logo
२०८१ बैशाख ५ बुधवार



भन्सारका ९१ प्रतिशत काम अनलाइनमै हुन्छन्

अर्थ |


भन्सारका ९१ प्रतिशत काम अनलाइनमै हुन्छन्


गत आर्थिक वर्षमात्रै नेपालले १५ खर्ब १५ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार ग¥यो । विगत वर्षको तुलनात्मक व्यापार हेर्दा यसको आकार निरन्तर बढ्दो छ । अन्तर्राष्ट्रिय व्यापारका लागि हुने निकासी र पैठारीमा मुख्य भूमिका हुन्छ, भन्सारको । माल वस्तुको यकिन जाँचपास गरेर नेपाल प्रवेश दिने र निकासीका लागि सहजीकरण गर्ने सरकारी निकाय पनि हो यो । पछिल्लो समय आफ्ना अधिकांश काम अनलाइनमा आबद्ध गराएको भन्सार विभागले आइतबार ६८औँ भन्सार दिवस मनाउँदैछ । दिवसकै सन्दर्भमा भन्सार प्रणालीमा भएका सुधार, समस्या र भविष्यका योजनाका सन्दर्भमा महानिर्देशक सुमन दाहालसँग गोरखापत्रका विश्वास रेग्मीले गर्नुभएको कुराकानीः


६८औँ भन्सार दिवस मनाइरहँदा नेपालको भन्सार प्रणालीमा देखिने गरी भएका पछिल्ला सुधार के हुन् ?

अझै पनि मान्छेमा भन्सार भनेको पुरानो अदालत जस्तो हो कि भन्ने सोच पाइन्छ तर नेपालका कुनै पनि सरकारी कार्यालयमध्ये भन्सारमात्र यस्तो कार्यालय हो जो सबैभन्दा ‘हाइटेक’ छ तर सबैले यो कुरा बुझ्न सकेको अवस्था छैन । कतिपय सन्दर्भमा बुझाउन नसकिएको पनि होला ।
भन्सार विभाग अहिले पाँचौँ बहुवर्षीय योजना कार्यान्वयनको क्रममा छ जुन चार वर्षको हुन्छ । मतलब अहिले हामी आवधिक योजनाको बीसौँ वर्षतर्फ छौँ । यति लामो समय आवधिक योजना कार्यान्वयनको अवस्थामा कुनै पनि विभाग छैन । त्यो योजनाभित्र रहेर भन्सार विभागले तेस्रो पुस्ताको प्रविधि उपयोग गरिरहेको छ । आसिकुडा, आसिकुडा प्लस प्लस र आसिकुडा वल्र्ड । आसिकुडा वल्र्डलाई बुझ्नुपर्दा यो आइफोनको नयाँ मोडल इलेभेन प्रो जस्तो हो । यसभित्र के के विशेषता छन् भन्ने विषय यसको प्रयोगबाट मात्र थाहा हुन्छ । फेरि भन्सार भन्ने विषय सबैले बुझ्नुपर्छ भन्ने चाहिँ हुँदैन । यसका मुख्य प्रयोगकर्ता निकासी पैठारीकर्ता नै हुन्, उनीहरूले बुझेका छन् ।
भन्सार प्रणालीमा अहिले करमाजस्तै स्वयं घोषणा प्रणाली लागू भएको छ । जसले सामान ल्याउँछ अथवा लैजाने हो उसले सामानको विवरणसहित लाने लैजाने दुवै विवरण अनलाइनमा उल्लेख गर्न सक्छ । त्यो काम घरबाटै गर्न सकिन्छ । यस हिसाबले अब भन्सार घरमै छ । त्यसपछि प्रज्ञापनपत्र भन्सारको कुन कर्मचारीले जाँच गर्छ भन्ने अब पत्ता लाग्न सक्दैन । अटोमेटिक प्रणालीको आधारमा कर्मचारीलाई प्रज्ञापनपत्र जान्छ । मलाई त्यही कर्मचारीलाई नै प्रज्ञापनपत्र पारिदनु भनेर अब हुँदैन ।
भन्सार प्रशासनले अहिले वार्षिक १० लाख जति प्रज्ञापनपत्र व्यवस्थापन गर्छ । त्यसमध्ये पाँच लाख जति भन्सारले नछोई पास हुन्छन । यो हरियो र पहेँलो च्यानलबाट पास हुन्छ । भन्सारमा यसबाहेक रातो च्यानल पनि हुन्छ । हरियोमा गाडी नै नरोकिई खुरुखुरु जान्छ । पहेँलोमा पनि गाडी रोकिँदैन त्यसको कागजात मात्र हेरिन्छ तर रातोमा माल वस्तुको चेकजाँच हुन्छ । भन्सारमार्फत आउने आधा माल वस्तु त्यही हरियो र पहेँलो च्यानल हुँदै आउने भएकाले त्यो हेरिँदैन । जति रातोको मात्र घट्दै जान्छ, भन्सारको कार्यबोझ घट्छ, कार्यक्षमता भने बढ्छ । त्यसकारण अहिले हामीले त्यस्तो घटाउने प्रयत्न गरिरहेका छौँ ।

