logo
२०८० चैत्र १६ शुक्रवार



आलु रोप्ने चटारो, बिउको लागि सास्ती

अर्थ |


आलु रोप्ने चटारो, बिउको लागि सास्ती


धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक २४ गते । पाँचौ बालीको रुपमा आलु खेती लगाउन किसानलाई चटारो लागेको छ । तर, किसानहरु उन्नत जातको विउ खोज्न भौतारिहेका छन ।
प्रमुख वाली, धान, मकै, गहुँ, कोदो पछि पाँचौं बाली आलु लगाउन चटारोमा रहेको किसानलाई राम्रो वा उन्नतजातको बिउका लागि सास्ती भोग्नु परिरहेको छ । सप्तरीमा व्यवसायिक तथा निजी रुपमा गरिने आलु खेतीका लागि आवश्यक आलु बिउमा पनि व्यापारीको सिन्डिगेटले किसानहरु मारमा परेको छ ।

राजविराज नगरमा दुई÷चार आलु व्यापारीकै भरमा आलु बिउ बिक्री भइरहेको कारण उनीहरुको मनोमनी बढेको राजविराज ९ मलेठका किसान लक्ष्मण मेहताले जानकारी दिनुभयो ।
सरकारले आलु खेतीको लागि आलु बिउको उचित व्यवस्थापन नगरेको कारण कमसल तथा प्राविधिक चेकजाँच बिनाको आलुको विउ बिक्री भइरहेको उहाँले भन्नुभयो, आलु बिउको मूल्य र तौलमा पनि व्यापारीको मनोमानी छ । पसल पिच्छे मूल्य फरक र तौलमा प्रति ५० किलोग्रामको बोरामा एक किलो ग्राम कम वजन रहने गरेको उहाँको कथन छ । बजारमा ५० किलो तौलको बोराको मूल्य १६०० देखि १८०० सम्ममा बिक्री भइरहेको छ । पुरै ५० किलोको मूल्य तिर्छौ, तर वजन ४९ किलो मात्र हुन्छ ।
प्रमुख बालीमध्येको एक आलु खेतीको लागि किसानले खेत तयार गरिसकेका छन । तर, उन्नत जातको बिउ किन्न दैनिक बजारहरु चहाइरहेको बताएको छ ।

जिल्लामा एक मात्र नीजि शीत भण्डारमा पर्याप्त आलु बीउ नरहेकोले भारतीय बजारमा निर्भर रहने रहेको छ । यहाँका व्यापारीले भारतीय बजारबाट आयात गरी ल्याएको आलु बिउ बेच्ने गरेको व्यापारी गोपाल दासले जानकारी दिनुभयो । भारतबाट राजविराज ल्याउन एक साता लाग्ने गरेकोले बोरामा बिउ सुकिने हुँदा तौल कम हुने गरेको उहाँको कथन छ । प्रमुख तरकारी बालीको रुपमा जिल्लाको कोचाबरी, मलेठ, मलेकपुर, कनकपट्टि लगायतका स्थानमा आलुको व्यवसायीक खेती हुने गरेको छ ।

तराई समथलदेखि चार हजार चार सय मिटर सम्मको उच्च पहाडी क्षेत्रमा प्रशस्त मात्रामा आलु खेती हुँदै आएको छ । उन्नत जातको बिउ, मलको उचित प्रयोग, र गोडमेलले आलुको औषत राष्ट्रिय उत्पादकत्व १३.७३ टन हेक्टर रहेकोछ । कुफ्रि ज्योति, कुफ्रि सिन्धुरी, डिजिरे, जनकदेव, खुमल सेतो १, खुउमल रातो २, कार्डिनल, एनपिआई १०६, एमएस ४२, पेरिकोली, स्यांदोर्जे, थारु लोकल सेतो, जुम्ली लोकल सेतो जातका आलुहरु मध्ये यस जिल्लामा रातो, सेतो, एनपीआइ बढी मात्रामा उत्पादन हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगिरथ यादवले सिरहा र सप्तरीमा गरी सात हजार ३८५ हेक्टर क्षेत्रफल जग्गामा आलु खेती हुने गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?