logo
२०८० चैत्र १५ बिहीवार



भन्सार छलीको चिनी नियन्त्रणमा

अर्थ |


भन्सार छलीको चिनी नियन्त्रणमा


निजगढ, असोज २६ गते ।  भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको करीब रु एक लाख ५० हजार बराबरको चिनी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको १७ क्विन्टल चिनी कलैया उपमहानगरपालिका–६ बाट बरामद गरेको हो ।

भारतसँग खुला सिमाना भएका कारण पनि तस्करहरुले खुला सिमानाको प्रयोग गरी भन्सार छलीका अवैध सामान आयात तथा निर्यात गर्ने गरेका छन् । प्रहरीले बोरा सिलाउने मेसिन एक थान र विभिन्न चिनी उत्पादक कम्पनीको नाम उल्लेखित २०० थान खाली बोरासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

भन्सार छली नेपाल ल्याएर लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका–६ बस्ने कलैया उपमहानगरपालिका २५ का दिनेश तिवारी र रमेश तिवारीले सो परिमाणको चिनी भन्सार छली नेपालमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेकोे जनाएको छ । उक्त घरभित्रबाट मरिच, छोकडा र केराउलगायतका सामग्रीसमेत फेला पारेको र आन्तरिक राजश्व कार्यालय सिमरा बारालाई जानकारी गराइएको प्रहरी उपरीक्षक खनालले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?