logo
२०८० चैत्र १६ शुक्रवार



जापानका पूर्व प्रधानमन्त्री नाकासोनेको १०१ वर्षमा निधन

अन्तर्राष्ट्रिय |


जापानका पूर्व प्रधानमन्त्री नाकासोनेको १०१ वर्षमा निधन


टोकियो,
मङ्सिर १३ गते। जापानका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जापानका निकै लोकप्रिय नेताको छवि बनाउनु भएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गर्नु भएको थियो ।
सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहनु भएका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याउनु भएको थियो । दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सुदृढ मैत्रीपूर्ण सम्बन्ध विकास गर्नुभएका नाकासोनेले जापानका लागि अमेरिका सदैब अति महत्वपूर्ण साझेदार मुलुक रहेको बताउने गर्नुहुन्थ्यो । जापानको माथिल्लो सदनका सदस्य समेत रहनुभएका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिनुभयो । तर उहाँले मृत्युको कारणका बारेमा विस्तृत केही उल्लेख गर्नुभएको छैन ।

पूर्व प्रधानमन्त्री नाकासोनेले दोस्रो विश्वयुद्धकालीन सम्झौताहरुमा फेरबदल गरी सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानको वार्षिक रक्षा बजेटको सीमालाई हटाउनु भएको थियो । जापानमा राष्ट्रवादी छवि बनाउनुभएका नेता नाकासोनेले जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गर्नुभएको थियो । उहाँका आर्थिक नीतिहरु बजार उदारीकरणतर्फ केन्द्रित थिए । नाकासोनेले दोस्रो विश्वयुद्धकालीन तिक्ततालाई थाँती राख्दै चीन र दक्षिण कोरियासँग मैत्री सम्बन्ध विकास गर्नु भएको थियो । उहाँ दक्षिण कोरिया भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुनुभएको थियो ।
अप्रत्यक्ष कर प्रणालीमा व्यापक वृद्धि गर्ने योजना अघि सारेका कारण सन् १९८७ मा उहाँको पार्टी संसदीय निर्वाचनमा पराजित भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?