logo
२०८१ बैशाख ७ शुक्रवार



तमोर र माडी जलाशययुक्त आयोजना बनाउन सहमति

अर्थ |


तमोर र माडी जलाशययुक्त आयोजना बनाउन सहमति



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २७ गते । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसर पारेर नेपालको जलविद्युत् लगानी तथा विकास कम्पनी(एचआईडीसीएल) र चीनको पावर चाइनाले संयुक्त रूपमा दुई जलाशययुक्त आयोजना निर्माणमा समझदारी गरेका छन् । आइतबार सम्पन्न सहमतिअनुसार ७६२ मेगावाट क्षमताको तमोर र १५७ मेगावाटको माडीखोला जलविद्युत् आयोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
एचआईडीसीएल नेपाल सरकार स्वामित्वको कम्पनी हो भने चाइना पावर चीन सरकारको स्वामित्वमा रहेको कम्पनी हो । तमोर जलविद्युत् आयोजना निर्माणका लागि लगानी बोर्डले एचआईडीसीएलको आशयपत्र स्वीकृत गरेको थियो । यसअनुरूप एचआईडीसीएलले विदेशी साझेदार खोजेको र पावर चाइनाले आयोजना निर्माणमा साझेदारी गर्ने भएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार लगानीको मोडालिटीको अन्तिम टुङ्गो नलागे पनि सामान्य समझदारी भने भएको छ ।
यसअनुसार रोल्पाको माडीखोला जलविद्युत्मा चाइना पावरले ७४ प्रतिशत र एचआईडीसीएलले २६ प्रतिशत लगानी गर्ने छन् । “तमोरमा पनि यस्तै हुनसक्छ,” उहाँले भन्नुभयो । आयोजनाबारे अध्ययन कार्य दुई वर्षभित्र सक्ने र लगत्तै निर्माणमा जाने तयारी पोखरेलले बताउनुभयो ।
जलप्रवाहमा आधारित जलविद्युत् आयोजनाको दाँजोमा कम रहेको जलाशययुक्त आयोजना निर्माणसम्बन्धमा सझदारी हुनु उल्लेख्य रहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताउनुभयो । “करिब नौ सय मेगावाट जलाशययुक्त आयोजना बन्ने दिशामा सझदारी भएको छ,” उहाँले भन्नुभयो, दुई खर्ब रुपियाँ प्रारम्भिक अनुमानमा यी आयोजना बन्न लागेका हुन् ।
सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्ने गरी प्रस्ताव गरिएको तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्ने पोखरेलको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?