logo
२०८१ बैशाख ११ मंगलवार



खुम्चिँदै व्यापार घाटा

अर्थ |


खुम्चिँदै व्यापार घाटा


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा ठूलो समस्या हो व्यापार घाटा । बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटाको ग्राफ नियमित उकालो लाग्नु अन्तर्राष्ट्रिय व्यापारको नियमित प्रवृत्ति जस्तै हो । दशकौँको यो प्रवृत्ति पछिल्लो समय भने बदलिएको छ । व्यापार घाटा त नेपालले बेहोर्नुपरेको छ नै, तर यसको नियमित प्रवृत्ति भने खुम्चिँदै गएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष चार महिनासम्मको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्कअनुसार व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । कात्तिकसम्मको उक्त तथ्याङ्कअनुसार व्यापार घाटा ८.९० प्रतिशतले घटेको छ । अर्थात् अघिल्लो कात्तिकमा चार खर्ब ५४ अर्ब रुपियाँ व्यापार घाटा बेहोर्नु परेकोमा समीक्षा अवधिमा करिब ४० अर्ब रुपियाँले घटेर चार खर्ब १४ अर्ब रुपियाँ पुगेको छ ।
घट्दो आयात र बढ्दो निर्यातले व्यापार घाटाको यो प्रवृत्तिमा परिवर्तन गरेको देखिएको छ । त्यसो त चालू आर्थिक वर्षको पहिलो महिनादेखि अघिल्लो वर्षभन्दा निर्यात बढेको र आयात घटिरहेको तथ्याङ्कले देखाउँछ । व्यापार घाटा पनि साउनदेखि नै घटेको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार अघिल्लो कात्तिकसम्म चार खर्ब ८३ अर्ब रुपियाँको आयात भएकोमा अहिले ६.९२ प्रतिशतले घटेर चार खर्ब ५० अर्ब घटेको छ । अर्थात् तुलनात्मक रूपमा आयात ३३ अर्बले घटेको देखिन्छ । निर्यातको वृद्धिदर भने उत्साहजनक देखिन्छ । २९ अर्ब २८ करोड रुपियाँको अघिल्लो वर्षको निर्यात २३.९० प्रतिशतले बढेर ३६ अर्ब २७ करोड रुपियाँ पुगेको छ । निर्यातको वृद्धिदरले समग्र व्यापारमा यसको हिस्सा बढेर ७.५ प्रतिशत पुगेको छ । अघिल्लो कात्तिकमा कुल व्यापारमा ९४.३ प्रतिशत आयातको हिस्सा रहेकोमा अहिले घटेर ९२.५ प्रतिशत पुगेको छ । चार महिनासम्म नेपालको कुल अन्तर्राष्ट्रिय आयात चार खर्ब ८६ अर्ब रुपियाँ पुगेको छ ।
वस्तुगत हिसाबले समीक्षा अवधिसम्म सबैभन्दा धेरै २९ अर्ब २४ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि १२ अर्ब ७० करोडको स्टिल, १२ अर्ब ३७ करोडको पेट्रोल, आठ अर्ब ९० करोडको एलपी ग्यास र आठ अर्ब ६२ करोडको मोबाइल आयात भएको छ । पाम तेलको आयात सात अर्ब ४९ करोड रुपियाँ पुगेको छ ।
बढी आयात हुने वस्तुको छैटौँ स्थानमा परेको पाम तेल नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा भने पहिलो स्थानमा छ । कात्तिकसम्म आठ अर्ब ३६ करोड रुपियाँको पाम तेल निर्यात भएको छ । त्यसपछि दुई अर्बको सोयाबिन तेल, एक अर्ब ३९ करोडको गलैँचा, एक अर्ब पाँच करोडको तयारी कपडा र एक अर्ब तीन करोडको कालो चिया निर्यात भएको छ ।
व्यापार साझेदार देशमा सबैभन्दा धेरै सधैँजस्तै भारत नै सबैभन्दा अगाडि छ । भारतबाट नेपालले दुई खर्ब ७२ अर्ब रुपियाँको आयात गर्दा २४ अर्ब २६ करोड रुपियाँको निर्यात भएको छ । ८० अर्ब १८ करोडको आयात भएकोमा चीनमा ७१ करोड रुपियाँको मात्र निर्यात भएको छ । इन्डोनेसियाबाट नेपालले १३ अर्ब ५८ करोड रुपियाँको आयात गरेकोमा ११ करोड ७६ लाख रुपियाँ निर्यात भएको छ । संयुक्त राज्य अमेरिकाबाट नेपालले छ अर्ब २९ करोड रुपियाँको आयात गर्दा तीन अर्ब ८६ करोड रुपियाँको निर्यात गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?