logo
२०८१ बैशाख ११ मंगलवार



बचतसँगै बीमा लोभिएनन् ग्राहक

अर्थ |


बचतसँगै बीमा लोभिएनन् ग्राहक



राधा चालिसे

काठमाडौँ, कात्तिक २६ गते । वाणिज्य बैङ्कहरूले निक्षेप आकर्षणका लागि एकपछि अर्को आकर्षक योजना सार्वजनिक गर्ने क्रम बढ्दो छ । पछिल्लो समय निक्षेपको ब्याजदर कम गर्दै जीवन बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा जस्ता विभिन्न किसिमका बीमा योजना बैङ्कहरूले सार्वजनिक गरिरहेका छन् । उनीहरूका यस्ता योजना केही हजारदेखि डेढ करोड रुपियाँसम्म रहेको पाइएको छ ।
कतिपय बैङ्कले रकम बचत गर्दा बीमा सित्तैमा हुने जस्तो गरी प्रचारप्रसार समेत गरिरहेका छन् । यसअघि बैङ्कमा निश्चित मात्राको रकम बचत गर्दा चाँदीका सिक्का प्रदान गरिने योजनामा पनि बैङ्कबीच प्रतिस्पर्धा नै चलेको थियो । त्यस्ता योजनामा राष्ट्र बैङ्कले रोक लगाएपछि वाणिज्य बैङ्कले नयाँ योजना सार्वजनिक गर्ने गरेका छन् ।
पछिल्लो पटक अधिकांश वाणिज्य बैङ्कले विभिन्न बैङ्कसँग सहमति गर्दै ग्राहकलाई निःशुल्क बीमाको लोभ देखाइरहेका छन् । वाणिज्य बैङ्कमध्ये मेघा बैङ्कले सबैभन्दा बढी डेढ करोड रुपियाँसम्मको बीमा योजना सार्वजनिक गरेको छ । बैङ्कको न्यू प्रडक्ट डेभलपमेन्ट इन्चार्ज विष्णु भण्डारीका अनुसार उसले विगत दुई÷तीन महिनाअघिदेखि जेनरल, स्ट्यान्डर्ड र सुपर वर्गीकरणमा बीमा योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकको खातामा न्यूनतम १० हजार रुपियाँ बचत गरेमा एक जनाको, न्यूनतम २० हजार रुपियाँमा पति पत्नी दुई जनाको र न्यूनतम ३० हजार रुपियाँ खातामा राखेमा नौ महिनादेखि २१ वर्ष उमेरसम्मको केटाकेटीको समेत बीमा हुने योजना सार्वजनिक गरेको छ । बैङ्कले एक जनाका लागि ४२ लाख, दुई जनाका लागि ७० लाख र तीन जनासम्मका लागि डेढ करोड रुपियाँसम्मको योजना रहेको उहाँले बताउनुभयो ।
सुन्दा निकै आकर्षक लाग्ने योजना ल्याए पनि ग्राहक खासै आकर्षित हुन नसकेको भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, ग्राहकले बीमामा विश्वास नगरेका हुन् कि बैङ्कहरूले बुझाउन नसकेका हुन् । बैङ्कहरूले ल्याएका यस्ता बीमा योजनाले ग्राहकलाई फाइदा नै पुगेको दाबी भण्डारीको छ । तर पनि यस्ता योजनालाई राष्ट्र बैङ्कले कसरी हेरिरहेको भन्ने छ कौलुहता भने छ । उहाँले यस्ता योजनामा हालसम्म राष्ट्र बैङ्कबाट निर्देशन नआएको पनि स्पष्ट पार्नुभयो ।
सिद्धार्थ बैङ्कले सिद्धार्थ पनि जीवन सुरक्षाको नाममा २६ लाखसम्मको योजना सार्वजनिक गरेको छ । यसमा बैङ्कले २० लाखको दुर्घटना बीमा, १२ घातक रोगका लागि पाँच लाखसम्मको उपचार खर्च र नेपाल वा भारतमा गरिने कुनै पनि उपचारमा एक लाख रुपियाँसम्मको बीमाको योजना सार्वजनिक गरेको छ ।
त्यस्तै, सानिमा बैङ्कले पनि विभिन्न बचत योजनामा बीमाका योजना समावेश गरेको छ । बैङ्कले सानिमा दीर्घायु बचत खाता योजनाअन्तर्गत २० लाख रुपियाँको दुर्घटना बीमा, एक लाख रुपियाँसम्मको औषधि उपचार बीमा प्रदान गरिनेछ । बैङ्कका रिलेसन्स अफिसर सुमन पौडेलका अनुसार न्यूनतम १० हजार रुपियाँका बचतमा ती बीमा सुविधा उपलब्ध गराइने छ । त्यस्तै नबिल बैङ्कले पनि नबिल केयर योजनाअन्तर्गत न्यूनतम २५ हजार रुपियाँसम्मको बचतमा विभिन्न घातक रोगमा तीन लाख रुपियाँसम्मको बीमा, एक लाख रुपियाँसम्मको दुर्घटना बीमा र ७५ हजार रुपियाँसम्मको मृत्युलाभ बीमाको योजना सार्वजनिक गरेको छ ।
बैङ्कले ल्याएका यस्ता योजनाको बारेमा हालसम्म राष्ट्र बैङ्कले कुनै आपत्ति जनाएको छैन । विगतमा ल्याएका चाँदीका सिक्काभन्दा फरक योजना भएकोले यस्ता योजनालाई हेरि मात्र रहेको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, कर्जासँग जोडिएको बीमालाई रोक्न हामीले भनेका छौँ । तर निक्षेपसँग जोडिएको बीमाको बारेमा केही बोलेका छैनौँ । छिटै यो विषयमा छलफल गर्छौं ।
बीमा समितिले भने यस्ता विषयलाई गम्भीर रूपमा हेरिरहेको बताएको छ । समितिका सूचना अधिकृत एवं उपनिर्देश निर्मल अधिकारी कर्पोरेट लाइसेन्स लिएका एजेन्टबाहेक अन्यले यस्तो बीमा गर्न नमिल्ले जिकिर गर्नुहुन्छ । उहाँले समितिमार्फत बैङ्कलाई निर्देशन दिन नमिले पनि बीमा कम्पनीलाई भने यस विषयमा निर्देशन दिने तयारी समितिले गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, अहिले बैङ्कहरूले प्रचार गरेजस्तो सित्तैमा बीमा गरिने भन्ने प्रचारै गर्न पाइँदैन । त्यसमा समितिको ध्यानाकर्षण भएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?