नमुना पेट्रोल पम्प’ स्थापना नभएकाले २४ घण्टा पेट्रोल उपलब्ध हुन नसकेको प्रबन्धक यादवले बताउनुभयो ।
नियमावली अनुसार ‘नमुना पेट्रोल पम्प’का लागि तराईमा कम्तीमा एक बिघा र पहाडमा कम्तीमा पाँच रोपनी क्षेत्रफल तोकिएको छ । नयाँ नियमावली अनुसार काठमाडौँ उपत्यकामा अहिलेसम्म एउटा पनि पेट्रोल पम्प स्थापना हुन नसकेको प्रबन्धक यादवले जानकारी दिनुभयो । सरकारी र निजी गरी काठमाडौँ उपत्यकामा अहिले ११६ वटा साधारण पेट्रोल पम्प सञ्चालनमा छन् ।
पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले डिलर्सले निगमका चिठी बुझेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्बद्ध पेट्रोल हटाउनुपर्ने वा नपर्नेबारे निगमसँग परामर्श गर्न छलफल अगाडि बढाइने छ ।

काठमाडौँबाट हटाइने पेट्रोल पम्प

कोत थुकु पेट्रोल पम्प, बालाजु
जयन्ती पेट्रोल पम्प, थापाथली
कनक पेट्रोल पम्प, कालीमाटी
मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
बाबा पेट्रोल पम्प, कलङ्की
श्यामा पेट्रोल पम्प, कलङ्की
त्रिशूल पेट्रोल पम्प, कलङ्की
भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
कामाख्या पेट्रोल पम्प, कोटेश्वर
जुबी पेट्रोल पम्प, बौद्ध
बराल पेट्रोल पम्प, बौद्ध
सीता पेट्रोल पम्प, महाराजगञ्ज

ललितपुरबाट हटाइने पेट्रोल पम्प

बज्रबराही पेट्रोल पम्प, चापागाउँ
बालकुमारी पेट्रोल पम्प, चापागाउँ
टीका भैरव डिजेल स्टोर, चापागाउँ
साझा पेट्रोल पम्प, जावलाखेल
एच पी इन्टरनेसनल, जावलाखेल
गायत्री पेट्रोल पम्प, जावलाखेल

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?