logo
२०८१ बैशाख १३ बिहीवार



विमानस्थल निर्माणमा तीव्रता

अर्थ |


विमानस्थल निर्माणमा तीव्रता



चन्द्रप्रकाश शर्मा

पोखरा, माघ १५ गते । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विमानस्थल तोकिएको समयभन्दा छ महिनाअगावै सम्पन्न गर्ने गरी दु्रत गतिमा काम भइरहेको छ ।
हालसम्म उक्त विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन–वे निर्माण सम्पन्न भइसकेको, विमानस्थलसम्म पुग्ने सडक निर्माण र अन्य टर्मिनल भवनलगायत ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको प्रमुख विनेश मुनकर्मीले बताउनुभयो । विमानस्थलमा चिनियाँ तथा नेपाली कामदारले काम गरिरहेका छन् ।
विमानस्थलमा रन–वे निर्माणको काम सकिएपछि अहिले टर्मिनल भवन, यात्रुका लागि जहाज चढ्ने र ओर्लेन स्थान, ट्याक्सी पार्किङ, वरिपरि नाला निर्माण, ह्याङ्गर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।
विमानस्थल निर्माण छिटो सक्ने नाममा त्यसको गुणस्तरमा कुनै कम्प्रमाइज नहुने निर्माण कम्पनीले जनाएको छ । मासिक चार लाख ६८ हजार यात्रु क्षमताको टर्मिनल भवन निर्माण हुने उक्त विमानस्थलको कुल १४ हजार स्क्वायर मिटरको टर्मिनल भवनमध्ये आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि छुट्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सो सरहका विमानले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुटको समस्या भएकाले विमानस्थल निर्माणपछि कुन रुटबाट विमान आउजाउ गर्ने भन्ने अन्योल भए पनि त्यसबारे निर्णय हुने प्राधिकरणले जनाएको छ ।
केही समयअगाडि निरीक्षणका लागि आउनुभएका पर्यटनमन्त्री योगेश भट्टराईले हवाई रुटका बारेमा भारतसँग भइरहेको कुरा सकारात्मक रहेकाले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटका बारेमा सम्झौता गरिने बताउनुभयो ।
झन्डै २२ अर्ब रुपियाँ चिनियाँ ऋण सहयोगमा निर्माण हुन लागेको यो विमानस्थल अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने १६० सिट क्षमताका ‘फोरडी’ विमान अवतरण गर्न सक्ने गरी काम भइरहेको बताइएको छ । सन् २०२१ जुलाइ १० भित्र सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सीएमसीसँग सम्झौता गरिएकोमा सन् २०२० डिसेम्बरमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको पोखरा विमानस्थल आयोजनाका प्रमुख मुनकर्मीले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको विमानस्थल समयभन्दा अगावै सकिँदा नेपालमा विकासको काम ढिलो हुन्छ भन्ने सोचाइमा परिवर्तन हुने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो । सन् २०१७ नोभेम्बरदेखि निर्माण सुरु भएदेखि निरन्तर सरकारका प्रतिनिधि, उच्च पदस्थ व्यक्तिहरूबाट नियमित अवलोकन तथा निरीक्षण भइरहेकाले काममा सहज भएको निर्माणमा आबद्ध कर्मचारी बताउँछन् ।
अधिकांश निजी जग्गा अधिग्रहण गरेर निर्माण गरिएको विमानस्थलले पटकपटक जग्गा अधिग्रहण गर्दै आएको थियो । यसअगाडि जग्गा अधिग्रहण गरे पनि पुनः ९० रोपनी जग्गा अधिग्रहण गर्ने तयारी गरिरहेको छ ।


गौतमबुद्धमा नब्बे प्रतिशत उपकरण जडान

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडानको काम करिब ९० प्रतिशत सकिएको छ । केही उपकरण आउन बाँकी रहेको र ती आइसकेपछि जडानको काम सकिने विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।
समग्रमा ८६ प्रतिशत काम सकिएको छ, ठेकेदार कम्पनीले रकम भुक्तानीमा ढिलाइ गर्दा सबै उपकरण आउन समय लागेको हो तर अब केही उपकरण मात्र आउन बाँकी रहेकाले डेढ–दुई महिनाभित्रै सबै काम सकिसक्छौँ, आयोजना प्रमुख प्रवेश अधिकारीले भन्नुभयो ।
संरचनाका काम लगभग पूरा भएको उहाँले जानकारी दिनुभयो । आयोजना प्रमुख अधिकारीका अनुसार फिनिसिङमा ग्रेनाइड लगाउने काम भइरहेको छ । अहिले अन्तिमपटक तीन महिना ठेकेदार कम्पनीको म्याद थप गरिएकाले अब म्याद थप्न नपर्ने उहाँले बताउनुभयो । चिनियाँ निर्माण कम्पनी नर्थ बेस्ट सिभिल एभिएसन कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ ।
कार पार्किङको फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको छ । डिसेम्बर २०१७ सम्म २७ प्रतिशतको निर्माण प्रगति रहेको यो आयोजनामा पछि सन् २०१९ जुन २८ देखि दोस्रो म्याद थप गरिएको थियो । त्यसपछि सन् २०१९ डिसेम्बर ३० सम्म तेस्रो म्याद थप गरिएको थियो । अहिले २०२० मार्च सम्मका लागि म्याद थप गरिएको छ । सम्भवतः यो अन्तिम म्याद हो, मार्चसम्म विमानस्थल निर्माण सकिन्छ, अधिकारीले भन्नुभयो ।
अहिले सिभिलतर्फ मुख्य भौतिक संरचना करिब ९६ प्रतिशत पूरा भएको छ । अहिले संरचना बनिसकेपछिको फिनिसिङका काम भइरहेको अधिकारीले बताउनुभयो, टर्मिनल बिल्डिङभित्रको नआएका उपकरण भनेको ब्यागेज ह्यान्डलिङ सिस्टम मात्रै हो । अरू आवश्यक उपकरण पनि प्रायः आइसकेका छन्, उहाँले भन्नुभयो । धावनमार्ग, ट्याक्सी–वे र एप्रोनको सिभिलतर्फका काम सकिएका छन् । अब विद्युतीय काम बाँकी छ । यसमा पनि केबुल र प्रसारण लाइनलगायतको काम भइसकेको छ । लाइट फिक्सर्सको कामका लागि प्राविधिक टोली चीन गइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
उपकरण खरिदका लागि दुई अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । चिनियाँ कम्पनीलाई छ अर्ब ८२ करोड रुपियाँमा यो आयोजना ठेक्का दिइएको हो । विमानस्थल निर्माणका लागि कुल आठ सय १० किघामध्ये करिब पाँच सय बिघा जग्गा अधिग्रहण गरिएको छ ।
विमानस्थल तयार भइसकेपछि बल्ल उडानका लागि प्रक्रिया सुरु हुने नागरिक उड्डयन प्राधिकरणका निर्देशक एवं सञ्चालन तयारी समितिका संयोजक प्रतापबाबु तिवारीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?