logo
२०८१ बैशाख ७ शुक्रवार



उद्योगका गेटमा चन्दा नदिने सूचना

अर्थ |


उद्योगका गेटमा चन्दा नदिने सूचना



नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, मङ्सिर १५ गते । नेपालगञ्जस्थित औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीसँग चन्दा र दान मागेर हैरान पारिएपछि उनीहरूले अब उप्रान्त कसैलाई पनि चन्दा र दान नदिने निर्णय गरेर सोही प्रकारको सूचना आ–आफ्ना उद्योगका गेटमा टाँसेका छन् ।
केही समययता विभिन्न राजनीतिक दल, सङ्घ, संस्था र केही भूमिगत सङ्गठनले समेत चन्दा र दान मागेर हैरान पार्न थालेकाले त्यस्तो निणर्य गरेर सूचना नै टाँस्नु परेको उद्योगीहरूले जनाएका छन् ।
चन्दाबाट हैरान भएपछि औद्योगिक क्षेत्रमा चन्दा र दान निषेध गरिएको त्यहाँका उद्योगी, व्यवसायीको सङ्गठन नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास सङ्घ, बाँकेले जनाएको छ । औद्योगिक क्षेत्रभित्रका हरेक उद्योगका गेटमा चन्दा र दान निषेध गरिएको सूचना टाँसिएको सङ्घका अध्यक्ष राजेश मास्केले बताउनुभयो ।
विभिन्न समूहबाट चन्दा र दानका नाममा हैरान पारिएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगी, व्यवसायीको मागबमोजिम सङ्घले चन्दा र दान नदिने निर्णय गरेर सार्वजनिक रूपमै सूचना टाँसिएको उहाँले बताउनुभयो । कुनै पनि व्यक्ति, संस्था वा निकायलाई चन्दा वा कुनै प्रकारको दान नदिने निर्णय भएकाले त्यस्तो चन्दा र आर्थिक सहयोग मागेर आफूलाई ‘सर्मिन्दा’ नपारिदिनु हुन अनुरोधसहितको सूचना औद्योगिक क्षेत्रभित्रका हरेक उद्योगको गेटमा टाँस गरिएको छ । औद्योगिक क्षेत्रमा मात्र नभई जिल्लाका अन्य विभिन्न स्थानमा रहेका उद्योगी र व्यवसायीसँग पनि चन्दा र दान मागेर हैरान पार्ने गरिएको गुनासो पटक–पटक आउने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।
उहाँले औद्योगिक क्षेत्रका उद्योगीले गरेको निर्णय र टाँसिएको सूचना स्वागतयोग्य रहेको भन्दै सबैले त्यस्तै गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपालगञ्जमा स्थापना गरिएको यस क्षेत्रकै ठूलो औद्योगिक क्षेत्रका रूपमा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा २५ अर्ब रुपियाँभन्दा बढी लगानी गरिएको छ । निजी क्षेत्रको २४ अर्ब ५० करोड र सरकारको ९६ करोड गरी सो औद्योगिक क्षेत्रमा २५ अर्ब ४४ लाख रुपियाँ लगानी भएको हो । यस क्षेत्रकै सबैभन्दा ठूला उद्योग सञ्चालन भएको सो औद्योगिक क्षेत्रमा सञ्चालकहरूले लगानी बढाउँदै गएका छन् । हाल औद्योगिक क्षेत्रमा ३० उद्योग चालू अवस्थामा छन् ।
२०३० सालमा स्थापना गरिएको उक्त औद्योगिक क्षेत्रभित्र प्लास्टिक पाइप, विद्युत् केबल, प्लाइउड, तामा, पित्तल, आल्मुनियमका भाँडा, पिउने पानी, खानेपानीका धाराका सामान आदि उद्योग छन् ।
बाँके जिल्लामा केही वर्ष पहिलेसम्म उद्योगी व्यवसायी चन्दा आतङ्कले आक्रान्त थिए । भूमिगत समूहको त्यस्तो आतङ्कका कारण व्यवसाय क्षेत्र त्रसित थियो । अहिले त्यस्तो आतङ्क नभए पनि विभिन्न दल, सङ्घ, संस्था र समूहले व्यवसायीलाई चन्दा मागेर हैरान पार्ने गरेको जनाइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?