logo
२०८१ बैशाख १२ बुधवार



बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि

अर्थ |


बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि


रामपुर, मङ्सिर १० गते । पाल्पा निस्दी– ५ गल्धा बेलडाँडाकी भुवानी फालले खसी–बोका बिक्रीबाट एक वर्षमा रु दुई लाख ६५ हजार ५८५ बुझिन् । उनले घरधन्दा सकेर फुर्सदको समयमा पालेको बाख्राले यसरी आम्दानी होला भनेर सोचेकी थिइनन्  ।

“बाख्रापालनबाट राम्रो आम्दानी लिन सकेकी छु”, उनले भनिन्, “मलाई सन्तुष्टि मिलेको छ ।” उनको घरमा अहिले पनि २५ भन्दा बढी बाख्रा छन् ।

पाल्पा ढुङगानावेँशीका नारायणी ढुङगानाले पनि वार्षिक एक लाख २८ हजार रुपैयाँभन्दा बढी बाख्रापालनबाट आम्दानी गरेकी छन् । एक वर्षमा घरमै बसेर यति धेरै आम्दानी होला भनेर उनले सोचकी थिइनन् । तर बाख्रा पालेर आम्दानी राम्रो भएको उनले बताईन् । ‘यस्तो राम्रो आम्दानीको स्रोतका विषयमा मलाई पहिला जानकारी भएन’, उनले भनिन् ।

विभिन्न सहकारी संस्थामा आवद्ध भएका महिलाहरुलाई बाख्रापालनबाट राम्रो फाइदा भएको हो । आम्दानीको स्रोतका रूपमा उनीहरूले बाख्रलाई लिन थालेका हुन् । यसअघि आफूलाई आवश्यक चुरा, टीका, पोतेसमेत किन्न पैसा नहुने गरेकोमा पछिल्लो समय उनीहरु घरखर्च चलाउन, छोराछोरी पढाउनलगायत आफूलाई आवश्यक परेका बेला आफैंले खर्च गर्ने पैंसा जुटाउन थालेका छन् ।

पाल्पाको निस्दी गाउँपालिका–५ स्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गतवर्ष खसी–बोका बिक्रीबाट ५४ लाख तीन हजार ६३ रुपैयाँ आम्दानी गरेको थियो । संस्थाका व्यवस्थापक दिलमाया सारुका अनुसार महिलाले गाउँमा लोकल कुखुरापालन, बोडा, सिमी, गहत, सुन्तला बिक्रीबाटसमेत आम्दानी दिने गरे पनि आर्थिक उपार्जनको मुख्य बाटो बाख्रापालन रहेको छ । उहाँले आगामी वर्ष एक हजार २०० खसी बोका बिक्री गर्ने लक्ष्य लिएको बताउनुभयो ।

त्यस्तै पाल्पा बहपुरका भूमिसरा राना पनि यसवर्ष १४ वटा खसीबोका बिक्री गरेपछि बुझेको रकमले दङ्ग छन् । महिलाले यसरी कमाएको केही रकम सहकारीमा जम्मा गर्छन् केही आफूले घरव्यवहार चलाउँदै आएका छन् । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले सरकारले सहकारीलाई तीन खम्बे अर्थ नीतिमा जोड दिएको स्मरण गराउँदै आयआर्जन कृषि उत्पादन तथा खसीबाख्रा बिक्रीबाट धेरै आम्दानी गर्ने महिलालाई गाउँपालिकाले पुरस्कृत गर्ने बताउनुभयो ।

हेफर नेपाल र ग्रामीण विकास सङ्घ रेडाको सहयोगमा बाख्रापालन हुन थालेपछि महिला आत्मनिर्भर बनेको महसुुस गर्न थालेका छन् । त्यस्तै रम्भा गाउँपालिका पाल्पामा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध महिला पनि खसीबाख्रा बिक्रीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । रम्भा गाउँपालिका–२ का हुमीकुमारी पाडेमगरले सातवटा खसी बिक्रीबाट ८५ हजार २०० रुपैयाँ आम्दानी लिएका छिन् ।

त्यस्तै रम्भा बेलौजीका लक्ष्मी आलेले पनि गएको दशैँमा तीन वटा खसी बिक्रीबाट आएको आम्दानीले दशैं पर्व मनाएको छ । उहाँका अनुसार चाडपर्व नजिकिएपछि खसी बिक्री गर्यो, आम्दानी हुन्छ । पैसाको खाँचो हुदैन् ।

उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले यसवर्ष दशैं तिहार पर्वलाई मध्येनजर गर्दै करीब ५०० को हाराहारीमा खसीबोका बिक्री गरेको सहकारीका अध्यक्ष गङ्गीसरा सिञ्जालीको भनाइ छ । फोक्सिङ्कोटमा यसवर्ष चाडपर्वलाई मध्यनजर गर्दै ६ वटा स्थानमा खसीबोका सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने सहकारीले प्रबान्ध मिलाएको थियो । खसी बिक्री गर्दा खरीदकर्ताले प्रतिकिलो रु पाँचका दरले सहकारीलाई बुझाएका छन् ।

पाल्पा जिल्लामा अहिले २०० बढी सहकारी संस्था लिमिटेड रहेकोमा ५० भन्दा बढी महिला सहकारी संस्थामा रहेको जिल्ला सहकारी सङ्घका सदस्य सूर्यप्रसाद रेग्मीले जानकारी दिनुभयो । जिल्लाका अधिकांश सहकारी संस्थामा आवद्ध महिलाले सचेतना बृद्धिसँगै आयआर्जनमूलक कार्य गर्दै आएका छन् ।

सधैं घरधन्दा र चुलोचौकामा व्यस्त हुने महिला घरको काम धन्दा सकेर आयआर्जन गर्नका निम्ति कृषि उत्पादन तथा पशुपालनमा उन्मुख हुन थालेका छन् । यसबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् । सहकारीले आफ्नो परिचय दिनसमेत नसक्ने महिलाहरुलाई सबैसँग खुलेर बोल्न, सरसफाइ तथा व्यवहारिक सीपसमेत सिकाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?