logo
२०८० चैत्र १६ शुक्रवार

  नेपालीको विदेश मोह 



नेपालको निर्माण क्षेत्रमा मात्र १५ लाख भारतीय कामदार !

अर्थ |
पढ्नै पर्ने |


नेपालको निर्माण क्षेत्रमा मात्र १५ लाख भारतीय कामदार !


मुकुन्द गैरे
काठमाडौं माघ १९ गते । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करीब ४० लाख युवाशक्ति विदेश पलायन भएको तथ्याङ्क एकातर्फ छ ।
अर्का तर्फ नेपालका निर्माण कम्पनीहरू विदेशी कामदार नहुने हो भने निर्माणका काम गर्न नसकिने गुनासो गर्छन् । देश विकासको मेरुदण्डको रुपमा मानिएको निर्माण क्षेत्रमा कामदारको अभाव हुन थालेको व्यवसायी बताउँछन् । नेपालका युवा विदेश पलायन भए संगै नेपालका निर्माण व्यवसायी भारतीय कामदार ल्याएर काम गराउनु परेको बताउँछन् ।
नेपालको निर्माण क्षेत्रमा १५ लाखको हाराहारीमा भारतीय कामदार रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउनुहुन्छ । भारत र बंगलादेश बाट कामदार नल्याए निर्माणका काम अधुरो जस्तै हुने उहाँको अनुभव छ । नेपालमा काम गर्न नेपालीले लाज मान्ने र विदेशमा जस्तो सुकै काम गर्न तयार हुने सामाजिक संस्कारको विकास भईरहेको अध्यक्ष सिंहको ठहर छ ।
साथीभाई, इष्ट्रमित्रको लहलहमै लागेर पनि धेरै नेपाली विदेश जानेको गरेको उहाँको भनाई छ । विदेशमा कमाएको पैसा खर्च गर्ने ठाउँ कम हुने र स्वदेशमा कमाएको पैसा खर्च गर्ने ठाउँ धेरै भएकोले पैसा बचत भएन भनेर विदेशमा जाने लहर पनि धेरै गरेकोे उहाँबताउनुहुन्छ ।
नेपालमै निर्माण क्षेत्रमा काम गर्ने कामदारले न्यूनतम् आठ घण्टा काम गर्दा ३० देखि ३५ हजार कमाउने गरेको व्यवसायी संघका अध्यक्ष सिंह बताउनुहुन्छ । यस क्षेत्रमा काम गर्ने भारतीय कामदारले प्रतिव्यक्ति ४० हजारदेखि दुई लाखसम्म कमाउने गरेको उहाँको भनाई छ । बढ्दो विदेश मोह रोक्न सरकारले लागु गरेका सामाजिक सुरक्षा योजना लगायत बिभिन्न आकर्षक कार्यक्रम ल्याउन जरुरी रहेको अध्यक्ष सिंह बताउनुहुन्छ ।
वैदेशिक रोजगार सम्बन्धी जानकार डा.गणेश गुरुङ नेपालमा पहिलेदेखि चल्दै आएको लाहुरेपर्थाको कारण पनि स्वदेशमा भन्दा विदेशै रोज्ने मोह भएको कारण बताउनुहुन्छ । धेरै युवा जहाज चढ्न पाईने, विदेशका ठुला –ठुला महल देख्न पाईने र धेरै पैसा कमाइने मानसिकताको कारण पनि लहलहमै विदेश जानेको गरेको डा. गुरुङको भनाई छ ।
अर्को विदेशमा गए कामको करार अवधि भर कामको ग्यारेन्टी हुने र पैसा बचत हुने कारण देखाउदै विदेश रोज्ने गरेको डा. गुरुङ बताउनुहुन्छ । विदेशिने नेपाली कामदार रोक्न सरकारले ठोस योजनाका साथ अगाडि बढ्न जरुरी रहेको डा. गुरुङ बताउनुहुन्छ । नेपालका यूवाशक्ति विदेशिए संगै नेपालको निर्माण क्षेत्रमा भारतीय र बंगलादेशी नागरिक ल्याएर काम गराउनुपरेको अहिलेको तितो यर्थाथ रहेको गुरुङ बताउनुहुन्छ ।
यता वेदेशिक रोजगार बिज्ञ मधुविलास पण्डित पनि नेपालमा १२ महिना काम नपाइने समस्या र विदेश गए समाजमा ठूलो मान्छे भईने संस्कारका कारण पनि स्वदेशमा काम गर्न मान्छेको अभाव भएको कारण बताउनुहुन्छ ।
दैनिक जसो आफनो दैनिकी चलाउन विदेश जाने लहरले दीर्घकालीन रुपमा नेपाललाई ठुलो घाटा पुग्ने उहाँको भनाई छ । स्वदेशमै काम गर्ने संस्कारको विकास गरि यूवा लक्षित सर्टिफिकेट धितो राखेर ऋण दिने लगायत सरकारले ल्याएका योजनालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको वैदेशिक रोजगार बिज्ञ पण्डित बताउनुहुन्छ । सरकारले उद्योग धन्धा खोलेर स्वदेशमै रोजगारी सिर्जना गर्न ढिला गर्न नहुने उहाँको भनाई छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?