logo
२०८१ बैशाख १३ बिहीवार



दुई वर्षे आयोजना १५ वर्षमा पनि पूरा भएन

अर्थ |






गोरखापत्र समाचारदाता

भक्तपुर, कात्तिक २८ गते । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको एक हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा बस्दै आएका स्थानीय पूर्वाधार सेवाबाट वञ्चित रहँदै आएका छन् । आयोजनाभित्र सबै विकासका पूर्वाधार पूरा भई व्यवस्थित बस्ती विकास बन्छ भन्ने अपेक्षाले देशका विभिन्न ठाउँबाट स्थानीय सो क्षेत्रमा घरजग्गा खरिद गरी बसोबास गर्दै आएका छन् ।
दुई वर्षभित्र आयोजना पूरा गर्ने भनी २०६१ सालमा सुरु भएको कमेरोटार जग्गा एकीकरण आयोजना १५ वर्षसम्म पनि आयोजनाले पूर्णता पाउन नसक्दा अहिले आयोजना क्षेत्रभित्र बसोबास गर्ने स्थानीय निराश भएका हुन् ।
सहरी विकास मन्त्रालले कुनै पनि आयोजनाभित्र विकासका पूर्वाधारका निर्माण गर्न सोही आयोजनाले व्यहोर्नु पर्ने गरी कार्यविधि निर्माण गरेकाले उक्त क्षेत्रमा सरकारी विकासका योजना सञ्चालन नभएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
कमेरोटार जग्गा एकीकरण आयोजना सञ्चालन भएदेखि नै आयोजनाभित्र बस्दै आउनुभएका स्थानीय उर्मिला वनले दुई वर्षभित्र सम्पन्न हुने आयोजना १६ वर्षसम्ममा पनि पूरा नहुँदा आफूहरू सरकारी विकास निर्माणको सेवाबाट वञ्चित हुन परेको गुनासो गर्नुभयो ।
उहाँका अनुसार आयोजनाभित्र बस्दा खानेपानी, ढल, विद्युत, टेलिफोन सडक लगायतका विकासका पूर्वाधार छिटो निर्माण होला भन्ने स्थानीयको अपेक्षा थियो । उहाँले भन्नुभयो, “आयोजनासँगै भएको बजेटको निर्धारित समयभित्रै काम भएको भए अहिले यस क्षेत्रमा धैरै विकासका योजना सम्पन्न भइसक्ने थियो र सरकारी बजेट कहिले आउला भनेर कुरिरहनु पर्दैन थियो, आयोजना समयमै सम्पन्न नहुँदा अहिले नगरपालिकाले टोल विकास संस्थाका लागिदिने
बजेटसमेत दिँदैन ।”
आयोजनाभित्र हरेक व्यक्तिले खरिद गरेको कुल जग्गाको ३० प्रतिशत जमिन कमेरोटार जग्गा एकीकरण आयोजनालाई बुँझाएका छन् । आयोजनासँग अहिले दुई अर्ब रुपियाँ बराबरको जग्गा सम्पत्तिको रूपमा रहेको छ । आयोजनाले उक्त जग्गा बिक्री गरी सो क्षेत्रमा खानेपानी, ढल, सडक, विद्युत, टेलिफोन लगायतका विकासका आवश्यक पूर्वाधार तयार गर्नुपर्ने व्यवस्था छ ।
कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष श्रीबहादुर खड्काले आयोजनाको लापरबाहीले दुई वर्षमा पूरा हुने भनिएको आयोजना अहिलेसम्म पनि पूरा हुन नसक्दा यहाँ विकासका कुनै पनि पूर्वाधार तयार नभएको बताउनुभयो ।
आयोजना लम्ब्याइरहँदा आयोजनाका पदाधिकारीलाई नियमित सेवा सुविधा आइरहने भएकाले आयोजनाका पदाधिकारीले विभिन्न बहानमा काम नगर्ने र आफ्नो कार्याकाल बढाइरहेको गुनासो उहाँको छ । खड्काका अनुसार यस क्षेत्रमा करिब छ सय घर परिवार बस्दै आएका छन् । आयोजनाकै कार्यशैलीका कारण यहाँका धेरै व्यक्ति बसोबास गर्न चाहेर पनि आएका छैनन् ।
कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समितिका संयोजक मदनकृष्ण श्रेष्ठले ठेकेदारका कारण आयोजनामा सञ्चालित धेरै योजना अलपत्र परेको बताउनुभयो । उहाँले आयोजनामा विकासका पूर्वाधार सञ्चालन गर्न सरकारी बजेट आवश्यक नभएको भन्दै ठेकेदारले समयमै काम गर्ने हो आयोजनाकै पैसाले विकासका पूर्वाधार तयार गर्न सकिने बताउनुभयो ।
सङ्घीय संसदका सांसद महेश बस्नेतले कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र बसोबास गर्न आएँ भनेर पछुतो नमान्न स्थानीयलाई आग्रह गर्नु भएको छ । आयोजनाभित्रका समस्या समाधान गर्न पनि आफू लागिपरेको बताउनुभयो । यसैबीच शनिबार सम्पन्न भएको कमेरोटार नगर विकास संयोजन समाजको तेस्रो अधिवेशनबाट श्रीबहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपाध्यक्ष किरण श्रेष्ठ, सचिव हरिशरण थापा, कोषाध्यक्ष केवलमान श्रेष्ठ रहनुभएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?