कसरी घटाउँदै छौँ ?

यो भनेको विश्वासका आधारमा घट्ने हो । हाम्रो जोखिम व्यवस्थापन प्रणाली छ । यो प्रणालीअन्तर्गत हामीले तय गरेका सूचकका आधारमा ‘रिस्क इन्जिन’ बनाएका छौँ । यसमा लाखौँ वस्तुको प्रोफाइल हुन्छ । त्यसलाई आसिकुडा प्रणालीमा राखिएको छ । कसैले कुनै कागज अथवा मोबाइल ल्यायो भने त्यही प्रणालीले आफैँ त्यसको जोखिम पत्ता लगाउन सक्छ । व्यक्तिले त्यसलाई छुन पनि सक्दैन । त्यस्ता परिसूचक परिवर्तन गर्ने काम मैले नै गर्छु । कार्यालयमा अरूलाई पनि त्यसबारे जानकारी हुँदैन । कुनै पनि कार्यालयले मैले रातोमा हाल्छु अथवा पहेँलोमा हाल्छु भनेर हुँदैन । १५÷१५ दिनमा त्यो परिवर्तन हुन्छ, जुन मैले गर्छु । यसलाई ‘सेन्ट्रलाइज रिस्क म्यानेजमेन्ट सिष्टम’ भनिन्छ ।
जति वैध व्यापार बढ्दै जान्छ, त्यति नै रातोको मात्रा घट्दै जान्छ । त्यहीभएर हामीले तपाईं जति विश्वासीलो काम गर्नुहुन्छ त्यसका लागि प्रमाणपत्र दिन्छौँ भनेका छौँ । जसलाई ‘ट्रस्टेड टे«डर्स’ भन्छौँ तर नेपालमा लामो समय विश्वास आर्जन गरेको व्यापारी पनि बीचमा फ्याट्ट नक्कली बिलजस्ता घटनामा जोडिने उदाहरण पनि देखिएका छन् । अनि हरियो च्यानलबाट पठाइरहेको माल वस्तु रातो च्यानलमा सिफ्ट हुन्छन् ।

व्यापार सहजीकरणका नाममा धेरै मिहिनेत र लगानी पनि भइसकेको छ तर सेवा प्रदायक भने त्यसको अनुभव गर्न नपाएको गुनासो गर्छन् नि ?

भन्सारको काम सहजीकरणसहित नियन्त्रण÷नियमन पनि हो । अवैध व्यापार नियन्त्रण गर्ने काम पनि भन्सारकै हो । जसले यहाँको व्यापारलाई असर पु¥याउँछ, त्यस्तोमा त नियन्त्रण आवश्यक पर्छ । सहजीकरण भनेको वैध व्यापारलाई गर्ने हो । अहिले यहाँ भनेको अवैध व्यापारलाई पनि सहजीकरण गरिदिनु प¥यो भन्ने छ । सर यति त छोड्दिनुप¥यो नि भन्छन् तर हामीले प्रस्ट भनेका छौँ, नेपालमा बाहिर खेर गएका वस्तु आउन पाउँदैनन्, पुराना गाडी आउन पाउँदैनन् । त्यो त कानुनले नै स्पष्ट उल्लेख गरेको कुरा हो । उहाँहरू कानुनले नमिल्ने कुरामा पनि सहजीकरण खोज्नुहुन्छ भने त त्यो मिल्दैन ।

व्यापारी स्वयंमै पनि समस्या हो कि ? अथवा उनीहरूले पनि बदल्नुपर्ने आचरण के छन् ?

