logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाविरुद्ध नेपालको तयारी प्रभावकारी

स्वास्थ्य |


कोरोनाविरुद्ध नेपालको तयारी प्रभावकारी


सरोज ढुङ्गेल

काठमाडौँ, माघ १८ गते । चीनबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलने क्रममा छ । विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ निम्त्याएको भन्दै आपत्काल घोषणा गरेको छ । नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले भाइरस नियन्त्रण गर्न उच्च सतर्कता अपनाएको छ । ती विद्यार्थी उपचारपछि निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले नेपाल कोरोना भाइरसको जोखिममा नरहेको बताउनुभयो । उहाँले सरकारले समयमै सतर्कता अपनाएका कारण जोखिम नरहेको स्पष्ट पार्नुभयो । सचिव बरालले चीनबाट आएका एक जनालाई भाइरस पुष्टि भएको हो । चीनबाट आएका अन्य विद्यार्थीलाई कोरोना भाइरसको सङ्क्रमण भेटिएन भन्नुभयो ।

के हो कोरोना भाइरस ?
नोबेल कोरोना एक प्रकारको भाइरस हो । सङ्क्रमणपछि यसले रुघाखोकीदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउँछ र सङ्क्रमितको मृत्युसमेत गराउँछ । अहिले कुनै लक्षण बिना नै कोरोना भाइरस सङ्क्रमित भएका घटना बाहिर आएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पहिचान नखुलेको कुनै पनि सङ्क्रामक भाइरस वा महामारीलाई पहिचान गर्नु अगाडि नोबेल नाम दिइने भएकाले यो सङ्क्रामक भाइरसको नाम नोबेल कोरोना भाइरस नामकरण गरिएको हो ।
कोरोना भाइरस डिसेम्बर अन्तिम सातामा चीनको वुहानबाट फैलिएको एक किसिमको भाइरस हो । यो भाइरस विश्वमा मानव जातिमा पहिलोपटक चीनमा देखिएको हो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हालसम्म कसरी नोबेल कोरोना भाइरस मानव जातिमा फैलियो भन्ने अनुसन्धान पूरा भइसकेको छैन, गरिएका केवल आशङ्का हुन् । एक अनुुसन्धानले भने सर्पमा देखिने कोरोना भाइरससँंग नयाँ कोरोना भाइरस मिल्दोजुल्दो देखिएकाले सर्प मार्फत मानिसमा सरेको हो कि भन्ने आशङ्का गरिएको छ । अर्को अनुसन्धानमा चमेरो मार्फत सरेको आशङ्का गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले नोबेल कोरोना भाइरसलाई २०१९ एनसीओभी नाम दिएको छ ।

फैलिँदो स्वरूपले त्रास
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस संसारभर विस्तार हुने क्रममा छ । पछिल्लो समय मात्र भारत, मलेसिया, जापान, दक्षिण कोरिया लगायतका देशमा फैलिइसकेको छ । संसारभरि फैलने क्रममा रहेकाले विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । जुन देशमा स्वास्थ्य संरचना प्रभावकारी छैन त्यहाँ स्वास्थ्य सेवाको व्यवस्था राम्रो नभएकाले ती देशमा कोरोना भाइरसले भयावह स्थिति ल्याउन सक्ने सम्भावनालाई ध्यान दिँदै विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा आकस्मिक सङ्कटकाल घोषणा गरेको हो । विश्वका २४ देशमा यो भाइरस फैलिइसकेको छ ।

