logo
२०८१ बैशाख ६ बिहीवार



बाँँके र बर्दियामा माछाको पकेट क्षेत्र मासिँदै

अर्थ |


बाँँके र बर्दियामा माछाको पकेट क्षेत्र मासिँदै


 

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, कात्तिक २९ गते । परम्परागत रूपमा माछापालन गरिँदै आएका बाँके र बर्दियाका ठूला प्राकृतिक ताललाई पर्यटकीयस्थल बनाउँदा माछाको पकेट क्षेत्र मासिँदै गएको छ । माछापालन गरिँदै आएका ताललाई पर्यटकीयस्थल बनाउँदा माछापालन घट्दै गएकाले चालू आर्थिक वर्षबाट बाँके र बर्दियामा २५ प्रतिशत माछा उत्पादन घट्ने जिल्ला पशु ज्ञान कार्यालय नेपालगञ्जले जनाएको छ ।
जिल्ला पशु ज्ञान कार्यालय नेपालगञ्जका वरिष्ठ मत्स्य विकास अधिकृत बसिर अहमद खाँका अनुसार सरकार र कृषकको परिश्रमपछि माछाको उत्पादन बढ्न थालेका बेला स्थानीय तहले पकेट क्षेत्रकै जलाशयमा माछा उत्पादन बन्द गरी पर्यटकीयस्थल बनाउन सुरु गरेका छन् । सोही कारणले माछा उत्पादनमा समेत प्रभाव परेको र यस वर्षबाट २५ प्रतिशत जति माछा उत्पादन घट्ने उहाँले बताउनुभयो ।
जिल्ला पशु ज्ञान कार्यालयका अनुसार बाँके र बर्दियालाई माछा उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ उत्पादन भएको माछा स्थानीय बजारमा मात्र नभई जिल्ला बाहिरसमेत खपत हुँदै आएको छ ।
मिसन फिस कार्यक्रममार्फत साबिकको कृषि विकास कार्यालयले माछाको उत्पादन बढाउन विभिन्न कार्यक्रम गरेको थियो ।
बाँकेमा २५ हेक्टर रहेको प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो । १६ हेक्टरको पुरैनी ताल र ६ हेक्टरको वाटर पार्कमा माछा उत्पादन हुँदै आएकोमा यी दुवै तालमा नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थल बनाउँदै छ । प्रदेश सरकारको सहयोगमा पुरैनी ताललाई पर्यटकीय स्थल बनाउने काम सुरु भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
जिल्ला पशु ज्ञान कार्यालय नेपालगञ्जका मत्स्य विकास अधिकृत खाँका अनुसार बाँकेमा कुल ३४० हेक्टरमा वार्षिक एक हजार एक सय ९६ मेट्रिक टन माछा उत्पादन हुन्छ । प्राकृतिक जलाशयमा नयाँ काम सुरु भएपछि चालू आर्थिक वर्षमा स्थानीय तहले माछापालनको ठेक्का दिएका छैनन् । ठेकेदारमार्फत ती प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो ।
बर्दियाको अवस्थासमेत बाँकेको जस्तै रहेको उहाँले बताउनुभयो । पश्चिमकै सबैभन्दा धेरै माछापालन हुने बढैया ताल प्राकृतिक जलाशयमा यस वर्षदेखि माछा उत्पादन बन्द गरिएको छ । बढैया ताल गाउँपालिकाले त्यहाँ पर्यटकीयस्थल निर्माणको काम सुरु गरेको छ । ८४ हेक्टरको बढैया ताल र ४० हेक्टरको सत्खोलवा तालमा यसपटक माछा उत्पादन नहुने वरिष्ठ मत्स्य विकास अधिकृत खाँले जानकारी दिनुभयो । बर्दियामा गत वर्ष १५ सय मेट्रिक टन माछा उत्पादन भएको थियो । बढैया ताल गाउँपालिकाका सूचना अधिकारी कमल खड्काले पर्यटकीयस्थलका रूपमा बढैया ताललाई विस्तार गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार, अब ‘शो’ का रूपमा मात्र गाउँपालिकाले तालमा माछाको भुरा राख्ने छ । पर्यटकीयस्थलका रूपमा यो ठाउँलाई परिचित गराउन जनप्रतिनिधि लाग्नुभएको छ, खड्काले भन्नुभयो ।
पर्यटकीयस्थल बनाउँदा पनि माछापालन बन्द नगर्नु पर्ने वरिष्ठ मत्स्य विकास अधिकृत खाँको भनाइ छ, दुवै काम साथसाथै लैजानु राम्रो हुन्छ । उहाँले भन्नुभयो, प्राकृतिक तालमा माछा उत्पादन बन्द नै गर्ने हो भने आत्मनिर्भर बन्ने हाम्रो योजना तुहिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?