सबैभन्दा पहिला त विषयवस्तुको ज्ञान हो । व्यापारीले भन्सारसम्बन्धी ज्ञान राख्नैपर्छ । उनीहरूले एजेन्टलाई जिम्मा लगाउँछन् । अनि एजेन्टले जे भन्छन् व्यापारी त्यही नै गर्छन् । मुख्य कुरा त वैध व्यापार गर्नु प¥यो । एजेन्टले भन्सारले मानेन भनेर व्यापारीलाई भन्छ अनि व्यापारीको फोन मलाई आउँछ । जबकी उनीहरूले भन्सारको कर्मचारीलाई भेटेका समेत हुँदैनन् । त्यसैले भन्सारको समग्र संरचना, यसको काम गर्ने तरिकाबारे व्यापारी स्वयंले पनि ज्ञान राख्न आवश्यक छ ।

चोरी पैठारीले व्यापारमा समस्या भयो भन्ने गुनासो पनि व्यापारीको उत्तिकै छ । यसको नियन्त्रणमा नयाँ थप केही प्रयास हुँदैछ ?

खुला सीमा भएका कारण भन्सार बिन्दुभन्दा अन्यत्रबाट नेपालमा सामान चोरी पैठारीको समस्या छ तर यसको नियन्त्रणका लागि अब सीमामा सशस्त्र प्रहरी बलको छुट्टै बोर्डर आउटर पोस्ट (बीओपी) खडा गर्ने नीति बनेको छ । कम्तीमा ५० ओटा त्यस्ता बीओपी गठन हुनेछन् । त्यसको काम भनेको सीमामा चोरी पैठारी हुने सामानलाई भन्सारमार्फत नै लैजान लगाउने हो । त्यसका लागि आवश्यक सबै उपकरण
पनि हामी दिँदैछौँ ।

भन्सार मूल्याङ्कनमा सेवाग्राही र भन्सार प्रशासनबीच अझै पनि विवादका कुरा र समस्या बाहिर आइरहन्छन् । यो अन्त्य हुनै नसक्ने हो ?

भन्सारमा जहिले पनि मूल्याङ्कन र वस्तु वर्गीकरणको विषय उठिरहन्छ । मूल्याङ्कन भन्नाले वस्तुको कति मूल्य तय गर्ने र त्यसका आधारमा भन्सार महसुल निर्धारण गर्ने । पैठारीकर्ता त्यसको मूल्य सकेसम्म कम राख्न खोज्छन्, त्यसमा सही मूल्य राखेर आउनु भनेर हामी भन्छौँ । भन्सार ऐनमा पनि कारोबार मूल्यमा आधारित रहेर भन्सार महसुल निर्धारण गर्नुपर्छ भन्ने छ । स्वयं घोषणाको आधारमा व्यापारीले उल्लेख गरेको कारोबार मूल्यलाई नै हामीले आधार मान्छौँ । करिब ९५ प्रतिशतसम्म यसरी नै जाँचपाँस गर्छौं । शत प्रतिशत त अन्य देशमा पनि हुँदैन ।
कुनै पनि माल वस्तुको सही मूल्य कति हो भन्ने कसैले पनि भन्न सक्दैन । आयातकर्ताले जति उल्लेख गरेको छ त्यही नै मानिन्छ । वास्तविक मूल्य उसलेबाहेक अरूले भन्न सक्दैन । यो त्यसैले विश्वभर नै विवाद भइरहने विषय नै हो । माल वस्तुको मूल्य सही घोषणा भएन भन्ने शङ्का लाग्यो भने भन्सार अधिकृतले त्यसको प्रमाण माग्न सक्छ । त्यसबाट पनि चित्त बुझेन भने भन्सार कार्यालयले त्यही वस्तु पहिले कतिमा आएको थियो अथवा उस्तै प्रकृतिका वस्तु कतिमा आएको थियो भनेर मूल्याङ्कन गर्नसक्छ । त्यस्तो मूल्याङ्कनमा पनि चित्त बुझेन भने पुनरावेदन जान सक्ने अधिकार उद्यमी व्यापारीलाई छ । त्यसका लागि हामीसँग छुट्टै निकाय पनि छ ।

भन्सार कार्यालय बढी राजस्वमुखी भए भन्ने आरोप छ नि ?

