काभ्रेपलाञ्चोक मध्यकालको पूर्वाद्धमा महत्वपूर्ण शासन केन्द्र थियाे

पढ्नै पर्ने |
राष्ट्रिय |


2019-11-13-4119


केशबराज पाैडेल 

काठमाडौं, कात्तिक २७ गते । पुरातत्व विभागले केही समय अघि गरेको प्रारम्भिक उत्खनन्मा पाँचखालमा पाइएको ईट्टा केही लिच्छविकालको अन्त्य र अधिकांश मध्यकालीन भएको पाइएको छ ।

साथै काभ्रेकै पाँचखाल आसपासका खनालथोक धुनिबेसीमा मानदेव द्धितीय समयको अभिलेख यस अघि नै पाइनु र पाँचखालकै मालटार क्षेत्रमा अहिलेको उत्खनन्का क्रमामा लिच्छबिकालीन स्वरुपका केही इँटा भेटिनुले सो क्षेत्रमा लिच्छविकालदेखि नै मानव बासोबास भएको निश्कर्षमा पुरातत्वविद पुगेका छन् ।

साथै मध्यकालको पूूर्वाद्धमा केन्द्रको शासन कम्जोर बन्दै गएपछि काभ्रेपालाञ्चोक क्षेत्र त्यसबेला शासनको महत्वपूर्ण केन्द्रको रुपमा रहेको पाइएको पाँचखाल नगरपालिका–७ मा पुरातत्व विभागले गरेको उत्खनन् पछि सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

साथै धुनिबेसीमा पाइएको शिवदेव कालीन शिवलिङ्गको पादपीठमा गुठीबारे लेखिएको अभिलेखमा संस्कृतेत्तर ‘लिलिङ्ग’ शब्द परेकाले सो क्षेत्रमा किराँतकालदेखि नै मानव बासोबास भएको हुन सक्ने सो प्रतिवेदनमा उल्लेख छ ।

पुरातत्व विभागले सो क्षेत्रमा लिच्छविकालीन र मध्यकालीन सम्पदा भएको हुन सक्ने संभावना विचार गरेर पाँचखालमा प्रारम्भिक उत्खनन् गरेको थियो । सो क्षेत्रमा विस्तृत रुपमा थप उत्खनन् गर्नु पर्ने देखिएको छ ।

विभागले उत्खननका क्रममा चार क्वाडेनमा विभाजन गरी उत्खनन् गर्दा प्राचीन दरबारको गारोे भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाँचखालमा भेटिएको प्राचिन दरबारको गारोलाई बलियो बनाउन स्थानीय रुपमा पाइने प्रस्तर (ढुङ्गा) को प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाँचखालमा रहेको सो दरबारको गारो एक मिटर ५० सेन्टिमिटरसम्मको आधार बनाई ६० सेन्टिमिटरको सुर मिलेको गारो लगाइएको पाइएका उत्खननमा संलग्ने बरिष्ठ पुरातत्वविद् उद्धव आचार्य र पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।

सँगैको माल्टारमा उत्खनन् भएको ठाँउमा २२ सेन्टिमिटर चौँडाइ भएको लिच्छविकालीन इँटा प्रयोग भएको पाइएको विभागको प्रतिवेदनमा उल्लेख छ । सोही प्रतिवेदनमा श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौँडाइको पोलेको माटाको डुँड बनाई इँटाको गारोेभित्र व्यवस्थित रूपमा पाइप लाइन मार्फत पानीको व्यवस्थापन गरेको पाइएको उल्लेख छ ।

पाँचखाल नगरपालिकाले गठन गरेको पलाञ्चोक पुरातत्व खोज तथा उत्खनन समितिका सदस्य सचिव श्रीकृष्ण धिमाल विभागसँग समन्वय गरी थप उत्खनन्को प्रक्रिया अघि बढाउने बताउनुहुन्छ ।

तर विभागसँग यो आर्थिक बर्षमा पाँचखालमा उत्खनन्को लागि बजेट नभएको र आगामी बर्षमा बजेट बिनियोजन गरेर भए पनि उत्खनन् कार्य गरिने विभागका प्रवक्ता रामकुमार कुँवरले बताउनुभयो ।