कोरोनाविरुद्ध नेपालको तयारी
कोरोनाविरुद्ध नेपालको तयारी सूक्ष्म र प्रभावकारी रहेको दाबी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आएका शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर भाइरसको सङ्क्रमण छ छैन भन्ने पुष्टि गरिरहेको छ । कोरोना भाइरसको शङ्का लागेमा उनीहरूलाई ‘आइसोलेसन’मा छुट्टै राख्ने र नियमित निगरानीमा राख्नुपर्दछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले रिपोर्ट पोजेटिभ आएको अवस्थामा १५ दिन आइसोलेसनमै राख्नुपर्ने जानकारी दिनुभयो । श्रेष्ठका अनुसार रिपोर्ट नेगेटिभ आयो भने तुरुन्त डिस्चार्ज गरिन्छ । पोजेटिभ रिपोर्ट आयो भने १५ दिनसम्म निगरानीमै राख्नुपर्ने हुन्छ । एयरपोर्टमा भाइरस प्रभावित क्षेत्रबाट आउने मानिसलाई परीक्षण गर्ने व्यवस्था सुरु गरिसकिएको छ ।
चीनबाट आउने तातोपानी र रसुवा नाकामा स्वास्थ्य डेक्स स्थापना गरिएको छ । त्यहाँ पनि परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । पर्यटन क्षेत्र पोखरा, चितवन लगायतका स्थानमा समेत हेल्थ डेस्क राखिएको छ । ती क्षेत्रमा पनि कोरोना भाइरस लागेका व्यक्तिलाई उपचार गर्ने छुट्टै अस्पतालको व्यवस्था गरिएको छ ।
काठमाडाँैँमा अस्पतालको व्यवस्था गरिएको छ । नेपालमा हालसम्म जम्मा एक जनामा मात्र कोरोना भाइरस रहेको पुष्टि भएको छ र अहिले ठीक भइसकेको छ । यो रोगका कारण कसैको ज्यान गएको छैन । भाइरस सङ्क्रमित व्यक्तिको वरिपरिको कुनै पनि व्यक्तिलाई सरेको छैन । कुनै पनि लक्षण देखिएको छैन । नेपालमा कोरोना भाइरस छ भन्न सक्ने अवस्था छैन तर अहिले कहीँ लुकेर बसेको हुन पनि सक्ने हुनाले कोरोना भाइरस लाग्न नदिन निगरानी भने बढाउनुपर्छ । अधिकारीका अनुसार मन्त्रालयले यसको निगरानी बढाइरहेको छ । सबै अस्पताललाई समेत कुनै शङ्कास्पद बिरामी छ भने तुरुन्त मन्त्रालयलाई जानकारी गराउनु भन्ने निर्देशन दिइएको छ ।
मृत्यु हुनेको सङ्ख्या दुई सयभन्दा बढी
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २१३ पुगिसकेको छ । नौ हजार मानिस सङ्क्रमित भएका छन् । इटालीमा पनि कोरोना भाइरसको पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमण हुने देशको सङ्ख्या २४ पुगेको हो । कोरोना भाइरसको प्रकोपको उद्गमविन्दु रहेको वुहान चीनको आधुनिक र व्यवस्थित सहर हो । त्यो सहरमा बाहिर जान र बाहिरबाट त्यस सहरको प्रवेशमा रोक लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा धेरै वुहानमा रहेको र उहान भ्रमण गरेर अन्यत्र गएकामा देखिएको छ । भाइरसबाट अति प्रभावित प्रान्तमा थप स्वास्थ्यकर्मी पठाइएको छ ।

चीनमा रहेका नेपालीको अवस्था ठीक छ : प्रवक्ता श्रेष्ठ
चीनमा रहेका नेपालीको अवस्था ठीक छ । हामी नियमित सम्पर्कमा छौँ प्रवक्ता श्रेष्ठले राजदूतावास र चारवटा महावाणिज्य दूतावास मार्फत सूचना लिइरहेका छौँ भन्नुभयो । राजदूत मार्फत हरेक दिन त्यहाँ भएका नेपालीको अवस्थाबारे रिपोर्ट आइरहेको छ । उहान नजिकका सहरमा १७७ नेपाली विद्यार्थी रहेका छन् । अमेरिका, जापान, अस्ट्रेलियाले विद्यार्थी लगिसकेको छ भने भारतले पनि लैजाने तयारी गरिरहेको छ । हामीलाई पनि दूतावास मार्फत नेपालले पनि विद्यार्थी लाँदा हुन्छ भन्ने छ तर यो विषय मन्त्रालयको भन्दा पनि नेपाल सरकारको हो । स्वास्थ्य मन्त्रालयले नेपाल आइसकेपछि स्वास्थ्य सम्बन्धी सहजीकरण गर्ने काम हो, हामी तयार छौँ । अहिले त्यहाँका विद्यार्थीलाई हेर्ने जिम्मा दूतावासको रहेको छ । नेपाल सरकारले जुन निर्णय गर्छ त्यही स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?