परापूर्वकालमा भन्सारले राजस्व सङ्कलनको उद्देश्य राखेर नै काम गथ्र्यो । अहिले यसको उद्देश्य नै फेरिएको छ र यो तेस्रो÷चौथोमा पुगेको छ । भन्सारको मुख्य काम व्यापार सहजीकरण हो । व्यापारमा लाग्ने लागत र खर्च घटाउन नै हामीले काम गर्छौं । अर्कोतिर मुलुक चलाउन राजस्व पनि चाहिन्छ । राजस्वका लागि भन्सार आधार स्तम्भ पनि हो ।

भन्सारसँग जोडिएर आउने समस्या समाधान र भविष्यमा यसको कार्यप्रणालीमा आउन सक्ने कस्ता सुधारको अपेक्षा गर्न सकिन्छ ?

भन्सार डिजिटलाइजेसन भइसकेको छ । अहिले नै करिब ९०–९५ प्रतिशत व्यापार डिजिटल प्रविधिमा आबद्ध भइसकेको छ । यहाँ ‘क्यासलेस’ कारोबार हुन्छ । भन्सारमा कुनै पनि व्यक्तिले नगद बोकेर आएर जाँचपास गरिरहनु पर्दैन । दोस्रोचाहिँ ‘पेपरलेस’ बनाउने योजना हो । अहिलेचाहिँ ‘लेस पेपर’ हो तर हामी दुई वर्षपछि ‘पेपरलेस’ हुन्छौँ । त्यसका लागि ‘नेपाल नेसनल सिङ्गल विन्डो’ भन्ने पोर्टल निर्माण गरिरहेका छौँ । त्यसमा पहिलो चरणमा २१ ओटा सरकारी कार्यालयलाई आबद्ध गर्दैछौँ ।
एउटै लगइनबाट सूचना आदानप्रदान गर्न सकिने सुविधा यसमा हुन्छ । यसमा ‘मिराकल’ नै हुँदैछ । अर्को ‘एड्भान्स रुलिङ’ छ । यो भनेको आयातकर्ताले कुनै पनि माल वस्तु आयात गर्दा त्यो प्रतिबन्धित छ वा छैन भनेर आफूलाई जान्न मन भएको विवरण प्राप्त गर्न विभागलाई आवेदन दिन सक्छ । हामीले त्यसको आधारमा व्यापारीलाई पूर्वादेश गर्छौं । यो भएपछि उसको सामान पनि रोकिँदैन । यो निकट भविष्यमै कार्यान्वयन हुँदैछ ।
सबैभन्सार कार्यालयमा आईपी क्यामेरा जडान गरेर प्रत्यक्ष निगरानी हामीले यहीँबाट गरिरहेका छौँ । जोखिममा आधारित जाँचपास गरिरहेका छौँ । मोबाइल एप्सबाटै जाँचपासको काम गर्नेदेखि के के सामान आउँदैछ भन्ने जानकारी अग्रिम रूपमा दिने काम पनि छिटै गर्दैछौँ ।
अर्को भनेको टाइम रिलिज स्टडी(टीआरएस) हो । भन्सारभित्र सामान आइसकेपछि कति समयपछि जाँचपास हुन्छ भन्ने जान्नका लागि अध्ययन गर्दै छौँ । यस्तो काम भैरहवामा गरिसकेका छौँ र वीरगञ्जमा गर्दैछौँ । प्रारम्भिक अध्ययनले निकासीमा एक घन्टा पनि लागेको देखिँदैन । पैठारीमा तीनदेखि चारघन्टा लागेको छैन । आज आएका एक सय ट्रकमध्ये ८५ ओटा आजै छुट्छन् । बाँकी क्वारेन्टाइनलगायत अन्य कारणले १८ घन्टाभित्र छुट्छन् । भन्सार बिन्दुबाहेक अन्य धेरै निकाय पनि हुने भएकाले भन्सारले काम नगरे जस्तो देखिए पनि वास्तवमा त्यो हैन । भन्सार कार्यक्षमताको हिसाबले सबैभन्दा अब्बल निकाय बन्दैछ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?