logo
२०८१ बैशाख ७ शुक्रवार



अब गाउँबस्तीमै विकास योजना सम्झौता

प्रदेश |




राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, मङ्सिर २२ गते । यहाँका केही गाउँपालिकाले नयाँ तरिकाले विकास योजना सम्झौता शुरुआत गरेका छन् । यसक्रममा तेमाल गाउँपालिकाले अघिल्ला वर्षभन्दा फरक ढङ्गले गाउँमै पुगी स्थानीय उपभोक्तासँग विकासका योजना सम्झौताको अभियान शुरु गरेको छ ।

काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहभन्दा फरक गतिविधिका साथ गाउँपालिकाले स्थानीयवासीका योजनासँग उनीहरुसँगै छलफल गरी गाउँबस्तीमै उपभोक्ता समितिसँग विकासका योजना सम्झौता शुरु गरेको हो ।

गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम र बजेटअनुसार गाउँबस्तीमै उपभोक्ता समितिसँग विकासका योजना सम्झौता गर्न शुरु गरेको जानकारी दिनुभयो ।

“स्थानीय जनतालाई सहज तथा विकास निर्माणका काममा पारदर्शिता होस् भन्ने उद्देश्यले गाउँबस्तीमै ‘घरदैलो’ योजना सम्झौता गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसले विकासका काम चुस्तदुरुस्त बन्ने र जिम्मेवारीपूर्ण ढङ्गले अघि बढ्ने अपेक्षा गरेका छौँ ।”

यसअघि स्थानीय उपाध्यक्षको समन्वय तथा वडाध्यक्षको सहजीकरणमा गाउँपालिकाको कार्यालय नारायणस्थानमा योजना सम्झौता गरिँदै आइएको थियो । गाउँबस्तीमै ‘घरदैलो’ योजना सम्झौता अभियानअन्तर्गत गत हप्ता वडा नं ६ को ठूलो पर्सेलबाट योजना कार्यान्वयनका लागि योजना सम्झौतासँगै अभिमुखीकरण कार्यक्रम थालिएको हो ।

स्थानीय रामबहादुर तामाङ उपभोक्ता समितिका पदाधिकारी पालिकामै धाउनुपर्ने बाध्यता हट्ने तथा विकास निर्माणका कामलाई पारदर्शी र जवाफदेही बनाउने विश्वास व्यक्त गर्नुहुन्छ । स्थानीय उपभोक्ताबाट कार्यान्वयन भएका कामलाई फछ्र्यौटमा आउने समस्यालाई स्थानीयस्तरबाटै समाधान गर्न विशेष ध्यान दिइने उपाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस्तो गतिविधिले वडास्तरका जनप्रतिनिधिलाई थप जिम्मेवार भई काम गर्न हौसला मिल्नेछ ।” उहाँका अनुसार अन्य स्थानीय तहभन्दा फरक ढङ्गले योजना सम्झौताको काम गरिएको हो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका रहेका छन् ।

वडाध्यक्ष विकु तामाङले पालिकाको अभियानअनुसार वडामा छलफल गरी छनोट भएका योजनालाई अघि बढाउन उपभोक्ता समितिसँग सम्झौता प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले चालू आवका लागि वडाको २९ र गाउँपालिकाको चार योजनामध्ये पहिलो चरणमा सात योजना सम्झौता गरिएकोसमेत जानकारी दिनुभयो । ती वडामा चालू आवमा अधिकांश खानेपानीका योजना छन् । अन्यमा शिक्षा, स्वास्थ्य, बालबालिका तथा भौतिक संरचना निर्माणका रहेका छन् ।

यस्तै, अभियानकै क्रममा वडा नं १ मा एकै दिन २४ योजना उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । वडाध्यक्ष मानबहादुर श्रेष्ठले भौतिक निर्माणतर्फका सडकदेखि भवनसम्मका योजना सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एकैदिन सम्झौता गरिएका योजनामध्ये सडक, खानेपानी तथा मन्दिर निर्माणलगायत छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?