logo
२०८१ बैशाख १२ बुधवार



प्याजको मूल्य घट्ने सम्भावना छैन

अर्थ |


प्याजको मूल्य घट्ने सम्भावना छैन



सीता शर्मा

काठमाडौँ, मङ्सिर १० गते । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको छ ।
उपत्यकावासी प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो । समितिका अनुसार अघिल्लो वर्ष यो बेलामा कालीमाटीमा मात्रै भारतबाट दैनिक ९५ देखि १०० टन प्याज आयात हुने गरेकोमा अहिले औसतमा ५० टन मात्रै आएको छ । मागको आधा मात्रै प्याज आपूर्ति भएकाले मूल्य बढेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, यो पटक भारतमै भाउ बढेको प्याज अवैधानिक बाटोबाट ल्याउँदा झन् बढेको हुनसक्छ । भारत सरकारले भारतको प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि गएको असोजदेखि प्याज निर्यातमा रोक छ । यसको प्रत्यक्ष असर नेपाललाई परेको छ ।
नेपालमा खपत हुनेमध्ये जम्मा दुई प्रतिशत मात्रै प्याज आन्तरिक उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत भारतबाटै आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीले यसको मौका छोपेर मनपरी भाउमा बिक्री गर्ने गरेका छन् तर तरकारी बजारमा व्यापार गर्दै आएका ठूला व्यापारीले नै प्याजको भाउ कसले बढायो भन्ने बारेमा आफूहरू बेखबर रहेको बताउँछन् ।

भाउ अझै चर्को हुनसक्ने
नेपालमा प्याज उत्पादनको मौसम भर्खर सुरु भएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रोमा आठ÷दस दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा २०० देखि २२० रुपियाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् ।
उपभोक्ता अधिकारकर्मीहरू सरकारको अनुगमन नै नभएकाले प्याज व्यापारीले मनपरी भाउमा बिक्री गर्ने गरेको आरोप लगाउँछन् । उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजारमा प्याजको कम आएर भन्दा पनि व्यापारीको मनपरीका कारण भाउ महँगो भएको बताउनुभयो । बजारमा प्याज आएर पनि किन महँगो भएको हो बजार अनुगमन गर्ने नियमनकारी निकाय जिम्मेवार बन्नुपर्दैन ? उहाँले प्रश्न गर्नुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका बजार निरीक्षक अधिकृत दीपक पोखरेलले प्याज महँगो भएको भनेर धेरै गुनासो आएकाले एक÷दुई दिनमा अनुगमन गरिने बताउनुभयो । नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनऊ र सिमलालगायत स्थानबाट आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा पाँच अर्ब ६२ करोड २५ लाख रुपियाँको प्याज आयात भएको थियो । काठमाडौँ उपत्यकामा मात्रै दैनिक २७० टन खपत हुन्छ ।

बङ्गलादेशमा झनै महँगो
भारतले दोस्रो देशमा निर्यात रोकेपछि बङ्गलादेशमा पनि यसको भाउ महँगो भएको छ । बङ्गलादेशमा प्याजको भाउ एक वर्षको बीचमा ८०० प्रतिशतसम्म बढेको समाचार सार्वजनिक भएको थियो । भारतमा प्याजको उत्पादनमा कमी आएपछि गएको असोजदेखि भारतले नेपाल र बङ्गलादेशमा प्याज निर्यात प्रतिबन्ध गरेको थियो । प्याजको मूल्य अत्यधिक बढेपछि बङ्गलादेशकी प्रधानमन्त्री सेख हसिनाले प्याज खान छाडेको पनि समाचार सार्वजनिक भएको थियो । उहाँले सार्वजनिक रूपमै प्याज नखाने घोषणा पनि गर्नुभएको समाचारमा उल्लेख गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?