logo
२०८० चैत्र १६ शुक्रवार



सुदूरपश्चिममा जलविद्युत् सम्भावना धेरै, उत्पादन थोरै

अर्थ |


सुदूरपश्चिममा जलविद्युत् सम्भावना धेरै, उत्पादन थोरै


धनगढी समाचारदाता

धनगढी, असोज २६ गते । जलविद्युत्मा सुदूरपश्चिम मुलुककै धनी प्रदेश रहे पनि पर्याप्त मात्रामा विद्युत् उत्पादन हुन सकेको छैन ।
यो प्रदेशमा हालसम्म ४१.८ मेगावाट विद्युत् मात्रै उत्पादन भएको छ । जब की, विद्युत् उत्पादन क्षमता १८ हजार १४९ मेगावाट रहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अनुसार प्रदेश नम्बर १ मा १२ हजार ९५३ मेगावाट, प्रदेश नम्बर २ मा २०० मेगावाट, प्रदेश नम्बर ३ मा १२ हजार ६३१, गण्डकीमा १० हजार २२८ मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको छ । यसैगरी प्रदेश नम्बर ५ मा १४ हजार ३० मेगावाट र कर्णाली प्रदेशमा ११ हजार ८०३ मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको छ ।
मुलुकभरिको विद्युत् उत्पादन कुल क्षमताको २२ प्रतिशत क्षमता सुदूरपश्चिममा मात्रै रहे पनि अहिलेसम्म पर्याप्त मात्रामा उपभोग गर्न भने नसकिएको सो संस्थाले जनाएको छ । हालसम्म ४१.८ मेगावाट विद्युत् यो प्रदेशबाट उत्पादन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका महासचिव आशिष गर्गले बताउनुभयो । ‘कुल जडित क्षमताको यो चार प्रतिशत मात्रै हो,’ उहाँले भन्नुभयो । यो प्रदेशमा ३० मेगावाटको चमेलिया, ८.५ मेगावाटको नौगाड र ३.३ मेगावाटको कपाडिगाड जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । यहाँ ८९ मेगावाटको नौवटा जलविद्युत् आयोजना निर्माणको क्रममा, ५४ मेगावाटका छवटा जलविद्युत् आयोजना पीपीए भई निर्माणको तयारीमा रहेको जनाइएको छ ।
यसैगरी, तीन हजार ७२० मेगावाटको २४ वटा जलविद्युत् आयोजना अध्ययनको चरणमा रहेको छन् । ९४ मेगावाटको १२ वटा जलविद्युत् आयोजना नेपाल सरकारको बास्केटमा रहेको महासचिव गर्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार बझाङमा जिउलीगाड, कालङ्गा, सानीगाड, अप्पर कालङ्गा गरी चारवटा, दार्चुलामा नवगाड, मकरीगाड, अप्पर नौगाड गरी तीनवटा जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ ।
यसैगरी, कैलालीमा कापडीगाड, डोटीमा अप्पर गड्डीगाड जलविद्युत् आयोजना पनि निर्माणको क्रममा रहेको छ । यी सबै जलविद्युत् निर्माण भएमा ८९.२ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।
सुदूरपश्चिममा क्षमतानुसार विद्युत् उत्पादनका लागि ठूलो लगानीको आवश्यकता पर्ने जनाइएको छ । १८ हजार १४९ मेगावाट विद्युत् उत्पादन गर्नका लागि प्रतिमेगावाट करिब २० करोडको दरले अनुमानित ३६ खर्ब २९ अर्ब ८० करोड रुपियाँ आवश्यक पर्ने महासचिव गर्गले बताउनुभयो ।
यो प्रदेशमा रहेको क्षमतानुसार विद्युत् उत्पादन गर्न सकिए सुदूरपश्चिम मात्र नभई मुलुक नै समृद्ध बन्ने बताइएको छ । यहाँ रहेको जलविद्युत् सम्भावनालाई सदुपयोग गर्न नसकिएको गुनासो बढ्दै गएको बेला सुदूरपश्चिम प्रदेश सरकारले तीनदेखि २० मेगावाटसम्मका
जलविद्युत् आयोजनाहरू आफैले बनाउने गृहकार्य गरिरहेको छ ।
जलविद्युत् निर्माणका लागि प्रदेश सरकार ऐन बनाउने क्रममा रहेको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बताउनुभयो । ‘ऐनको मस्यौदा तयार छ,’ उहाँले भन्नुभयो ।
प्रदेश सरकारले तल्लो चमेलिया आफैले निर्माण गर्नका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ । यो जलविद्युत्् निर्माणका लागि प्रदेशको मन्त्रिपरिषद् स्तरीय निर्णयबाट केन्द्र सरकारसँग सहमति माग गरिएको छ ।
सुदूरपश्चिममा पञ्चेश्वर, पश्चिम सेतीजस्ता ठूला जलविद्युत् आयोजना निर्माणको चर्चा चले पनि त्यो अहिलेसम्म चर्चामा मात्रै सीमित रहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?