logo
२०८० चैत्र १५ बिहीवार



दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून


सियोल, माघ ८ गते । दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको केन्द्रीय बैंकले बुधबार जनाएको छ ।
विश्वकै १२ औं ठूलो अर्थतन्त्र रहेको कोरियामा सन् २०१९ मा २.० प्रतिशतले आर्थिक वृद्धि भएको छ, जुन अघिल्लो वर्ष २.७ प्रतिशतभन्दा कम हो । सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटपछि यो सबैभन्दा खराब अवस्था हो ।

खस्कदो आर्थिक वृद्धि नै अहिले दक्षिण कोरियाका लागि प्रमुख चुनौती हो । कोरियाले दशकौंसम्म आर्थिक विकासमा चमत्कार नै गरेको थियो तर पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न सङ्घर्ष गर्नु परेको छ भने असमानताका कारण निराशा चुलिँदै गएको छ । राष्ट्रपति मून जाए–इनले सार्वजनिक खर्च बढाउने र “आय–उन्मुख बृद्धि” को विवादास्पद आर्थिक नीति अघि बढाएको भन्दै कोरियामा आलोचना हुन थालेको छ । यस नीतिका कारण तीन वर्षको अवधिमा न्यूनतम ज्यालामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । विपक्षीहरूले सरकारी नीतिहरुले रोजगार लागत बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने भन्दै आलोचना गरिरहेका छन् ।

कोरियाको केन्द्रीय “बैंक अफ कोरिया”ले जारी गरेको विज्ञप्तिमा सेमिकन्डक्टरको मूल्यमा आएको कमीजस्ता कारणले व्यापार–निर्भर अर्थतन्त्र सुस्त भएको जनाइएको छ । “सरकारी खपतको बृद्धि भएपनि निर्माण क्षेत्रमा लगानी खुम्चिएको छ र निर्यातको बृद्धि सङ्कुचित भएको छ,” विज्ञप्तिमा उल्लेख छ । चीन–अमेरिका व्यापारमा देखिएको तनाबले सिर्जना गरेको दबाबकै अवस्थामा विदेशतर्फको सिपिङमा १।५ प्रतिशतले वृद्धि भएको छ जबकी अघिल्लो वर्ष यो ३।५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१५ यता यो सबैभन्दा झिनो वृद्धि हो । आयातमा ०।६ प्रतिशतले गिरावट आएको छ ।

आगामी अप्रिलमा हुने संसदीय चुनावअगाडि पहिलो त्रैमासिकमा मून–प्रशासनले सार्वजनिक खर्चमा ९।१ प्रतिशत वृद्धि गर्ने तथा पूर्वाधार बजेटको करिब ३० प्रतिशत खर्च गर्ने योजना अघि सारेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?