‘पाँचखाल उपत्यकामा लिच्छविकालीन र मध्यकालीन सम्पदा भएको पुष्टि गर्ने प्रमाण भेटिएको छ,थप उत्खनन्को कार्य आगामी बर्षबाट गर्नेछौं’ प्रवक्ता कुंवरले थप्नुभयो ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल भने पुरातात्विक सम्पदा संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । मेयर खरेलले यो बर्षमा उत्खनन्को लागि पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेको बताउनुभयो ।

उहाँले धेरै बजेट लाग्ने भएकाले प्रदेश सरकार र संघ सरकारसँग समन्वय गरेर भए पनि लिच्छविकालीन र मध्यकालीन सम्पदाको थप प्रमाण खोज्न नगरले निरन्तर लाग्ने बताउनुभयो ।
उत्खनन्मा निकै बजेट लाग्ने भएकाले केन्द्र सरकारसँग समन्वय भैरहेको खरेलले बताउनुभयो । स्थानीय सरकारले सम्पदा उत्खनन्मा कुनै पनि कसर बाँकी नराख्ने बताउँदा पाँचखालमा सम्पदा भेटिएको स्थानमा इट्टा उद्योग भएकाले त्यसले पुरातात्वि क्षेत्रमा असर पारिरहेको स्थानीयहरु बताउनु्हुन्छ ।
स्थानीय नागरिक व्यवस्थित रुपमा उत्खनन् भएमा त्यसले सबै तथ्य बाहिर आउने बताउनुहुन्छ । खेत सम्याउने, इट्टा उद्योगलाई माटो बेच्दा पुराना दरबारमा प्रयोग भएमा ढुंगा र इट्टा समेत स्थानीयले बेच्नु भएको थियो ।
काभ्रेपलाञ्चोक क्षेत्र लिच्छिविकालीन समयदेखिनै धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहँदै आएको प्रमाण छन् । लिच्छवी राजा मानदेवको समयमा सम्राट गृहवतकी पत्नी स्वामिनीले पलाञ्चोक भगवतीको मूर्ति स्थापना गरेको प्रमाण रहेको छ । काभ्रेपलाञ्चोक कै खनालथोकमा शिवदेव द्वितीयका समयमा शिवलिङ्गको पादपीठ अभिलेखमामा लिलिङ्ग लगायतका शब्दको प्रयोगबाट यहाँ किँरातकालदेखिनै मानव बस्ती रहेको पुष्टि गर्ने आधार रहेको पुरातत्व विभागले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मध्यकालको पूर्वाद्धमा पलाञ्चोक महत्वपूर्ण शासन क्षेत्रको रुपमा रहेको थियो । त्यस्तै गोपाल राज वंशावलीमा काभ्रेपलाञ्चोकमा भएका विभिन्न घटनाक्रमको समेत बर्णन गरिएको छ । शाह बंशीय राजाहरूले समेत पलाञ्चोक माथि विजय गरेकोे कुरा इतिहासमा उल्लेख छ । पलाञ्चोकमा दरबार र पाँचखाल सो समयको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको थियो । साना राज्यहरूलाई एकीकरण गर्ने क्रममा पलाञ्चोकले विजय हासिल गरेका पृथ्वीनारायण शाहले तेमाल राज्य समेत पलाञ्चोकबाटै बिजयी हासिल गरेको प्रमाणहरु तेमालमा रहेको स्थानीयको भनाइ छ ।
२०७६ जेठमा पुरातत्व विभागले पाँचखाल उपत्यकाको साविक होक्से गाँउविकास समिति–२ माल्टारमा स्थानीयको व्यक्तिगत स्वामित्वमा रहेको जग्गामा उत्खनन् गरेको थियो । जेठमा भएको उत्खनन्को प्रतिवेदन विभागले कात्तिक ७ गते सार्वजनिक गरेसँगै पाँचखाल उपत्यकामा लिच्छविकालीन र मध्यकालीन सम्पदा भएको पाइएको हो ।
विभागले उत्खननका क्रममा साबिक होक्से गाविस–२ माल्टारको विभिन्न व्यक्तिका नाममा रहेको कित्ता नम्बर ६७२, ५७४ र ५७६ मा नगरपालिकासँगको समन्वयमा उत्खनन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?