logo
२०८१ बैशाख ८ शनिवार



तलब विवादमा बिस्कुट उद्योग बन्द

अर्थ |


तलब विवादमा बिस्कुट उद्योग बन्द


चितवन समाचारदाता

चितवन, कात्तिक २९ गते । मजदुर आन्दोलनका कारण चितवनको बिस्कुट कम्पनी खजुरीको नेपाल प्रालि पाँच दिनदेखि बन्द छ । कम्पनीमा काम गर्ने मजदुरले उचित पारिश्रमिक नपाएको भन्दै व्यवस्थापन पक्षलाई माग राखेपछि उद्योग नै बन्द गरेको मजदुरहरूले बताएका छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिका ५ मा रहेको उद्योगमा काम गर्ने मजदुरले नेपाल सरकारले तोकेअनुसार तलब नदिएको, एउटै काममा समान ज्याला नदिएको भन्दै आवाज उठाएका थिए । उद्योगमा महिला मात्र श्रमिक भएकाले व्यवस्थापन पक्षले मागलाई अटेर गरेको श्रमिकले जनाएका छन् ।
संयुक्त श्रमिक मजदुर सङ्गठन जिफन्ट प्रदेश ३ का अध्यक्ष गोविन्द अर्यालले भन्नुभयो ‘१२ घण्टा काममा लगाएर आठ हजार पनि तलब नदिने भएपछि श्रमिकहरूले माग राखेका थिए तर व्यवस्थापनने वास्ता गरेन । ’ पाइराखेको काम खोसिने डरले श्रमिक महिलाहरू खुलेर बाहिर आउन सकेका छैनन्, अर्यालले भन्नुभयो ।
उद्योगमा काम गर्ने एकजना महिलाले भन्नुभयो ‘कम्पनीमा २६७ जना श्रमिक महिला छन्, उनीहरूको श्रम शोषण गरिएको छ । आफूले पाउने तलब कति हो भनिँदैन महिना पुगेपछि उसले कति मन लाग्छ त्यति दिन्छ । ’ उहाँकाअनुसार यस विषयमा बाहिर भने कामबाट निकालिदिन्छु भनेर धम्की दिने भएकाले श्रमिक खुल्न सकेका छैनन् ।
उद्योगमा काम गर्ने सुपरभाइजरबिना गुरुङ, अनु चौधरीलगायतले मानसिक तनाव दिने गरेको उहाँले बताउनुभयो । उद्योगमा काम गर्दै आउनुभएका रत्ननगर १६ अर्का श्रमिकले भन्नुभयो ‘कम्पनीका व्यवस्थापक प्रमुख सूर्यप्रसाद न्यौपानेले माग छाडेर काममा आउनु होइन भने सबैलाई जागिरबाट निकालिदिन्छु भन्नुभएको छ । ’ श्रमिकका अनुसार कम्पनीले तीन सिफ्टमा बिहान ९–५, बेलुका ५–१, राति १–९ मा काम गर्ने भनेर समय तोके पनि धेरै समय काममा लगाउने गरेको पाइएको छ ।
दैनिक १२ देखि १४ घण्टासम्म काममा लगाउने गरेको तर तलब भने विभिन्न बहाना बनाई थोरै दिने गरेको उहाँहरूको भनाइ छ । हाल सो कम्पनीमा खैरहनी, रत्ननगर, राप्ती नगरपालिकाका महिलाले काम गर्दै आएका छन् ।
आन्दोलनमा उपस्थित सबैले सुरुमा सम्झौतापत्र हेर्न नदिई हस्ताक्षर मात्रै गराई काममा लगाएको बताएका छन् । कतिपयलाई १३ हजार पाँच सय रुपियाँ तलब मौखिक जानकारी गराएको तर आठ हजार मात्रै दिने गरेको जानकारी दिएका छन् ।
आन्दोलनरत श्रमिकले सो कम्पनीका व्यवस्थापक प्रमुख न्यौपानेलाई आफ्ना मागबारे जानकारी गराउँदा बरु काम छोड भनी जवाफ आएको गुनासो गरेका छन् । श्रमिकले भन्नुभयो, ‘हामीले यो विषयमा महाप्रबन्धक न्यौपानेलाई कम्पनीमा नै भेट्न खोज्दा भित्र छिर्न दिएनन् भने हामीले उहाँलाई गरेको फोन पनि उठाउनुभएन । त्यसपछि हामीले उहाँलाई म्यासेज पनि ग¥यौँ तर जवाफ आएको छैन । व्यवस्थापक न्यौपाने सञ्चारमाध्यमको सम्पर्कमा आउनु चाहनुभएको छैन । गोरखापत्रले गरेको पटकपटकको फोन प्रयासलाई उहाँले उपेक्षा गर्नुभयो ।
श्रमिकहरूको माग नेपाल सरकारले श्रम ऐनमा तोकेअनुसारको सेवा सुविधा हुनुपर्ने रहेको छ । महिलाको आन्दोलनमा साथ दिँदै आउनुभएका रत्ननगर जिफन्टका संयोजक शङ्कर खनालले भन्नुभयो ‘उद्योग सञ्चालन गर्ने सञ्चालकले कम्तीमा पनि श्रम ऐनले तोकेको सेवा, सुविधा मजदुर तथा कर्मचारीलाई दिनुपर्छ अनि मात्रै कम्पनी सञ्चालन गर्नुपर्छ भन्ने कुरा उद्योगपतिले बुझ्नुपर्छ । ’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?