logo
२०८१ बैशाख १२ बुधवार



विद्युत् आयोजनाको प्रगति दर उच्च

अर्थ |


विद्युत् आयोजनाको प्रगति दर उच्च


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजनामा वित्तीय प्रगति १०१.५२ प्रतिशत र भौतिक प्रगति लक्ष्यको ८६ प्रतिशत गरेको छ । चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनामा १३ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपियाँ खर्च भएको जानकारी दिएको छ ।
प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ठेक्का सम्झौता भएका आयोजनालाई दिइएको अग्रिम भुक्तानी र बहुवर्षीय ठेक्काका आयोजनाको गत सालको बाँकी भुक्तानीले गर्दा वित्तीय प्रगति बढी भएको बताउनुभयो ।
घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहणलगायतमा देखिएका समस्या समाधानमा सबै क्षेत्रबाट सहयोग भएकाले आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्नेसमेत दाबी गर्नुभयो । प्राधिकरणले चालू आवमा सरकारी स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपियाँ बजेट पाएको छ । सरकारको स्रोतबाट दिइने रकम कम र वैदेशिक सहायताबाट प्राप्त रकमको हिस्सा बढी हुँदा बजेट कार्यान्वयनमा भने जटिलता देखिएको घिसिङले बताउनुभयो ।
विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालू आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् थप उत्पादन सुरु भएको छ ।
यसैगरी, रुग्ण बनेको काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि यही अवधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । उत्पादनतर्फ समीक्षा अवधिमा चार अर्ब ४२ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा तीन अर्ब ३३ करोड रुपियाँ खर्च भएको छ । जुन लक्ष्यको तुलनामा खर्च र भौतिक प्रगति क्रमशः ७५.४६ र ७६.६३ प्रतिशत हो । यस अवधिमा प्राधिकरण र निजी क्षेत्रका छ आयोजनाको ७३.५ गरी १४७.५ मेगावाट विद्युत् प्रणालीमा थप भएको छ ।
समीक्षा अवधिमा प्रसारण लाइनतर्फ छ आयोजनाको एक सय ९३ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भएको छ । यस अवधिमा सातवटा नयाँ सबस्टेसन निर्माण भएको बताइएको छ । आठवटाको स्तरोन्नति गरिएको छ । विद्युत् प्रसारण र वितरण लाइनतर्फ क्रमश ः सात अर्ब ८० करोड र एक अर्ब ९१ करोड विनियोजन गरिएकोमा पहिलो चौमासिकमा क्रमशः तीन अर्ब ४६ करोड र चार अर्ब ८३ करोड रुपियाँ खर्च भएको छ । प्रसारण लाइनतर्फको खर्च र भौतिक प्रतिशत क्रमशः ४४.७४ र ५३ रहेको जनाइएको छ । वितरण लाइनतर्फको खर्च र भौतिक प्रगति क्रमशः २५३.५८ र २५४.७० प्रतिशत छ । प्रसारणतर्फ ४००, २२० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन छन् ।
जलविद्युत् आयोजनाको अध्ययनका लागि ४३ करोड २२ लाख विनियोजन भएकोमा २१ करोड ३७ लाख रुपियाँ खर्च भएको जनाइएको छ । यसको वित्तीय खर्च र भौतिक प्रगति क्रमशः ४९.४३ र ५५.९२ प्रतिशत रहेको छ । प्राधिकरणले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, दूधकोसी, माथिल्लो मोदी ए, तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ ।
सहायक कम्पनीमार्फत ४५६ मेगावाटको राष्ट्रिय गौरव माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । माथिल्लो तामाकोसीले यस अवधिमा दुई अर्ब ४६ करोड बजेट खर्च गर्ने लक्ष्य तय गरेकोमा एक अर्ब ७६ करोड रुपियाँ खर्च गरेको छ । आयोजनाको यस अवधिको खर्च र सुरुबाटको भौतिक प्रगति प्रतिशत क्रमशः ७१.२५ र ९९.३० रहेको जनाइएको छ ।
तनहुँ जलविद्युत् आयोजनाले समीक्षा अवधिमा ६५ करोड ७५ लाख खर्च गर्ने लक्ष्य राखेकोमा ४२ करोड ८० लाख रुपियाँ खर्च भएको छ । आयोजनाको यस अवधिको वित्तीय र सुरुदेखिको भौतिक क्रमशः ६५.१० र १९.२० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?