logo
२०८० चैत्र १५ बिहीवार



सडक पुगेपछि गाउँ भयो सुन्तलामय

अर्थ |


सडक पुगेपछि गाउँ भयो सुन्तलामय



उदयपुर समाचारदाता

उदयपुर, पुस २९ गते । उदयपुरको रौतामाई गाउँपालिका निगाले गाउँका कृषक पछिल्ला दिनमा सुन्ताला खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हात पार्न थालेका कारण कृषक त्यसतर्फ आकर्षित बनेका हुन् ।
पुर्खाले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई÷चार बोट सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको कृषक जीवन राईले बताउनुभयो । कृषक राईका अनुसार अचेल पुरानो बोटबाट आम्दानी लिने र अन्य बिरुवा लगाउने क्रम बढ्दो छ । एकैघरमा ५०० भन्दा बढी सुन्तलाको बिरुवा व्यवस्थित तरिकाले खेतीयोग्य जमिनमा लगाइँदै आएको उहाँले बताउनुभयो । गाउँमा यातायात पुगेसँगै बजारमा एकैपटकमा धेरै सुन्तला बजारसम्म पु¥याउन सकिने भएको हुँदा सुन्तलाको राम्रो मूल्य कृषकले पाएका छन् । एकमुष्ट पैसा लिन सकिने र राम्रो आम्दानीबाट घरको धेरै समस्या हल गर्न सकिने भएपछि गाउँमा सुन्तालको आकर्षण ह्वात्तै बढेको हो ।
निगालेबाट लाखौँ मूल्य बराबरको सुन्तला अहिले गाईघाट बजारमा पुग्ने गरेको छ । सुन्तला कृषक रामकुमार राईका अनुसार यहाँका प्रत्येक किसानले वार्षिक रूपमा पाँचदेखि छ लाखसम्म सुन्तला बिक्री हुन थालेपछि सुन्तलाको खेतीमा गाउँभरिका सबै बासिन्दा लागिपरेका छन् । राईले आफैँले पनि वार्षिक पाँच लाख रुपियाँ सुन्तला बिक्रीबाट आम्दानी गर्नुभएको छ । गाउँमा सुन्तला नै नभएको घरमा पनि अहिले सुन्तलाका बोट रोप्ने क्रम बढेको छ भने सुन्तला बारी हुनेले झनै थप गरेर बारी नै भरिभराउ गर्न थालेको अर्का कृषक सविन राईले बताउनुभयो । एकपटक लगाएको सुन्तालाले जीवनभरि आम्दानी दिने तर वर्षैंपिच्छे लगाएको बालीले खानै नपुग्ने कुरा कृषकले अनुभव गरेसँगै सुन्तलामा आकर्षण बढेको उहाँले बताउनुभयो ।
वर्षभरि लगाएको बालीनालीले तीन महिना खान नपुग्ने ठाउँमा थोरै मिहिनेत र हेरचार गरेको सुन्तलाले वर्षभन्दा बढी खान पुग्ने युवा कृषक गणेश राईले बताउनुभयो । वर्षभरिको खेतीपातीले तीन महिना पुग्दैन तर एउटा सुन्तलाको बोटबाट १० हजारसम्म कमाउन सकिन्छ, उहाँले भन्नुभयो, सुन्तला खेतीबाट सहजै जीविकोपार्जन गर्न सकेका छौँ । यसपटक मात्रै दुई लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो ।
कुनै समय सुन्तलामा लाग्ने कीरा, सुन्तलामा पलाउने ऐँजेरु, फल झर्ने समस्या, फूल झर्ने समस्या र विभिन्न रोगका कारण बिरुवा काट्नुपर्ने समस्याले भने आफूहरू निकै चिन्तित रहेको पनि राईले बताउनुभयो । गाउँ नै सुन्तलाको बगैँचामा परिणत भइसकेको अवस्था छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?